चलचित्र ‘खुल्ला आकाश’ सम्पादनमा

चलचित्र ‘खुल्ला आकाश’ सम्पादनमा


आर.टी.आई. एड इन्टरनेशनल नेपालको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘खुल्ला आकाश’को छायाङ्कन पूरा भई सम्पादन कार्य सुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगालेका जीवन थापा ‘क्षितिज’को लेखन र बिएन ढकालको सहलेखन रहेको चलचित्र ‘खुल्ला आकाश’को निर्देशन ज्ञानेन्द्र कोइरालाले गरेका हुन् ।

पूर्ण भुजेल, केशव निरौला, कर्ण नेपाली र दीपक थापा चलचित्रको निर्माता रहेका छन् । छायाङ्कन तिलक रिजालको रहेको छ । चलचित्रमा जीवन थापा ‘क्षितिज’, आइ.पी. आचार्य, सविना तामाङ, झमक खनाल, नीरा भट्टराई, खड्ग भट्टराई, केशव निरौला, पूर्ण भुजेल, रिता दाहाल र सिर्जना भट्टराईको मुख्य भूमिका रहेको छ ।

लेखक तथा कलाकार ‘क्षितिज’का अनुसार सामाजिक सद्भाव कायम गर्ने मुख्य विषय रहेको चलचित्र ‘खुल्ला आकाश’ पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका अन्तर्गतका याकु, मैदाने र धनकुटाको हिले, उत्तरपानी लगायतका विभिन्न स्थलमा छायाङ्कन गरिएको हो ।

चलचित्रको सम्पूर्ण सम्पादन कार्य सकी शीघ्र प्रदर्शनमा ल्याउने निर्देशक कोइरालाले बताए ।