नेपाल फर्केर काम गर्ने चाहना छ

नेपाल फर्केर काम गर्ने चाहना छ


अस्ट्रेलियामा बसोवास गर्ने राधिका पोखरेलको नाम विभिन्न सङ्घसंस्था तथा दुःख पाएका व्यक्तिहरूलाई सहयोग गर्ने व्यक्तिका रूपमा चर्चित छ । हालै सम्पन्न संसदीय निर्वाचनमा एमाले नेता लालबाबु पण्डितलाई स्वस्फुर्त रूपमा पाँच लाख रुपैयाँ चन्दा पठाएपछि स्वदेश र विदेशमा उहाँको थप चर्चा भएको थियो । प्रस्तुत छ, राधिका नेपाल आएको बेला यसै साता घटना र विचारले गरेको कुराकानी :

० तपाईंले लालबाबु पण्डितलाई चुनावका बेला आर्थिक सहयोग गर्नुभयो, मुलुकमा नेता त अरू पनि थिए, तर उहाँलाई नै सहयोग किन ?
– माननीय लालबाबु पण्डितसँग मेरो परिचय थिएन, तर उहाँ भ्रष्टाचार नगर्ने असल राजनीतिकर्मी हो भन्ने जानकारी थियो । चुनावका बेला उहाँलाई पैसाको अभाव भएको भन्ने कुरा पत्रपत्रिकामा पढेँ । त्यसपछि आधारभूत खर्चकै अभावमा उहाँजस्तो मान्छेले हार्न मिल्दैन भन्ने लाग्यो । आफूले के गर्न सक्छु भनेर विराटनगरमा साथीहरूसँग सल्लाह गरेँ । मोरङका पत्रकारहरूसँग पनि मेरो चिनजान थियो । नारायण पोखरेल दाइसँग सल्लाह गरेँ । पछि पत्रकार सम्मेलन नै गरेर पाँच लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेँ । उहाँजस्तो इमानदार व्यक्तिलाई पारदर्शी तवरले सहयोग गर्नुपर्छ भनेर पत्रकार सम्मेलन गर्न भनेकी हुँ ।

० अहिले तपाईं नेपाल आएपछि उहाँलाई भेट्नुभयो त ?
– भेटेँ नि । म विराटनगर गएका बेला फूलमाला लिएर उहाँ एयरपोर्टमै लिन आउनुभयो । मेरो मन त एकछिन ढक्कै फुल्यो । उहाँजस्तो सत्जन र सरल राजनीतिकर्मीलाई सानो सहयोग गर्न पाउँदा मलाई धेरै गर्व लागेको छ ।

० तपाईं विदेश बस्ने मान्छे, लालबाबु सामान्य प्रशासनमन्त्री हुँदा डीभी, पीआरको विरोध मात्र गर्नुभएन नीति नै बनाउनुभयो । फेरि तपाईंले त उहाँलाई नै सहयोग गर्नुभयो ?
– उहाँले व्यक्तिको विरोध गर्नुभएको होइन, सिस्टमको विरोध गरेको हो । कुनै पनि सही विषयमा सिस्टम बसाउने मान्छेको विरोध होइन सराहना गर्नुपर्छ ।

० तपाईंले अहिलेसम्म नेपालमा कति सहयोग गर्नुभयो ?
– छात्रवृत्ति, स्वास्थ्योपचार, पुस्तकालय आदि गरेर पौने दुई करोड सहयोग गरेँ । सकेको अझै सहयोग गर्छु ।

० तपाईं अस्ट्रेलिया केका लागि कहिले जानुभएको ?
– सन् २००७ मा गएकी । त्यसअघि यहाँ राजनीतिमा संलग्न थिएँ । विद्यार्थीकालदेखि नै अनेरास्ववियुसँग सम्बद्ध थिएँ । काठमाडौं आएपछि तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चमा सक्रिय भएँ । रेडियो नेपालमा गीत गाउने, नाटक खेल्ने गर्थेँ । राधाकृष्ण मैनाली सूचना तथा सञ्चारमन्त्री हुँदा रेडियो नेपालको परिवेश कार्यक्रममा पनि काम गरेँ । पछि अध्ययनको सिलसिलामा अन्य विद्यार्थीजस्तै प्रक्रिया पूरा गरेर अस्ट्रेलिया गएकी हुँ ।

