‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना हुँदै

‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना हुँदै


नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा यही फागुन ९ गते ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिने भएको छ ।

मातृभाषाका कविताको उत्थान, संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले बर्सेनी आयोजना गरिँदै आएको कविता महोत्सवमा यस वर्ष देशभरिबाट ३६ भाषाका १०७ वटा कविताहरु प्राप्त भएको प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले बताए ।

प्राज्ञ मुकारुङका महोत्सवका लागि ३६ भाषाका १०७ वटा कविताहरु प्राप्त भएका थिए । जसमध्ये १८ भाषाबाट १÷१ वटा कविताहरु प्राप्त भएका थिए भने बाँकी अन्य भाषाबाट अलिक बढी कविता प्राप्त भएका थिए । प्राप्त कविताहरुमध्येबाट छनोट समितिले छनोट गरेका ४४ जना कविहरुले कविता वाचन गर्न पाउने छन् ।

कविता छनोटको लागि एक भाषा एक कविताको मापदण्ड निर्धारण गरिए पनि एउटै भाषाका ५ वटासम्मलाई १ कविता, ६ देखि १० वटासम्मलाई २ र १० वटादेखि माथिलाई ३ वटा कविता वाचन गर्न दिने कविता छनोट समितिका सदस्य पदम राईले जानकारी दिए । सो मापदण्डअनुसार तामाङ भाषाबाट ३, थारुबाट २, नेपाल भाषाबाट २, कुमालबाट २, अवधीबाट २, अठार मगर खामबाट २ र मैथिलीबाट २ कविताहरु छनोट गरिएको छ ।

कविता महोत्सव फागुन ९ गते बिहान ११ बजे प्रज्ञा भवनको डबलीमा शुरु हुने प्रतिष्ठानले जनाएको छ । कविता महोत्सव शुरु हुनुअघि विभिन्न जातजातिका सांस्कृतिक झाँकीले नगरपरिक्रमा गर्ने झाँकी व्यवस्थापन उपसमितिका संयोजक संजोग लाफा मगरले बताए ।