सिलीगुढी : नेपाल पर्यटन प्रवर्द्धनको क्षेत्रीय बजार

सिलीगुढी : नेपाल पर्यटन प्रवर्द्धनको क्षेत्रीय बजार


– रेजिना गौतम

नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतको पश्चिम बंगालमा वर्षेनी आयोजना हुने बंगाल ट्राभल्स मार्ट (बीटीएम) महत्वपूर्ण स्थान भएको नेपाली पर्यटन व्यवसायीहरुले ठहर गरेका छन् ।

भारतको बंगाल, सिक्किम, कलकत्तासहित भूटान बंगलादेशको मध्यबिन्दु रहेको पश्चिम बंगालमा सन् २०१६ देखि आयोजना हुन थालेको बीटीएममा नेपालको सहभागिताले पर्यटन प्रवद्र्धनमा पहुँच बढ्दै गएको पर्यटन संवद्ध व्यवसायीहरुले बताएका छन् ।

बंगालमा आयोजना गरिएको बीटीएम मार्टमा नेपालसहित भारत, भूटान र बंगलादेशका पर्यटन क्षेत्रमा काम गर्दै आएको पर्यटन व्यवसायीहरुको सहभागिता छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा मार्टको पहिलो संस्करणमा थोरै प्रगति भएको बताउँदै पर्यटन क्षेत्रमा व्यवसायिक रुपमा काम गर्दै आएको संस्था नाटाका पूर्व अध्यक्ष हेमचन्द्र (तारा) बास्तोलाले भने, ‘दोस्रोबाट तेस्रोमा आउँदा त धेरै प्रगति भएको छ, भेरि ग्रेट वेल ।’

तेस्रो मुलुकका पर्यटकहरु पनि भारत, बंगलादेश घुमेर नेपाल भ्रमणका लागि पूर्वी नाका हुँदै नेपाल भित्रिने भएका कारण पनि सिलिगढीमा हुने पर्यटनसम्बन्धी गतिविधिहरू महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड प्रदेश–४ का प्रमुख सूर्य थपलियाले बताए । उनले भने, ‘सिलिगुढी नेपालको पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय बजार हो, यसलाई हामीले महत्वपूर्ण बजारका रुपमा हेर्ने गरेका छौँ, नेपालको पूर्वी नाका पनि नजिकै भएकाले पनि यो नेपालका लागि महत्वपूर्ण गन्तव्य हो ।’

बीटीएम मार्टमा सहभागिता नेपालको पर्यटन प्रवर्द्धन लागि रणनीति भएको थपलियाले बताए । उनले भने, ‘एउटा पूर्वको पर्यटन प्रवद्र्धन, अर्को देशकै पर्यटन तथा आर्थिक प्रवर्द्धनका साथै पोखरा लगायतका स्थानको प्रचार गर्ने दुईवटा रणनीति होे ।’ उनका अनुसार सिलिगुढी उत्तरपूर्वी नेपालीभाषीहरूका लागि पनि नेपाल ठूलो पर्यटकको सम्भावना बोकेको स्थान हो ।

बंगाल सरकारको सहयोगमा इष्टर्न हिमालयन टुर एण्ड ट्राभल्स एसोसिएसन (इथुवा)ले आयोजना गरेको बीटीएम मार्ट २०१८ मा नेपालले ८ वटा स्टल राखेको थियो ।