पाठम मञ्च

पाठम मञ्च


मुलुक बचाउने जिम्मा गौरवको काँधमा
गते जेठ १४ गतेभन्दा पहिले प्रमुख दलका नेताहरूले भन्ने गरेका थिए– यदि जेठ १४ गते नयाँ संविधान बन्न सकेन भने मुलुक पूरै संवैधानिक सङ्कटमा जान्छ । संविधानको कुनै पनि अवशेष बाँकी रहने छैन । १४ गतेपछि मुलुक पूरै शून्यतामा जान्छ । त्यसरी जेठ १४ गते बोलेको भाषा नेताहरूले जेठ १४ पछि पनि दोहोर्‍याएका भए गत जेठ महिनाभित्रै समस्याको समाधानको खोजी भई समस्या समाधान भइसकेको हुने थियो । तर जेठ १४ भन्दा अगाडि आफ्नै मुखले बोलेको कुरालाई नेताहरूले हो भन्न नसक्नुको कारण मुलुक अन्योलमा फसेको हो भन्नुमा सायद दुईमत हुन सक्दैन । कोही बिरामी परेर मर्‍यो भने त्यो लासले म मरे मेरो सद्गत गर नत्रभने म सडेगलेर दुर्गन्धित हुन्छु अनि सारा समाजमा रोग फैलिएर ठूलो महामारी आउनेछ र सारा मुलुकका जनता सखाप हुनेछन् भनेर लास बोल्दैन । यो मरिसक्यो यसको छिट्टै सद्गत गर्नुपर्छ भनेर जीवित रहेका वरिपरिको समाजले लगेर छिट्टै सद्गत गर्छन्, जसको कारण महामारी फैलिन पाउँदैन । अस्पतालमा बिरामी मर्‍यो भने डाक्टरले मरेको घोषणा गरेर प्रमाणित गरेपछि सद्गत गर्ने चलन छ । जसको कारण लास सड्न, गल्न र दुर्गन्धित भएर महामारी फैलिन पाउँदैन, समाज स्वच्छ रहन्छ ।
जेठ १४ गतेभन्दा अगाडि दलहरूले भनेझैं जेठ १४ पछि मरेको संविधानलाई मरेको हो भन्न कन्जुस्याइँ गर्नु अनि मरेको संविधानले आफैं मरेको घोषणा गर्ने चलन नहुनु (जस्तै लास नबोलेझैं) लासमा टाँसिएका कीराहरू लासको कुहिएको पिप खाएर मोटाउन पल्केका कीराहरू लास कुहिएकैमा रमाउने जसरी मरेको संविधानद्वारा देश लुट्न पल्केकाहरू संविधान मरेको हो भन्न कत्ति पनि नमान्नेहरूले गर्दा यतिबेला यो मुलुक मृत्यु भएको अन्तरिम संविधानको दुर्गन्धले विस्तारै महामारी फैलिएर मुलुक र जनता स्वाहा पार्ने बाटोतर्फ मुलुक अग्रसर भएको यथार्थता बुझ्न अब सर्वसाधारण जनतालाई पनि कठिन हुने कुरा बाँकी रहेन ।
मरेको अन्तरिम संविधान म मरँे भनेर आफैं बोल्दैन, भन्दिनेले लाज मानेर सत्यतथ्य खोल्दैन । यही अन्योलले अस्तव्यस्त भएर मुलुकमा ठूलो महामारी फैलिइसक्यो अब समाधान कसले गर्ने ? मरेको संविधानको पिप खाएर मोटाएकाहरू फेरि पनि मृत संविधानमा प्रवेश गरौँला र बाँकी रहेका पिपहरू आफू खाउँला भन्नेहरू अझै मरेको मान्न मान्दैनन् । पहिले नै टाँसिएको कीराले सबै पिप खाइसक्यो अब लासमा रस छैन भनेर पाखामा बसेर आश गर्नेहरूले बुझ्दैनन् । जसको कारण मुलुकमा संवैधानिक सङ्कटको महामारी फैलिएर मुलुक अस्तव्यस्त बनिसक्यो तर पनि पिप चुस्ने चुस्ने छाड्दैन अनि आस गर्नेले नभएको सकिसकेकोे पिप चुस्ने आशामा मरिहत्ते गर्दै मरेको हो भन्न मान्दैन ।
