मुख्य समस्याबाट ध्यान हटाउने दाउ

मुख्य समस्याबाट ध्यान हटाउने दाउ


संविधानसभाको चुनाव सम्पन्न भएको केही समय पछिदेखि नै जनताको ध्यान मुख्य विषयबाट हटाउने प्रयत्न भइरहेको छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न दलका स्थापित नेता कसरी कार्यकर्तालाई कोलमा जोतेको गोरुसरह खटाउँछन् भन्ने कुरा यो गणतन्त्र -गनतन्त्र -)ले उद्भवदेखि नै उदाङ्ग गर्दै छ । म्याद सकिएर जबर्जस्ती टेको लगाइएको संविधानसभाको मिति पनि फेरि पुग्न लाग्यो । अब पुगनपुग साढेतीन महिना बाँकी छ । तर, कुनैबेला जनताको मत प्राप्त गरेको आधारमा आफैंलाई प्रमुख भन्ने दलका नेताहरूको धोको नेपाललाई भागबण्डामा खाने मात्रमा सीमित छ । पालैपालो रजाइँ गर्नेजस्ता घिनलाग्दा कुरा सामुन्ने आएबाट अब अरू के अपेक्षा गर्न सकिएला र –
आज मुलुकभर सर्वत्र आफूलाई नेपालका नवमालिक भन्ने यी दल, यिनका नेता अनि यिनले बनाएका सभासद्हरूलाई थुःथुः हुँदै छ । सर्वसाधारणले मौका पर्दा यिनका गाला चड्काउन बेर मान्दैनन् । अर्काले कार्यक्रम गर्न ठीक पारेको स्थल जबर्जस्ती कब्जा गरेर बिथोल्ने अनि आफूमात्र लोकतन्त्रवादी हुँ भन्ने बाहुबलीका जत्थासँग पनि अब सर्वसाधारण डराउन छोडिसके । आफ्ना नेतालाई सार्वजनिक चड्कन हान्नेलाई कारबाहीको माग गर्दै गर्दा नेपालभित्रका मात्र नभएर संसारभर बसेका नेपालीले चड्कन हान्नेलाई नायक बनाएको पनि देख्न नसक्ने गरी दलहरूले आफ्ना कार्यकर्ताको आँखा थुनिदिएका छन् । जनतालाई देखाएको सुन्दर सपनाको सानो छेस्कोसम्म पनि पुर्‍याउने हविगत यिनमा छैन । त्यसकारण मुख्य मामिलाबाट जनताको ध्यान हटाउने निर्रथक प्रयत्न नै अहिलेका दलहरूको एकमात्र ध्याउन्न हो ।
थपिएको म्याद पनि सकिएपछि फेरि कुन बहानाले म्याद थप्ने हो, अहिले दलहरू तिनका भरौटे भएका विभिन्न विषयका नाभो विशेषज्ञहरू, चारण वा भाटसरह विरुदावली गाउन तल्लीन केही सञ्चारकर्मी यही ध्याउन्नमा छन् । तर, यस्ता सबैको एकमात्र क्षमता केवल राजाको खोइरो खन्नु मात्र थियो । राजालाई किनारा लगाएपछि आफ्नो खुवी देखाउने मेलो नै हराएको यो जमात कुइराको काग भएको छ । त्यसैले आफैंले घोषणा गरेको धर्मनिरपेक्षताको खोल च्यात्दै हिन्दू, केवल हिन्दू मूल्य-मान्यतामा चोट पुर्‍याउन तल्लीन छ । बाह्र महिनाको वर्षलाई एघार महिनाको बनाउनुपर्ने तर्कमा अल्मल्याउन खोज्दै छ । निजामती कर्मचारीको पोसाक तोक्ने प्रमुख काम बनाउँदै छ ।
संविधानमा लेख्दैमा वा कानुन बनाउँदैमा सबै समस्या जादुको छडीले झैँ छुमन्तर हुँदैन भन्ने कुरा सबैलाई थाहा थियो । तर, संविधानमा लेख्नेवित्तिकै सबै कुरा ठीक हुन्छ भनेर मान्न यस्तैहरूले जोड गरे । लौ त भनेर जनताले पत्याइदिए । राजा नै सबै समस्याको जड हो भनेर भने, लौ त भनेर जनताले राजालाई कुनामा थन्क्याए । जे-जे कुरा गर तिमीहरूलाई सुन्दर जीवन दिन्छु भनेर वाचा गरेका थिए, जनताले त्यो कुरा पुर्‍याइदिए । अब आफ्नो पालोमा कुनै काम गर्न नसक्ने देखेर झगडाको नाटक गरेर जनताको ध्यान हटाउने कुरा गर्दै छन् । जनता भने यस्ता कुराले ध्यान हटाउने मनसायमा छैनन् भन्ने कुरा नेकपा एमालेका अध्यक्षका गालामा परेको पाँच औंलाका डामले प्रस्ट गरेको छ । यो डाम उनको गालामा अन्तिम होइन, यस्ता जनकारबाहीमा झुटो वचन दिने हरेक पर्दछन् भन्ने सङ्केत हो ।
थप्पडको आवाज यस्ता सबैलाई चेतावनी हो जो जनतासँग झुटो वाचा गर्दछ, यस्ता सबैलाई हो जो जनताको ध्यान मुख्य मामिलाबाट मोड्ने प्रयत्न गर्दछ वा त्यस्तो प्रयत्नको मतियार हुन्छ । सुरक्षाघेरा पातलिनेबित्तिकै करोडौँ हात क-कसका गालामा पर्ने हुन् त्यो अनुमान गर्न कठिन छैन । राज्य संयन्त्र आफ्नो हातमा भएको फाइदा लिएर आफूमर्जीको माफीनामा लेखाउन सक्नु बेग्लै कुरा हो, तर यस्ता माफीनामाले जनताको मनमा चुलिएको घृणाको पहाड खार्न सक्दैन । आफ्नो भविष्य हेर्ने हो भने जनताको अदालतमा उभिएर सजाय भोग्न तयार हुनुपर्‍यो । नत्रभने भाचाखुसीमा पुर्‍याइएको मान्छेले अन्तिम इच्छा पूरा गर्न दही-चिउरा खाएझैँ विभिन्न तारेहोटेल, रिसोर्टको महङ्गा परिकारको स्वाद सहमतिको वार्ताको बहानामा चाख्नुपर्‍यो । जनता जागिसके, यो कुराको बेलैमा चेतना भया ।
– स्वयम्भुनाथ कार्की, विराटनगर-१

