के ‘जनयुद्ध’को पूर्ण विजयको सम्भावना थियो ?

पिली क्याम्प आक्रमणको कथा

5 Shares

– रवीन्द्र श्रेष्ठ

०६१ चैत्र २५ गते रुकुम, रोल्पा र सल्यानको सीमानामा रहेको खारा गाउँस्थित शाही सेनाको सैन्य क्याम्पमाथि आक्रमण गर्ने प्रचण्ड स्वयमको उपस्थितिमा बनेको योजना पराजयमा टुङ्गिएपछि प्रचण्ड लगायत केही नेताहरूमा अब जनयुद्ध सफल हुन सक्दैन भन्ने पर्न थालेको थियो । बाबुराम जनयुद्ध सफल हुन सक्दैन भन्ने लाइनमा अलि पहिलेदेखि नै थिए । ज्ञानेन्द्र शाहको नेतृत्वमा रहेको शाही सेनाको खारास्थित क्याम्पमा भएको आक्रमण असफल भएपछि प्रचण्ड पनि बाबुरामकै लाइनमा लागे तथा बाबुरामलाई अघि सारेर भारत गई भारतीय सरकारको सहयोगमा जनयुद्ध बिसाउने काममा सक्रिय हुन थालेका थिए ।

खारामा शाही सेनासँगको लडाईंमा असफल भएपछि प्रचण्ड–बाबुरामहरूको तर्क के रहन गयो भने शाही सेनालाई अमेरिकालगायतले सहयोग गरेर धेरै मजबुत बनाइसकेको छ र अबको नयाँ परिस्थितिमा फौजी ढंगले शाही सेनालाई पराजित गर्न सकिन्न । जनयुद्धलाई फौजी सफलतामा पु¥याउन नसकिने भएकोले अर्को बाटो लिन जरुरी भएको छ । शाही सेनाले फोर्टिफिकेसन (मोर्चाबन्दी) अमेरिकी स्तरको बनाइसकेको, हातहतियार र तालिम पनि धेरै मजबुत बनाइसकेकोले युद्ध जित्न अब सकिन्न भन्ने तर्क प्रचण्ड–बाबुरामहरूले गर्न थालेका थिए । खाराको असफलताले देशैभरि मनोबल पनि गिर्न थालेको थियो ।

यदि शाही सेनाले अमेरिकी स्तरको फोर्टिफिकेशन (किल्लाबन्दी) गरेकोले तथा उच्च प्रकारका हतियारहरू ल्याएको हुनाले नै जनयुद्ध जित्न नसकिने प्रचण्ड–बाबुरामहरूको तर्क हो भने किन जनयुद्ध गरेको त भन्ने प्रश्नको जवाफ उनीहरूसँग थिएन । जनयुद्ध शुरु गर्दा नै यो कुरा थाहा थियो कि शाही सेनाले किल्लाबन्दी मजबुत बनाउनेछ र हतियारहरू पनि उच्च खालका ल्याउनेछ । विदेशी प्रतिक्रियावादी सरकारहरूले सघाउने निश्चित नै थियो । प्रचण्ड–बाबुरामहरूले अमेरिका वा भारत नै नेपाली सत्तापक्षको सहयोगमा आए पनि उनीहरूसँग समेत भियतनाम शैलीमा राष्ट्रिय मुक्तियुद्ध (National Liberation War) लड्ने भनिरहेका थिए । तर किन ०६२ सालमा आएर अनेक कुतर्कहरू गरिन थालियो भन्ने प्रश्न हामी केही साथीहरूले विस्तारै उठाउन थालेका थियौँ ।

शाही सेनाको कमजोर ठाउँमा आक्रमण गरेर सफलता प्राप्त गर्न सकिन्छ र माओवादी युद्धनीतिअनुसार गरिनु पर्दछ भन्ने कुरा हामीले जोडसँग उठाउन थालेका थियौँ । शाही सेनाको बलियो किल्लाबन्दी गरिएकै ठाउँमा आक्रमण गरेर सफलता खोज्ने प्रचण्ड तथा केही कमाण्डरहरूको दक्षिणपन्थी सार बोकेको उग्रवाम नीतिको आलोचना गर्न हामीले थालेका थियौंँ । तर उपयुक्त उदाहरण दिएर सही माओवादी युद्धनीति स्थापित गर्ने र देशैभरि मनोवल उठाउने कुराको आवश्यकता खारा काण्डको असफलतापछि झन् खड्केको थियो ।

