ईश्वरका कारण देश छुटेपछि

ईश्वरका कारण देश छुटेपछि


– बबिता बस्नेत

प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले राष्ट्रपतिबाट शपथ लिँदै गर्दा ‘ईश्वरका नाममा’ भन्ने ठाउँमा मौन रहेर टाउको मात्रै हल्लाउनुभयो र त्यसपछिको ‘देश’ भन्ने शब्द उच्चारण नगरी ‘जनता’ भन्नुभयो । उहाँले नियतवश ‘देश’ छुटाउनुभयो भन्ने लाग्दैन, तर ईश्वर शब्दलाई छल्ने क्रममा देश नै छुट्न पुग्यो । शपथग्रहणमा देश शब्द छुट्नु सामान्य कुरा होइन । तर, यो असामान्य कुरालाई खासै महत्व दिइएन । अन्तर्राष्ट्रिय जगतमा नेपाललाई भगवानहरूको देश भनेर चर्चा गरिए पनि हाम्रो देशमा कम्युनिष्ट लेखिएका दलका नेताहरूले शपथ लिँदा ईश्वर शब्दबाट टाढा बस्ने गरेका छन् । माओवादी नेता प्रचण्डले पनि प्रधानमन्त्री हुँदा ईश्वरको नाममा शपथ नखाई ईश्वर शब्दलाई जनतामा बदल्नुभएको थियो । प्रधानमन्त्रीका रूपमा नेता केपी ओली र प्रचण्डले शपथ लिँदा ईश्वरका ठाउँमा जनता भने पनि ईश्वर र जनता एउटै कुरा भने होइनन् । सीधा फरक त के हो भने जनता को हुन् हामीलाई थाहा छ, ईश्वरको बारेमा कुनै जानकारी छैन । ईश्वरको परिकल्पना सुखद अनुभूति मात्रै हो ।

नेपालीमा भगवान् र ईश्वर तथा अङ्ग्रेजीमा ‘गड’ शब्द विश्वभरका मानव जातिले पुकार्छन् । नाम फरक होलान्, तर भगवानसँग टाढा बस्ने या बस्न चाहने मानिस कमै होलान् । विश्वशक्ति राष्ट्र अमेरिकाको पैसामै लेखिएको छ, ‘वी ट्रस्ट इन गड ।’ यसको अर्थ हुन्छ, ‘हामी भगवानमा विश्वास गर्छौँ ।’ राष्ट्रप्रमुख र सरकारप्रमुखहरूको शपथमा ‘ईश्वर’ शब्द उल्लेख हुने नेपाल मात्र होइन विश्वका अधिकांश मुलुकहरूमा शपथ लिँदा ईश्वर शब्द उच्चारण गरिन्छ । राजसंस्था भएका मुलुकहरूमा प्रायः ‘राजा या राजसंस्था, संविधान र ईश्वरप्रति’ भनिएको हुन्छ । विभिन्न विकसित तथा अविकसित मुलुक जे–जस्ता भए पनि शपथको अन्त्यमा धेरैले ‘हेल्प मी गड’ अर्थात् ‘मलाई सहयोग गर्नुुस् भगवान्’ भनी उल्लेख गरिएको हुन्छ । छिमेकी मुलुक भारतमा पनि ईश्वरको नाममै शपथ खाइन्छ । इस्लामिक मुलुकहरूले कुरानलाई राक्षी राखेर या ‘आई स्वेर बाई अल्लाह’ भन्ने उल्लेख गरेका हुन्छन् । जसले जे नाम दिए पनि पुकारिएको त आखिर ईश्वरलाई नै हो ।

राज्यका उत्तरदायी ओहोदामा बस्नेहरूलाई शपथ खुवाउने चलन अमेरिकाले बसाएको हो । गृहयुद्धपछिको अमेरिकामा तत्कालीन राष्ट्रपति अब्राहम लिङ्कनले सङ्घीय राज्यहरूलाई एकताबद्ध गर्न पदाधिकारीहरूलाई एकैखालको शपथ खुवाउने अवधारणा ल्याएका थिए । पछि बिस्तारै–बिस्तारै शपथको चलन विश्वव्यापी हुँदै गयो । अन्य मुलुकमा जस्तै नेपालमा पनि समारोहकै आयोजना गरेर शपथग्रहण गरिन्छ, तर राष्ट्रका महत्वपूर्ण पदमा बस्नेहरूका शपथग्रहणहरू बेलाबेलामा विवादास्पद हुने गरेका छन् । कोही राष्ट्रिय पोसाक नलाएर विवादमा आए, कोही ईश्वरको नाम नभनेर । यो संसारमा ईश्वरको अस्तित्व छ कि छैन ? अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । ईश्वर भन्ने चिज पत्ता लगाउने या छाम्दा भेटिनेभन्दा पनि अनुभूति गर्ने कुरा हो । त्यसो त यत्तिका मन्दिर, मस्जिद, चर्चहरू भौतिक रूपमा खडा भएका छन्, तथापि ईश्वर भन्ने कुरा भौतिक नभएर आध्यात्मिक हो भन्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथका बेला ईश्वर भन्ने शब्द उच्चारण गर्न हँुदैन भन्ने दिमागमा नराख्नुभएको भए देश शब्द छुट्ने थिएन । देश छुटाएर जनता मात्रै भन्नु आफैँमा नमिठो कुरा मात्रै होइन, गम्भीर त्रुटि पनि हो ।

