विप्लवद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

विप्लवद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)


पार्टीका उच्च तहका नेताहरूलाई सरकारले गिरफ्तार गरेको मामलालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको बुझिएको छ । हिजो विराटनगरमा आयोजना हुँदै गरेको सो पार्टीका युवाहरूको सङ्गठन राष्ट्रिय युवा जनस्वयम् सेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटनका लागि त्यसतर्फ जाँदै गर्दा नेकपाको स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन), पीबीएम पदम राईलगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो । यसको विरोधमा नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै ‘ओली सरकारको जनघाती चरित्र उदाङ्गो भएको’ आरोप लगाएका छन् ।

गिरफ्तार गरिएका आफ्नो पार्टीका वरिष्ठ नेताहरूलाई तत्काल रिहा नगरे नेपाल बन्दका साथै अन्य गम्भीर प्रकृतिका विरोधका कार्यक्रम गरिने चेतावनी समेत विप्लवले आफ्नो विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । उनले भोली फागुन ८ गते मंगलबार नेपाल बन्दको आह्वान गरेका छन् ।

विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘…चार दिनअघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले बिनाकारण कमरेड सुदर्शन र पीबीएम पदम राईलगायत दर्जनौँ युवा कमरेडलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदाङ्गो पारेको छ । साथै कम्युनिष्ट नामबाट सरकारमा पुगेकाहरूको पाखण्डी एवम् दमनकारी चरित्रलाई नाङ्गो बनाइदिएको छ ।…’

विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ– ‘आफ्नो सरकारी काम नै जनतामाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार गरिएका वरिष्ठ नेताहरूलाई बिनाशर्त मुक्त गर्न आह्वान गर्दछौँ । अन्यथा ओली सरकारको दिनगन्ती यहीँबाट शुरु भएको चेतावनी दिन चाहन्छौँ । … यदि ओली सरकारले हाम्रो आग्रहलाई बेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौँ । …’