आइटीएफ टेनिसमा दाइसुके र चुइले बाजी मारे

आइटीएफ टेनिसमा दाइसुके र चुइले बाजी मारे


जापानका दाइसुके इनागावा र हङकङकी चुइ केइ लिउङले नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत सिंगल्समा पहिलो स्थान हात पारेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा दाइसुकेले आफ्नै राष्ट्रका ताइसेइ कागेयामालाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरेका थिए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा चुइले जापानकी मियो कोजाकीलाई ६–३ र ६–० ले पराजित गरिन् ।

महिला डबल्समा चीनकी यिमिङ दाङ र जापानकी मानामी युकिताको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले अमेरिकाकी रुतुजा छप्हल्कर र जापानकी कोजाकीको जोडीलाई ६–० र ६–४ ले पाखा लगाएका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले पुरस्कृत गरेका थिए ।