‘सांसदहरूले चाहिँ स्मार्ट हुनै नमिल्ने हो र ?’

‘सांसदहरूले चाहिँ स्मार्ट हुनै नमिल्ने हो र ?’


सांसद बनेपछि अचानक चर्चामा आएकी नरमाया ढकालका बारेमा विभिन्न टीका–टिप्पणी भइरहेका छन् । यसअघि राजनीतिमा नाम नसुनिएकी नरमाया आखिर को हुन् ? प्रस्तुत छ, उनीसँग घटना र विचारले गरेको कुराकानी ।

० नरमायाजी, तपाईंको नाम त ‘युनिक’ छ नि है ?
– अहिलेको अवस्थामा नाम त युनिक नै सुनिन्छ, पुराना धेरै कुरा अहिले युनिकझैँ लाग्छन्, मेरो नाम पनि पुरानो जमानाको हो । बुवा–आमाले राखिदिनुभएको यो नाम मलाईचाहिँ राम्रो नलागेर परिवर्तन गरेकी हुँ । मेरा दाजुहरूको नाम प्रदीप र प्रह्लाद भएकाले मैले पनि आफैँले चाहिँ प्रज्ञा राखेँ । घरपरिवार र साथीहरूले प्रज्ञा भनेर चिन्छन् ।

० तर, अब त सबैले नरमाया ढकाल भनेर नै चिन्ने भए नि ?
– हो, नागरिकतामा नरमाया भएपछि मेरो औपचारिक नाम त नरमाया नै हुने भयो ।

० आफ्ना आमाबुवाले राखिदिएको नामचाहिँ तपाईंलाई किन नराम्रो लागेको नि ?

– खै किन–किन, सानै बेलादेखि नै मलाई यो नाम राम्रो लाग्दैनथ्यो । खास त स्कुलमा नाम लेखाउँदा निर्मला भनेर लेखाएको, तर स्कुलले नै बिगारेर निर्मलाबाट नरमाया बनाइदिएछ । त्यसबेलादेखि नै आफ्नै नाम मलाई राम्रो लागिरहेको थिएन । आठ कक्षा पुगेपछि नाम चेन्ज गर्न लागेकी थिएँ, तर सरले ‘अब मिल्दैन’ भनिदिनुभयो । तथापि, स्कुलमा पनि मलाई साथीहरूले प्रज्ञा भनेर नै सम्बोधन गर्थे ।

० यसरी त तपाईंको नाम पनि प्रचण्डको जस्तै धेरैवटा भएछन्, होइन त ?
– (हाँसो) उहाँको बारेमा त मलाई थाहा भएन, मेरो त खै अब त्यस्तै नै भन्नुप¥यो ।

० अलिकति पृष्ठभूमि बताइदिनुस् न ?
– म ०३८ मा धनगढीमा जन्मिएकी हुँ । बुवा सरकारी कामको सिलसिलामा सुदूरपश्चिममा रहँदा त्यहाँ जन्मिएँ । बर्दियामा हुर्किएँ, पछि स्याङ्जामा बसोवास भयो । मेरा दाजु प्रदीप ढकाल अहिले पशुपति विकास कोषका सदस्यसचिव हुनुहुन्छ । उहाँले हिन्दूधर्ममा शान्तिको अवधारणामा पीएचडी गर्नुभएको हो । दुई दाजुहरूकी म एक्ली बहिनी, उहाँहरूले सधैँ मलाई केही गर्नका लागि उत्साह दिनुभयो । दाजुहरू प्रह्लाद र प्रदीप म जुन क्षेत्रमा लागेँ त्यो क्षेत्रमा सफल हुँ भन्ने चाहनुहुन्छ । भाउजू पनि मेडिकल डाक्टर हो । श्रीमान् विष्णु लामिछाने फर्निचर व्यवसायी हुनुहुन्छ । परिवारका सबै सदस्य कुनै न कुनै व्यावसायिक जीवनमा छौँ ।

० तपाईंलाई भविष्यमा के गर्छु, के बन्छु भन्ने लाग्थ्यो ?
– म सानैदेखि अर्काको दुःख देख्न नसक्ने भावुक स्वभावकी थिएँ । अर्काको दुःख देख्दा म निकै दुःखी बन्थेँ र रुन्थेँ पनि । त्यही संवेदनशीलताले म सामाजिक काममा संलग्न भएँ । सानोमा म अलिक धेरै बोलिरहने स्वभावको हुनाले ‘तिमी पछि पढेर वकिल बन’ पनि भन्थे मलाई कतिपयले । स्कुलमा हुँदा स्काउटमा सहभागी हुने, विभिन्न वादविवाद कार्यक्रम, गोष्ठी आदिमा सरिक हुन्थेँ ।

० राजनीतिमा चाहिँ लाग्नुभएन है त्यसबेला ?
– ६ सात कक्षादेखि नै म झन्डा बोकेर हिँड्थँे । हाम्रो परिवार नै राजनीतिक परिवार थियो । म काङ्ग्रेसको झन्डा बोक्थेँ । मेरो ठूलो बुवा गोपालप्रसाद ढकाल काङ्ग्रेसमा हुनुहुन्थ्यो । बुवा सरकारी जागिरबाट पछि एमाले राजनीतिमा आउनुभयो । बुवा लीलाधर ढकाल अहिले पनि एमालेमा हुनुहुन्छ । हाम्रो राजनीतिक परिवार हो । दाजु सामाजिक काममा हुनुभएकाले मैले दाजुको बाटो लिएँ । राजनीतिमा नयाँ जस्तो लागे पनि म कहिल्यै थिइनँ भन्नेचाहिँ होइन । सानैदेखि परिवारमै राजनीतिक माहौल देखेकी हुँ ।

० सामाजिक काम गर्छु भन्नु भो, के गर्नुहुन्छ ?
– पहिले त सामान्य व्यावहारिक जीवनमा आइपर्ने कामकुराबाटै सेवाभाव प्रकट गरियो, त्यस्तो ठूलो, सबैको आँखामा पर्ने गरी होइन । पछि संस्थामा सहभागी भएँ । करुणा आश्रय फाउन्डेसन र चेतनालय इन्स्टिच्युटमार्फत म सामाजिक काममा संलग्न छु । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हामी काम गर्छौँ ।

० राजनीतिमा प्रवेशचाहिँ कसरी भयो त ?
– राजेन्द्र महतो स्वास्थ्यमन्त्री हुनुभएको बेला उहाँसँग भेट भयो पोखरामा । आफू संलग्न संस्थामार्फत स्वास्थ्यसम्बन्धी कुनै कामको सिलसिलामा उहाँसँग कुराकानी भएको थियो । उहाँले तपार्इंले राम्रो काम गर्नुभएको रहेछ भनी मेरो कामको प्रशंसा गर्नुभयो । निश्चय नै कामको प्रशंसा गर्दा खुसी लाग्छ नै । म प्रेरित भएँ र उहाँसँग त्यतिबेलै भनेँ कि हजुरहरूले अवसर दिनुभयो भने अझै धेरै काम गर्न सक्छु होला । यसबेलादेखि नै सम्पर्कमा रहेर काम गर्दै आएको हुँ ।

० यसरी देशको सेवा गर्न भनी राजनीतिमा आउनुभएको रहेछ, तर तपाईंको पार्टीले त देशको नभई प्रदेशको सेवाको कुरा मात्रै गर्छ नि ?
– होइन–होइन । राजपा प्रदेशमा केन्द्रित रहेर बसेको या बस्ने पार्टी होइन । यदि प्रदेशमा मात्र केन्द्रित भएर रहने पार्टी थियो भने म पहाडको मान्छेलाई कसरी सांसद चयन गथ्र्यो त ? देशका सबैलाई मिलाउनुपर्छ भनेर नै उहाँले मलाई ल्याउनुभएको हो । राजपामा सबै क्षेत्रका मानिस छन् ।

० यसको मतलब तपाईंको पार्टी राजपाले सिङ्गै देशका लागि काम गर्छ भन्ने विश्वास छ तपाईंलाई ?
– एकदमै विश्वास छ मलाई ।

० तपाईं सांसद भइसक्नुभएको छ, अब देशको सेवाचाहिँ कुन विषयमा केन्द्रित भएर गर्ने सोच बनाउनुभएको छ त ?
– खासगरी महिला तथा बालबालिकाको हितमा केन्द्रित भएर काम गर्नुपर्छ भन्ने सोच बनाएकी छु । संसद् कानुन बनाउने ठाउँ हो । महिलाका सम्बन्धमा समानतासम्म पुग्ने गरी कानुन बनाउन के गर्नुपर्छ त्यसमा केन्द्रित हुन्छु । विकासका काम पनि मेरा प्राथमिकताका विषय हुन् ।

० महिलालाई तराईमा बढी दुःख देख्नुभएको छ कि पहाडमा ?
– तराईमै बढी छ जस्तो लाग्छ । पहाडमा पनि दुःख नभएको होइन, डोकोनाम्लो गर्नुपर्छ, तर मधेसका दुःख फरक छन् ।