०६१ चैत्र महिनाको खारा आक्रमणको बेला जनसेनाका तीन डिभिजन थियो– पश्चिम डिभिजन, मध्य डिभिजन र पूर्वी डिभिजन । खारा आक्रमण पश्चिम र मध्य डिभिजनको संयुक्त आक्रमण थियो, तर असफल भयो । यसको असफलताको कारणबारे अघिल्लो लेखमा चर्चा भइसकेको छ । (हेर्नुहोस्- http://www.ghatanarabichar.com/88795) ०६२ श्रावण महिनाको शुरुतिर मलगायत केही साथीहरू रोल्पा, रुकुम हुँदै जाजरकोट पुगेका थियौँ । मेरो जिम्मेवारी त्यो बेला स्कुलिङ विभाग थियो । पश्चिम डिभिजनमा कार्यरत सेनाका सबै साथीहरूलाई वैचारिक राजनैतिक प्रशिक्षण दिने कार्यक्रम जाजरकोटमा राखिएको थियो र पश्चिम डिभिजन त्यहाँ केन्द्रित हुँदै थियो । साथीहरूले त्यहाँ प्रशिक्षणका लागि बङ्कर शैलीको ठुलो भूमिगत हल पनि निकै मेहनत गरेर तयार पार्नुभएको थियो ।

प्रचण्डसँग जनार्दनजीको र मेरो पटक–पटक पिलीमा आक्रमण गर्ने बारे कुरा भयो । हाम्रो जोड आक्रमण गर्नु पर्दछ र यो उपयुक्त मौका हो भन्ने थियो भने प्रचण्डको हिचकिचाहट थियो । हाम्रो जोडका कारण अन्तमा प्रचण्डले ‘ल तपाईंहरूले हेरेर गर्नुस्’ भन्ने मध्यपन्थी निर्देशन दिए ।

यस्तैवेला खवर आइपुग्यो कि कालिकोटको पिली भन्ने स्थानमा शाही सेनाले नयाँ क्याम्प बनाउन थालेको छ र सेनाको नयाँ टोली ल्याएको छ । त्यसपछि छलफल शुरु भयो कि पक्कै पनि नयाँ क्याम्प मजबुत किल्लाबन्दी गर्न महिनौं समय लाग्न सक्छ । शाही सेनाको सो नयाँ क्याम्पको किल्लाबन्दी मजबुत बन्न भन्दा अगाडि नै किन आक्रमण नगर्ने ? त्यसपछि त्यहाँको स्थानीय साथीहरूको सल्लाह लिने तथा पश्चिमबाट जाजरकोट आउँदै गरेका केही कमाण्डरहरू नै यता नआई कालिकोट गएर त्यो नयाँ क्याम्पको रेकी (जाँचवुझ) गर्ने सल्लाह भयो तथा डिभिजन कमाण्डर प्रभाकर (जनार्दन शर्मा)ले सोही निर्देशन दिनुभयो । केही दिनपछि खबर आयो कि सो स्थानमा शाही सेनाको क्याम्प किल्लाबन्दी गर्न भरखरै शुरु गरिएको छ, तर पूरा हुन अझै समय लाग्छ । साथै सो स्थान खारा क्याम्पजस्तै टाकुरामा नभएर पहाडको बीचमा थियो, जहाँ तल र माथि दुबैतिरबाट आक्रमण गर्न सकिन्थ्यो । सो क्याम्पमा तलतिरबाट जान कठिन नभएको तथा जाने बाटो पनि सजिलो रहेको रिपोर्ट पनि आइपुग्यो ।

प्रचण्डसँग जनार्दनजीको र मेरो पटक–पटक पिलीमा आक्रमण गर्ने बारे कुरा भयो । हाम्रो जोड आक्रमण गर्नु पर्दछ र यो उपयुक्त मौका हो भन्ने थियो भने प्रचण्डको हिचकिचाहट थियो । हाम्रो जोडका कारण अन्तमा प्रचण्डले ‘ल तपाईंहरूले हेरेर गर्नुस्’ भन्ने मध्यपन्थी निर्देशन दिए । यसलाई चुनौतीको रुपमा स्वीकार गर्दैै पश्चिम डिभिजनको जनसेना टोली जाजरकोटबाट कालिकोट पिलीतर्फ लाग्यो र जाजरकोट आउन बाँकी पश्चिममा रहेको ब्रिगेड पनि सोझै पिलीतर्फ लाग्यो ।