यो कस्तो सङ्केत हो –
सहमतिको प्रलाप गर्दागर्दै अस्वाभाविक किसिमले बहुमतीय प्रक्रियाको घोडा चढेर झलनाथ खनाल प्रचण्डको निगाहमा प्रधानमन्त्री बन्न पुगेका छन् । उनी प्रधानमन्त्री बनेर देशका जल्दाबल्दा समस्या समाधान गर्ने र जनतालाई राहत दिने सवालमा काम गर्न सक्लान् भन्नेमा कतैबाट पनि त्यति आशा-अपेक्षा गरिएको छैन । खनालले सहमतिको राग अलाप्न अझै छोडेका छैनन् तर भएको सहमति पनि भाँड्ने प्रक्रियाको थालनी भने उनले गरिसकेका छन् । यसरी आफैं असफल हुने बाटो सुरुमै रोजिसकेका प्रधानमन्त्री खनालबाट यो गम्भीर परिस्थितिमा देश र जनताले सन्तोषको श्वास फेर्न पाउने कुरामा प्रश्नचिह्न खडा भएको हो । उनले शपथ लिनु एकदिनअघि मात्र मुलुकभरका यातायातका साधनको भाडादरमा नौ प्रतिशतले वृद्धि गरिएको र शपथको भोलिपल्टै लोडसेडिङ बढाएर दिनमा १५/१६ घन्टा पुर्‍याइएको सन्दर्भले नै दर्शाइसकेको छ कि खनालको प्रधानमन्त्रीत्वले कमसेकम देश र जनताको हकमा शुभ-सङ्केत गरिरहेको छैन ।
– निरञ्जन शर्मा कँडेल, बाग्लुङ