० तपाईं अलिअलि जान्नेबुझ्ने भएपछि देशलाई जस्तो देख्नुभयो, त्यसबेलाभन्दा अहिले देशको हालत राम्रो भएको पाउनुभएको छ कि झन् बिग्रेजस्तो लाग्छ ?
– पहिलेभन्दा त अलिकति राम्रै भएको जस्तो लाग्छ मलाई । पहिले गाउँगाउँमा विकास थिएन । अहिले धेरै भएको छ । सडक, बिजुली धेरै ठाउँ पुगेका छन् । मानिस जागृत भएका छन् ।

० संसारको अत्यन्त गरिब मुलुकमध्येमा नेपाल पनि पर्छ, देश यसरी गरिब हुनुको कारण के होला जस्तो लाग्छ तपाईंलाई ?
– हामी सबै नगारिकको कमजोरीका कारण नै देश कमजोर भएको जस्तो लाग्छ मलाई । हामी सबै कुरा सकेसम्म अरूले गरिदिओस् भन्ने ठान्छौँ ।

० राजनीतिक क्षेत्रमा रहेका नेता भन्नेहरूका कारण यस्तो भएको भन्ने धेरै सुनिन्छ, तपाईंलाई चाहिँ यस्तो लाग्दैन ?
– नेता मात्र होइन, सबैको उत्तिकै हात छ । नागरिक पनि जागरुक हुनुपऱ्यो । नेता बनाउने पनि जनता नै त हुन् । यो देश बनाउन नेतासँगै सबै पेसा–व्यवसायीको उत्तिकै भूमिका छ । जो जहाँ छन्, इमानदारीपूर्वक काम गऱ्यो भने देश बनाउन गाह्रो छैन ।

० तपाईंको पार्टी संसद्मा पाँचौँ ठूलो दल हो । निर्णायक तहमा नभएको दलले त खास केही गर्न सक्दैन, देशका लागि केही गर्न तपाईंको साधन नै कमजोर भएन र ?
– देशका लागि काम गर्दै गएपछि पछि पक्कै पनि अगाडि आउँछ मेरो दल भन्नेमा विश्वस्त छु म । सानो दलको सांसद भनेर यत्तिकै खुम्चिएर बस्न कहाँ मिल्छ र ? काम त गर्दै जाने हो ।

० तपाईंको पार्टीसमेतको सक्रियतामा तराईमा नेपाली भाषालाई सम्पर्क–भाषा बन्न नदिने, दौरासुरुवाल लगाउन नपाइनेजस्ता निर्णय गरिएको छ, तपाईंको पनि यस्तै इच्छा हो ?
– पार्टीको निर्णय हो, म पार्टीको सदस्य भएका नाताले पार्टीको निर्णय मलाई स्वीकार्य छ ।

० नेपाली भाषालाई सम्पर्क भाषाको रूपमा नराखी हिन्दीलाई सम्पर्क भाषा बनाउने भनिएको छ नि, यो मान्नुहुन्छ ?
– मधेसमा धेरैजसो मैथिली, हिन्दी भाषा नै बोलिन्छ । स्थानीय भाषाको संवद्र्धन गर्नु ठूलो कुरा होइन । मधेसी दल भएकाले यसलाई अन्यथा लिनुहँुदैन । मधेसमा दौरा–सुरुवाल लाउने खासै चलन छैन । प्रचलित पोसाक लाउनुलाई पनि अन्यथा भन्न मिल्दैन । मूल कुरा राष्ट्रियताप्रतिको भावना र दृष्टिकोण हो । यसमा मधेसी दलले सम्झौता गर्छन् कि भनेर सोच्न मिल्दैन । मधेसी दल भन्नेबित्तिकै राष्ट्रियतामाथि प्रश्न गर्ने नै मलाई त मन पर्दैन ।

० नेपालका कुन नेता तपाईंलाई ठीक या राम्रो लाग्छन् ?
– अहिल्यै त म यही नै नेता राम्रो भन्न सक्ने अवस्थामा छैन । काम गर्दै जाने क्रममा बुझिएला, अनि मात्र भन्न सक्छु कि देशका लागि यो नेताचाहिँ ठीक रहेछन् भनेर ।

० आफू सांसद बन्छु या बन्नुपर्छ भन्नेचाहिँ तपाईंको दिमागमा कहिलेदेखि आएको हो ?
– त्यस्तै एक वर्षजति भयो होला ।