०६२ श्रावण २३ गते साँझ पौने ६ बजेबाट पिली क्याम्पमाथि जनसेनाको आक्रमण शुरु भयो । करिव पौने आठ बजेसम्ममा युद्ध जनसेनाको विजयको रुपमा टुङ्गियो । करीव ५८ जना शाही सेना र करीव २६ जना जनसेनाका सदस्यहरूले वीरगति प्राप्त गरे । ६० जना जति शाही सेना युद्धबन्दी बने तथा अरु करिव ११५ जना जति शाही सेना त्यहाँबाट भाग्न सफल भए । ठुलो परिमाणमा आधुनिक हातहतियारहरू जनसेनाले कब्जा गर्न सफल भयो । ती हतियारहरू सहित पश्चिम डिभिजन पुनः जाजरकोटको स्कुलिङ क्याम्पमा जम्मा भयो । प्रशिक्षणकै क्रममा हेलिकप्टरबाट वमवर्षाको क्रम बढ्न थालेपछि र तीन तिरबाट शाही सेनाको ठुलो फौज त्यसतर्फ बढेको खबर आएपछि हामी सबै त्यहाँबाट सुरक्षित रुपमा अन्य ठाउँहरूमा विकेन्द्रीत भयौँ ।

यस घटनालाई त्यो बेला ज्ञानेन्द्र शाहको नेतृत्वमा रहेको शाही सेनाले बाटो बनाउन गएको सेनाको निहत्था टोलीमाथि आक्रमण गरेको भनि हारलाई ढाकछोप गर्न खोजेको थियो । तर बेलायती सेनाका जनरल साय्म कोवानले लेखेको ब्याटल रिभ्युमा भनेका छन् कि पिलीमा रहेकै जस्तो इन्जिनियर बटालियन म्याग्दीको सदरमुकाममा पनि थियो र जसले ६० चैत्रमा भएको जनसेनाको आक्रमणको मुकाविला गरेको थियो र क्याम्पको रक्षा गर्न सफल भएको थियो । वास्तबमा वेनीमा भएको आक्रमणमा जनसेनाले सदरमुकाममा भएका अन्य सबै सरकारी निकाय कब्जा गर्न सफल भएपनि शाही सेनाको सो क्याम्प कब्जा गर्ने मुख्य उद्देश्यमा सफलता पाउन असफल भएको थियो । किनभने सो क्याम्पको किल्लाबन्दी मजवुत ढंगले गरिएको थियो । तर पिलीमा नयाँ राख्न लागेको क्याम्प किल्लाबन्दी गर्न भ्याएका थिएनन्, जसले गर्दा उनीहरू सबै हतियारबन्द र आधुनिक हतियारले सम्पन्न भए पनि शाही सेनाले प्रतिरोध गर्न सकेन र जनसेनाले सहज विजय प्राप्त गऱ्यो । पिलीमा क्याम्प राख्न लग्नुलाई बेलायती सेनाका सो जर्नेल साय्म कोवानले ज्ञानेन्द्रको मूर्खता भनेका छन्, किनभने सो निर्णय ज्ञानेन्द्रकै आदेशमा भएको थियो ।

एउटा बटालियन स्तरको संरचनालाई सहजै पराजित गरेको भए पनि प्रचण्ड र बाबुरामले यसलाई महत्व दिएनन् । उनीहरू जनयुद्धको बाटो परित्याग गर्दै अर्कै बाटो लाग्ने शुरमा दिल्लीमा थिए । यस पिली आक्रमणको सफलताले यदि माओवादी युद्धनीति अपनायो भने कमजोर जनसेनाले पनि आधुनिक हतियारले सुसज्जित सेनालाई हराउन सक्दछ भन्ने प्रमाणित गर्दछ । यो भविष्यमा उत्पीडित जनताका लागि सशस्त्र संघर्ष गर्ने बेलाको लागि महत्वपूर्ण शिक्षा हो । माओवादी युद्धनीतिअनुसार जनयुद्ध अगाडि बढाइएको भए यसको पूर्ण विजय असम्भव थिएन ।

5 Shares

प्रतिक्रिया