ईश्वरसँगको मानवीय सम्बन्ध शारीरिक नभएर आत्मिक हो । ईश्वर आत्मासँग सम्बन्धित भएकाले मानिस ईश्वरलाई पुकार्दा आत्माबाटै शान्तिको अनुभूति गर्छन् । जतिबेला यो संसारमा कानुन भन्ने थिएन, ईश्वरकै नाममा मानिस बाँधिए । ईश्वरको अस्तित्व धर्मसँग जोडिएको छ र धर्मको सम्बन्ध न्यायसँग छ । धार्मिक हुनु भनेको न्यायिक हुनु हो । मनमा धर्म राखेर बोल भन्नुको अर्थ न्याय राखेर बोल भनेको हो । धर्मका नाममा अपराध गर्नेहरूको सङ्ख्या पनि यहाँ धेरै छ । उनीहरू आत्मासँग होइन भौतिक रूप देखाएर धर्मको आडमा व्यापार गर्छन् । आत्मा, सत्य र इमानदारीसँग उनीहरूको कुनै सम्बन्ध हुँदैन । धर्मनिरपेक्षताको अर्थ ईश्वरको नाम नै उच्चारण गर्न नमिल्ने भन्ने होइन ।

प्रजातन्त्रपछिको लोकतन्त्र र लोकतन्त्रपछिको गणतन्त्रमा धर्म–संस्कृतिलाई जति अपमान ग¥यो त्यति ठूलो मान्छे भइन्छ भन्नेझैँ देखिन्छ । केही दिनअघि कानुन राज्यमन्त्री रहेका दिलमान पाख्रिनले अब गाईगोरु काटेर खाने कानुन बनाउने सार्वजनिक घोषणा गरे । अचम्म लाग्यो, यो देश कता गइरहेको छ ? ओहोदामा बसेको मानिसले कानुन बनाएरै हामी काटमार वा हिंसा गर्छौँ भन्न कसरी सक्छ ? त्यो पनि राष्ट्रिय जनावरलाई । गाईलाई कतिले हिन्दूधर्मसँग जोडेर हेर्ने गरेका छन्, तर गाईका गुणहरू हिन्दूधर्मसँग भन्दा मानवहितसँग जोडिएका छन् । दूधदेखि घिउ हँुदै गहुँत र गोबरसम्म गुण नै गुण छन् । गाईले मानिसको मनोभाव बुझ्ने मान्यता राखिन्छ । हिन्दूमा मात्र होइन जैन र शिख धर्मावलम्बीहरूमा पनि गाईको मासु खाने कल्पना गरिँदैन । खासमा गाई मात्र होइन जनावरको मासु नखानु भन्ने मान्यतामा उनीहरूभित्रको संवेदनशीलता नै प्रमुख हो । घरमा पालेको गाईले सम्बन्धित घरमा दुःख परेको बेला आँसु झार्ने गरेको धेरैले देखेका छन् । विशेषगरी मान्छे मर्दा गाई र कुकुरले आँसु झार्छन् ।

गाईलाई भगवान्सँग नदाँजिएको भए कसैले पनि गाईको यति खेदो गर्ने थिएनन् होला । भगवान्सँग दाँजिएकै कारण धर्मनिरपेक्ष राज्यमा गाईको पूजा किन ? भन्ने मूर्ख बहस गर्नेहरू देखिएका हुन् । ईश्वर कुनै धर्मविशेषसँग जोडिएको कुरा होइन । कुनै पनि विषयमा सर्वश्रेष्ठ अनुभूति भयो भने त्यसलाई ईश्वरीय अनुभूति भनिन्छ । त्यसैले नेपालका ‘प्रगतिशील’हरूले ईश्वर शब्द उच्चारण गर्न लाज–धक मान्नुपर्ने देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथका बेला ईश्वर भन्ने शब्द उच्चारण गर्न हुँदैन भन्ने दिमागमा नराख्नुभएको भए देश शब्द छुट्ने थिएन । देश छुटाएर जनता मात्रै भन्नु आफैँमा नमिठो कुरा मात्रै होइन, गम्भीर त्रुटि पनि हो । अहिले प्रधानमन्त्री हुँदा या भनौँ जीवनमा सुखको उत्कृष्ट अवस्थामा पुगेको बेला भगवान् शब्दलाई अवहेलना गरे पनि दुःख–पीडा परेको बेला उहाँको मनले पुकार्ने भनेकोचाहिँ भगवान् नै हो । उहाँले चाहेर–नचाहेर शारीरिक र मानसिक पीडामा परेको बेला म त मुलुकको प्रधामन्त्री पो हुँ त कहाँ भगवान् सम्झिन्छु भनेर उहाँको आत्माले भन्न सक्छ जस्तो लाग्दैन । किनभने प्रधानमन्त्री पदमा पुग्दा क्रान्तिकारी बन्न मन लागे पनि केपी ओलीका रूपमा उहाँको हुर्काई आमनेपाली ब्राह्मण परिवारसँग सम्बन्धित छ । सुखमा हुँदा उहाँले ईश्वर शब्द उच्चारण नगर्न टाउको हल्लाएर टारे पनि महात्मा गान्धीले जीवनको अन्तिम सास फेर्दै गर्दा हे राम ! भनेजस्तै गरी दुःख–पीडाका बेला उहाँको मुखबाट पनि अनायसै निस्किएला— हे भगवान् !!