अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, नेपालमा यथावत

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, नेपालमा यथावत


इण्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको मूल्य घटाएको सूची पठाएपनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ । आईओसीले मूल्य बढाउँदा नेपालमा पनि मूल्य बढाउने निगमले भारतमा मूल्य घट्दा भने नेपालमा नघटाएको हो ।

निगमले अझै पाक्षिक रुपमा करोड रुपैयाँ बढी नोक्सान भएको जिकिर गर्दै मूल्य नघटाउने जनाएको छ । भारतमा विगत १० दिनदेखि क्रमिक रुपमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । इरानमा पेट्रोलियम पदार्थको उत्पादन बढ्ने भएपछि भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको हो । शुक्रबार ब्रेन्ट क्रुड आयलको मूल्य घटेर प्रतिव्यारेल ६४ दशमलव ३३ डलरमा झरेको छ ।

अघिल्लो महिना प्रतिव्यारेल ७१ डलर थियो । भारतमा पेट्रोलमा ८९ पैसा र डिजेलमा १ रुपैयाँ मूल्य घटेको छ । इण्डियन आयलले घटेको मूल्य पठाउँदा नेपालमा घट्ने र बढी पठाउँदा बढ्ने स्वचालित मूल्य प्रणाली लागु भएपनि आयल निगमले यसको पालनामा भने अटेरी गर्दै आएको छ । पेट्रोलियम पदार्थमा केही महिनादेखि निगम घाटामा गएको भन्दै मूल्य यथावत राखिएको निगम स्रोतले जानकारी दिएको छ ।

निगमले १५ दिनको अबधिमा निगमलाई १४ करोड ९२ लाख रुपैयाँ घाटा भएकोमा अहिले पेट्रोल र डिजेलको मूल्य घटेर आएकोले आगामी १५ दिनको अबधिमा ७ करोड १५ लाख रुपैयाँ मात्रै घाटा हुनेछ ।