० पैसा त धेरै कमाउनुहुन्छ जस्तो छ, के काम गर्नुहुन्छ ?
– घर भाडामा लिएर होस्टल चलाउँछु । मैले गर्ने गरेको सहयोग धेरै मिहिनेतको कमाइ हो । बिहानदेखि बेलुकासम्म म आफँै खटिएर काम गर्छु । भाँडा माझ्ने, भुइँ पुछ्नेजस्ता काम पनि म आफैँ गर्छु । आफँैले दुःख गरेर सरकारलाई कर तिरेर आर्जन गरेको कमाइ हो । इमानदारीपूर्वक गरेको कमाइ भएको कारणले होला आजसम्म मैले सहयोगका लागि दिएको रकम दुरुपयोग भएको छैन ।

० पहिलादेखि राजनीतिमा हुनुहुँदो रहेछ, राजनीतिक अपेक्षा त पक्कै होला नि ?
– पटक्कै छैन । एकजना चिनजानका राजनीतिकर्मीले केही वर्षअघि फोन गरेर तपार्इं अब अस्ट्रेलियाका लागि नेपालको राजदूत बन्नुपर्छ, वातावरण हामी बनाउँछौँ भन्नुभो । मैले म सङ्लो पानीमा माछा मारिरहेकी छु, धमिलो पानीमा किन धकेल्नुहुन्छ भनेँ । मैले सहयोग गर्दा पार्टी होइन आवश्यकता हेर्ने गरेकी छु । कुनै राजनीतिक महत्वाकाङ्क्षाले नभई विशुद्ध सेवाभावनाले गरेकी हुँ । कुनै राजनीतिक इच्छा, आकाङ्क्षा र अपेक्षा छैन । स्वस्थ रहुँ, काम गरेर सेवा गरिरहन सकुँ भन्ने छ ।

० अस्ट्रेलिया कति बस्नुहुन्छ ?
– धरै बस्दिनँ, केही समय व्यवसाय गरेर नेपाल नै फर्कने हो । बरु नेपाल आएर गर्नका लागि चाहिँ मसँग भिजन छ । यस्तो भिजन जसले मलाई बारम्बार घोचिरहन्छ । म कुमारी आमा, लिभिङ टुगेदरमा रहेर जन्मिएका बच्चाहरूको भविष्य बनाउन सक्ने गरी केही गर्न चाहन्छु । त्यस्तो अवस्थामा जन्मिएका बच्चाहरूले दुःख पाएका छन् । कति त जन्मँदैमा मारिन्छन् । उनीहरूका लागि व्यावहारिक शिक्षासहितको विद्यालय र होस्टल बनाउन चाहन्छु । कति सरकारी जग्गा खाली छ । त्यस्तो जग्गा प्राप्त भए वृद्धाश्रम, विद्यालय र होस्टल बनाउने इच्छा छ । सरकारी जग्गामा भएपछि अन्ततः त्यो व्यक्तिको नभई सरकारकै हुन्छ । यो सपनालाई पूरा गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

० तपाईंलाई यस्तो सहयोगी भावना कहाँबाट आयो ?
– विदेश बसेपछि देशको धेरै माया हुँदोरहेछ । आफू उता भए पनि आफू हुर्किएका डाँडापाखा, भीर–पहरा, पढेको स्कुल, हिँडेका बाटाहरू आँखाभरि आउँछन् । भौतिक कुरासँगै अभाव र दुःखका कुरा पनि आउँछन् । ठाउँमा छु, गर्दा हुन्छ, किन सहयोग नगर्ने जस्तो लाग्छ । समाजसेवाले सन्तुष्टि धेरै दिँदोरहेछ । यसपटक यहाँ आउँदा मलाई जसरी विभिन्न ठाउँमा सम्मान गरियो, आँखा आँसुले भरिए । आफू लाउने–खाने मात्रै जिन्दगी के जिन्दगी जस्तो लाग्छ मलाई । बाँचुञ्जेल केही न केही गरिरहनेछु ।