नजिकबाट गौरवशमशेर

नजिकबाट गौरवशमशेर


लामो सैनिक सेवाको अनुभव, संस्थाप्रतिको समर्पण, साधारण व्यवहार, इमानदार एवम् आप्नो उत्कृष्ट पेसागत ज्ञानको प्रतिफलस्वरूप प्रधानसेनापति महारथी गौरवशमशेर जबरा हाल नेपाली सेनाको सर्वोच्च स्थानमा हुनुहुन्छ । महारथी गौरवको जन्म स्व. उपरथी आदित्यशमशेर जंगबहादुर राणा तथा सुनिता राणाका सुपुत्रको रूपमा ०१२ साल मङ्सिर २७ गते काठमाडौंको बबरमहलमा भएको हो । आफ्नो पिताको पदचिह्न पछ्याउँदै बेलायतको स्यान्डहस्र्टस्थित रोयल मिलिटरी एकेडेमीबाट अधिकृत क्याडेट तालिम हासिल गर्नुभएका उहाँले ०३०/११/२५ मा श्री पुरानो गोरख गणको सहायक सेनानीको रूपमा नेपाली सेनामा प्रवेश गर्नुभएको थियो ।
संयुक्त राज्य अमेरिकाको कमान्ड एन्ड जनरल स्टाफ कलेज, फोर्ट लेवनओर्थबाट कमान्ड तथा जनरल स्टाफ तालिम गर्नुका साथै पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीबाट नेसनल डिफेन्स कोर्स पूरा गर्नुभएका महारथी राणाले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक र क्वायद ए आजम विश्वविद्यालय पाकिस्तानबाट प्रतिरक्षा एवम् सामरिक अध्ययन विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।
श्री तारा दल गुल्म (हाल गण) को गुल्मपति र मगर जातिहरूको बाहुल्य रहेको पल्टन श्री पुरानो गोरख गणको गणपति भई सफलतापूर्वक कमान्ड गर्नुभएका महारथी राणाले नेपाली सैनिक प्रतिष्ठानको कमान्डान्टको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । प्रतिविद्रोह कारबाही सञ्चालनमा नेपाली सेना परिचालित भएको चुनौतीपूर्ण अवस्थामा श्री नं. ५ बाहिनी र श्री नं. ९ बाहिनीको बाहिनीपति तथा पश्चिमपृतनाको पृतनापति नियुक्तिमा रही उहाँले क्रमश: बाहिनी एवम् पृतनास्तरको कमान्ड पूरा गर्नुभएको छ । उहाँसँग विभिन्न स्टाफ नियुक्तिहरूमा रही कार्य गरेको पर्याप्त अनुभव छ । भर्ना छनोट, अनुसन्धान र विस्तार एवम् व्यवस्था तथा नीति–निर्देशनालयहरूको निर्देशक रहनुभएका महारथी श्री राणाले उपरथी दर्जामा रहँदा व्यवस्था तथा युद्धकार्य महानिर्देशक एवम् निरीक्षणाधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो । व्यवस्था तथा युद्धकार्य महानिर्देशकको रूपमा उहाँले कोसीनदीमा आएको बाढीका कारण सिर्जित समस्याको दौरान सञ्चालित उद्धार तथा राहत एवम् व्यवस्थापन कारबाहीको नेतृत्व गर्नुभएको थियो । रथी दर्जामा पदोन्नतिसँगै बलाध्यक्षमा नियुक्त भई जिम्मेवारी निर्वाह गर्नुभएका महारथी श्री राणाले ०६९ जेठ २२ गतेदेखि बलाधिकृतको जिम्मेवारी सम्हाल्नुभयो ।
०६९ साउन २६ गतेदेखि का.मु. प्रधानसेनापतिको जिम्मेवारी प्राप्त गर्नुभएका राणा ०६९ भदौ २४ गते महारथी दर्जामा पदोन्नति भई प्रधानसेनापतिमा नियुक्त हुनुभएको हो । महारथी राणा सुप्रबल जनसेवाश्री, विख्यात त्रिशक्तिपट्ट, सुप्रबल गोरखा दक्षिणबाहु, दैवीप्रकोप पीडितोद्धार पदक, दुर्गम सेवा पदक, परदेश सेवा पदक, यूएन मेडललगायतका मानपदवी, अलङ्कार तथा पदकहरूबाट विभूषित हुनुहुन्छ ।
सैनिक इतिहासको अध्ययनमा विशेष रुचि राख्नुहुने महारथी श्री राणा पक्षीहरूको गतिविधि अवलोकन गर्न मन पराउनुहुन्छ । गल्फ खेल्नु र माउन्टेन बाइकिङ गर्नु उहाँको मनपर्ने अतिरिक्त क्रियाकलापहरू हुन् । पेसा र संस्थाप्रतिको निस्वार्थ समर्पणलाई आफ्नो जीवनको आदर्श ठान्नुहुने महारथी राणा आफ्नो पिता र आफू स्वयम्ले कमान्ड गर्नुभएको श्री पुरानो गोरख गणको विशेष अधिकृत (कर्णेल कमान्डान्ट) हुनुहुन्छ ।
महारथी श्री राणाकी धर्मपत्नी श्रीमती रोहिणी राणा हुनुहुन्छ । उहाँका दुई छोरी, दुई नाति र एक नातिनी छन् । (स्रोत : नेपाली सेना)