० नेताहरूले वचन पनि दिएका थिए त्यतिबेला नै ?
– त्यस्तो थिएन । अहिले समानुपातिकमा दलले नाम राख्ने बेला भएपछि मात्रै मेरो नाम पनि लिस्टमा परेको हो । पार्टीको सदस्यता पहिल्यै लिएकी थिएँ । नेता राजेन्द्र महतोले मेरो नाम राख्नुभएको हो । खस–आर्यबाट कसै न कसैलाई ल्याउनैपर्ने थियो । उहाँले मलाई राख्नुभयो, पार्टीले स्वीकार ग¥यो । मैले पार्टी र मुलुकलाई केही गर्न सक्छु भनेर नै उहाँले मलाई ठाउँ दिनुभएको हो, मैले सकेको कोसिस गर्छु ।

० तपाईंले त २ करोड खर्च गरेर सांसद पद खरिद गरेको हल्ला चलेको छ नि ?
– मैले पनि सुनेँ, अचम्म लाग्यो । यो त एकदमै गलत हो । म एउटा सामान्य सामाजिक कार्यकर्ताको रूपमा लागिरहेको मान्छेसँग कहाँबाट हुन्छ दुई करोड ? म त आफूसँग अलिकता ब्यालेन्स हुनेबित्तिकै दुःखी–पीडितलाई सहयोग गर्ने मान्छे हुँ । अनि कसरी २ करोड पुग्छ मसँग र पार्टीलाई दिनु ? म आफैँ डेरामा बस्छु । कहाँबाट पाउनु त्यति धेरै पैसा ? अघि नै भनेँ हामी साधारण व्यावसायिक परिवारका मानिस हौँ, आफ्नै दुःखसुख गरेर आत्मसम्मानित जीवन बाँचिरहेका छौँ । पैसाको कुरा गलत हो ।

० कसरी चल्यो होला त यस्तो हल्ला ?
– मान्छेलाई लाग्दो हो कि राजनीति गर्न झन्डा बोकेर सडकमा हिँडिरहेकै हुनुपर्छ, टाउको फुटाउनैपर्छ । तर, म यस्तो मान्यताको विरोधी हुँ । म एक नेपाली नागरिक हुँ, नागरिकको नाताले राजनीति गर्न पाउनुपर्छ । जहाँसम्म यस्तो हल्ला किन र कसरी चल्यो भन्ने सवाल छ, म र मेरो परिवार नै छक्क परिरहेका छौँ । एक्कासि यस्तो समाचार आउँदा हामी छक्कै प¥यौँ । रकम दिएको भए त ‘ए… दिइएको थियो, थाहा पाएछन्, ठीकै हो’ भनी चित्त बुझाउनु । एकसुका पैसा दिएको छैन, तर हल्ला यसरी चलाइन्छ भने कस्तो मानसिकता लिएर हिँडिरहेका छौँ हामी नेपाली जनता ? मलाई जिन्दगीमा पहिलोपल्ट मानिसले हँुदै नभएको कुरा पनि कसरी हो जस्तै गरी हल्ला गर्दा रहेछन् भन्ने लागेको छ ।

० पैसाको कुराबाहेक तपाईंका फोटोहरू पनि निकै चर्चामा आए नि ?
– त्यही त । मेरो पर्सनल लाइफमा दखल दिने, जथाभावी प्रचार गर्ने काम गरियो । मैले लगाएका अनौपचारिक पोसाकलाई लिएर टीका–टिप्पणी गरियो । मलाई जस्तो कपडा कम्फर्टेबल लाग्छ, त्यही लगाउने हो । कामको बेला काम गर्छु, फुर्सदको बेला घुमघाम पनि गर्छु । मोडलजस्तो सांसद भनेर पनि लेखिएको छ, तर के सांसदले चाहिँ स्मार्ट हुनै नहुने हो र ? व्यक्तिगत जीवन जसको पनि हुन्छ नि । यसो सम्झिन्छु, मेरो ठाउँमा कुनै पुरुषले अनौपचारिक पोसाकमा घुमघाम गरेका फोटाहरू भए के यसैगरी चर्चा गरिन्थ्यो होला ? कति स्मार्ट सांसद पो भनिने थियो कि ? पुरुषहरूले चाहिँ घुमघाम गर्दा कहाँ औपचारिक पोसाक लाउँछन् र ? सांसद भइसकेपछि अब म के गर्छु त्योचाहिँ महत्वपूर्ण कुरा हो ।

० अन्त्यमा, देश बनाउनचाहिँ ठ्याक्कै कहाँबाट काम सुरु गर्नुपर्ला भन्ने लाग्छ ?

– सबैले आ–आफ्नो ठाउँबाट आफ्नो–आफ्नो कर्तव्य इमानदारीका साथ काम गर्ने हो भने देश विकसित हुन्छ । यति सानो देश बनाउन खास गाह्रो नपर्नुपर्ने हो ।