समृद्धिको युग प्रारम्भ भएको प्रधानमन्त्रीको उद्घोष

समृद्धिको युग प्रारम्भ भएको प्रधानमन्त्रीको उद्घोष


प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको उद्घोष गरेका छन् ।

सोमबार ६८औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताले लामो समय देखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको उद्घोष गरे ।

ओलीले आज जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तन सहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको भन्दै तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा प्रवेश गरिएको बताए ।

सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको पनि ओलीले बताए ।
ओलीले सवै राजनीतिक दलहरु र आम नेपाली जनतासँग साझा संकल्प गर्दै राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रा सँगसँगै शुभारम्भ गर्न हातेमालोका लागि अपिल समेत गरेका छन् ।