सिद्धार्थनगरपालिकामा पानीमाथि विकासको लगानी !

सिद्धार्थनगरपालिकामा पानीमाथि विकासको लगानी !


रुपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगर पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । नगरभित्र बनेका सडकको स्तरोन्नति भइरहेका छन् । एकीकृत शहरी विकास आयोजनाअन्तर्गत एडिबीको आर्थिक सहयोगमा करिब ८३ करोडमा पहिलो चरणमा साढे १० किलोमिटर सडक पिच र सतह ढल निर्माण सम्पन्न भइसकेको र क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २ अर्ब ३८ करोडको लगानीमा थप २५ किलोमिटर सडक पिच नगरको स्तरोन्नति गर्ने काम भइरहेको छ ।

उक्त निर्माणकोे जिम्मा शर्मा एण्ड कम्पनीले लिएको छ । तर ठेकेदारको लापर्वाहीले निर्माणाधीन कार्य कच्चा भइरहेको छ । सो कम्पनीले नाला बनाउने काममा कमसल खालको काम गर्दै आएको छ । मसला बनाउँदा सिधै माटोमा राख्ने र नालाको काम गर्दा हिलो पानीमा ढलान गर्दै आएको छ ।

जमिनमुनिको काम गर्दागर्दै जो कोहीले देखे पनि काम सम्पन्न भएपछि कसैले देख्दैन, सम्बन्धित निकायले समयमै कामको अनुगमन नगर्दा दिगो टिकाउ काम हुन सकेको छैन । झट्ट हेर्दा एडिबिको लगानीले नगरको विकास भएको देखिन्छ तर त्यो ऋण लगानी हो । त्यसमाथि गुणस्तरहीन कार्य कसले ध्यान दिने सम्बन्धित निकायले ध्यान दिँदैनन् ।

सर्वसाधारण जनतालाई हिलोमा ढलान गरेको बारे त्यति जानकारी छैन, उनीहरु आफ्नो घर अगाडि नाला बनेकोमा खुशी छन् । तर के कस्तो काम भएको छ भन्ने उनीहरुलाई जानकारी छैन । ऋण लिइएको करोडौँ लगानी पानीमाथि भइरहँदा सरोकारवाला निकायको ध्यान नपुग्नु विडम्बनाको विषय हो ।

– पुनहरि बेल्बासे