भाटभटेनीले ललितपुर महानगरपालिकालाई कर वापतको १ करोड नतिरेको ठहर

भाटभटेनीले ललितपुर महानगरपालिकालाई कर वापतको १ करोड नतिरेको ठहर


ललितपुरमा संचालन गरिएको भाटभटेनीले ललितपुर महानगरपालिकालाई कर नतिरेको पाइएको छ । देशका विभिन्न स्थलहरुमा सुपरमार्केट संचालन गर्दै आएको भाटभटेनी सुपर स्टोरले राज्यलाई तिर्नुपर्ने कर नतिरेको पाइएको हो ।

महानगरपालिका स्रोतका अनुसार विगत लामो समयदेखि ललितपुरमा व्यवसाय गर्दै आएको भाटभटेनीले महानगरपालिकालाई तिर्नुपर्ने झण्डै १ करोड रुपैयाँ कर नतिरेको पाइएको हो ।

घरजग्गा कर, बहाल कर र व्यवसाय कर समेत जोड्दा झण्डै १ करोड रुपैयाँ भाटभटेनीले तिर्न बाँकी रहेको महानगरपालिकाको राजश्व विभागले जनाएको छ ।

महानगरपालिकाले आइतबार भाटभटेनीमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको जनाएको छ । महानगरको आर्थिक समितिको टोलीले पाटनढोकास्थित सुपरमार्केटका विभिन्न पसलमा गरेको अनुगमनको क्रममा कर छलि गरेको ठहर गर्दै तत्काल कर नतिरे कारबाही गर्ने चेतावनी समेत दिएको बुझिएको छ ।

महानगरपालिकाको आर्थिक समिति संयोजक रविन्द्र महर्जनसहित राजश्व महाशाखाका कर्मचारीको एक टोलीले भाटभटेनीभित्र रहेका २१ अन्य पसलसहित सुपरस्टोरमा समेत अनुगमन गर्दा २१ वटा भाडामा बसेका पसलहरु व्यवसायमा दर्ता नै नभई सञ्चालनमा आएको भेटेपछि तत्काल राज्यलाई कर नतिरे कारबाही पक्रिया अघि बढाउने चेतावनी दिएको महानगरपालिकाले जनाएको छ ।