यि हुन् विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली

यि हुन् विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली


जिम्बावेमा हुने विश्वकप छनौट क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । छनोट समितिमा आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले टिमको घोषणा गरेका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ । १५ सदस्यीय टिमको कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल र ललितनारायण राजवंशी रहेको बताइएको छ ।

त्यसैगरी सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारी रिजर्भ खेलाडीमा घोषित भएका छन् । नामिबियामा भएको डिभिजन २ क्रिकेटमा नेपाल उपविजेता बन्दै विश्वकपका लागि छानिएको हो ।

नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले पहिलो खेल मार्च ४ मा आयोजक जिम्बाबेसँग खेल्ने छ ।

यस्तै, ८ मार्चमा स्कटल्याण्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग नेपाल खेल्ने छ । प्रतियोगिताअघि नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्ने बताइएको छ ।