प्रधानमन्त्री ओली र प्रचण्डबीच भोली फेरि वार्ता गर्ने सहमति !

प्रधानमन्त्री ओली र प्रचण्डबीच भोली फेरि वार्ता गर्ने सहमति !


नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच वान टु वान वार्ता सम्पन्न भएको छ । माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको भक्तपुरको मध्यपुरथिमिस्थित घरमा चारघण्टा लामो भएको लन्चसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

भेटका बारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पार्टी एकताका विषयमा कुराकानी भएको बताउँदै कुराकानी सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिएका छन् ।

एकताका बारेमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै अब हुने छलफलले सहमति जुटाएर पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओली निवास बालकोटमा दुई नेताबीच शनिबार भएको वार्तामा भने आज आइतबार पुनः वान टु वान छलफल गरी सहमति गरेर आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएपनि समितिको बैठक भने आज बस्न सकेन ।

भोली सोमबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः वान टु वान निर्णायक छलफल गरी समितिको बैठक बस्ने तयारी भएको राससले जनाएको छ । पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पु¥याएर प्याकेजमै सहमति गर्ने तयारी भएको बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीका कार्यदिशाका बारेमा सहमति गरौँ भनेका स्रोतको दाबी छ । पार्टी एकताको सैद्धान्तिक विषयमा अझै केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।