त्यसरी महामारीले सखाप पारेको यो मुलुकसँग अमेरिकी जुत्ता कम्पनीले विश्वकै लागि शान्तिदूत गौतम बुद्धको तस्बिर जुत्तामा राख्दासमेत चुँक्क बोल्ने हैसियत राख्दैन । यदि संविधान जीवित हुँदो हो त पक्कै बोल्ने आँट गर्ने थियो होला । अमेरिकाले फिल्म बनाउँदा आफ्नो धार्मिक नेताको अपमान गरेको भनेर यतिबेला मुस्लिम देशहरूले अमेरिकाको विरोध गरेका छन् तर विश्वको साझा सम्पत्ति विश्वलाई नै शान्ति देख्न चाहाने बुद्धको तस्वीर जुत्तामा राखेर त्यत्रो अपमान गर्दा समेत चँुक्क बोल्न नसक्नेहरू कहाँका अरौंटेहरू हुन् ? अनि मरेको अन्तरिम संविधान जीवित छ भनेर कहिलेसम्म पिप चुसेर खाने हुन् अड्कल गर्न गाह्रो छ ।
नेपालमा दुर्गन्ध नफैलिनका लागि गत जेठ १४ मै अन्तरिम संविधानलाई मृत घोषित गर्नुपर्ने थियो भन्ने बुद्धिजीवीहरू पनि नेपालमा नभएका भने होइनन् । तर, उनीहरूको बोली विवेक अन्तरिम संविधानद्वारा निर्मित संविधानसभाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर आफैं मरिसकेको अवस्था र संविधान आफैंले कल्पना गरेको योजनाबाट आफैंले विमुख भएको अवस्थाले मुलुकको राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्ने गरी विदेशी चलखेल बढेर मुलुक असफल राष्ट्र बन्नेतर्फ उन्मुख भएको रोक्न त्यसैबेला नेपाली सेनाले कदम चाल्नुपर्ने थियो, त्यसो हुन सकेन । संयोगबस नेपालको गौरवमय इतिहास बोकेको नेपाली सेनाको कमाण्ड गौरवशमशेर जबराले सम्हाल्नुभएको छ अब उहाँ नामको मात्रै गौरव भएर साँच्चिकै गौरवमय इतिहास कायम गर्नका लागि मरिसकेको अन्तरिम संविधानलाई मृत घोषित गरी तत्काल २०४७ सालको संविधान पुनस्र्थापना गरेर गौरवशमशेरले मुलुक बचाउनुहुनेछ भनेर सम्पूर्ण राष्ट्रपे्रमी देशभक्त नेपालीले आशा गरेका छन् ।
– लालकृष्ण धमला
ट्राफिकमा गोकुलको कमाइधन्दा बेग्लै
सम्पादकज्यू
ट्राफिक महाशाखामा मापसे (मादक पदार्थ सेवन) गरेर सवारीसाधन चलाएको आरोपमा विभिन्न शीर्षक राखेर अवैध ठगी भइरहेको छ । मापसे गरेर सवारी चलाएको पाइएमा एक हजार रुपैयाँ जरिवाना गरिने कानुनी प्रावधान भए पनि बिहानी कक्षा सञ्चालनको नाममा प्रहरी निरीक्षक गोकुल पोखरेलले प्रतिव्यक्ति रु. पाँच सय दरले पैसा उठाउने गरेका छन् ।
मापसेको चिट काटे पनि भोलि नै हामीले आफ्नो लाइसेन्स पाउँदैनौँ । किनकि बग्गीखानामै रहेको ग्लोबलमा पैसा जम्मा गर्नुअघि ट्राफिकले काटेको मापसेको चिटमा प्रहरी निरीक्षकले हस्ताक्षर गर्नुपर्ने रहेछ । जुन अधिकार गोकुल पोखरेललाई दिइएको छ । उनले अहिले त्यही अधिकार भजाएर व्यापक पैसा कमाएको प्रस्टै देखिन्छ । मापसेमा परेपछि आफ्नो लाइसेन्स लिन बग्गीखाना पुगेपछि बिहान नौ बजे चेतानामूलक कक्षा लिनुभएको छैन रै’छ तपाईंले भोलि कक्षा लिनुस् अनि म हस्ताक्षर गर्छु भनी सेवाग्राहीलाई दु:ख दिने गरेका छन् । रु. पाँच सय उनको हातमा थमाइदियो भने उनले तुरुन्दै हस्ताक्षर गरेर लाइनमा पनि नबसी हातमै लाइसेन्स थमाइदिन्छन् । यसरी चेतनामूलक कार्यक्रमको नाममा प्रतिव्यक्ति रु. पाँच सय असुन्ने प्रहरी निरीक्षकलाई पोखेललाई डीआईजी गणेश राईले किन कारबाही नगरको होला ? कतै उनलाई पनि मोटो नजराना दिइएको त छैन ?
– सुन्दर गुरुङ, काठमाडौं