जागिरको लडाइँ -श्रीविक्रम भण्डारी

जागिरको लडाइँ -श्रीविक्रम भण्डारी


खेलकुदकै अस्तित्व सङ्कटमा
गत सातादेखि खेलकुदमा लागेको ताला अहिलेसम्म खुल्न सकेको छैन । सहायक प्रशिक्षक, करार र मासिक ज्यालादारी कर्मचारीहरूले विभिन्न माग राख्दै राष्ट्रिय खेलकुद परिषद्मा ताला लगाएका हुन् । लामो समयसम्म पनि आफ्नो मागप्रति कुनै सहमति र कार्यान्वयन नभएपछि परिषद्मा बाध्यतावश ताला गराउनुपरेको आन्दोलनमा उत्रिएकाहरूले बताएका छन् । सहायक प्रशिक्षक, तालिमप्राप्त प्रशिक्षकलाई राखेपको प्रशिक्षकमा नियुक्ति गर्नुपर्ने र करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्नुपर्ने माग राख्दै उनीहरूले परिषद्मा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यही माग लिएर पहिले आन्दोलन गरिसकेका ती कर्मचारीहरूले राखेपले यो विषयमा अहिलेसम्म गम्भीररूपमा कुनै प्रक्रिया अगाडि नढाएकोले तालाबन्दी गर्नुपरेेको सुनाएका छन् ।
करार र मासिक ज्यालादारीका कर्मचारीले परिषद्मा अनिश्चितकालीन तालाबन्दी गरेपछि परिषद्को दैनिक कार्य निकै प्रभावित हुन पुगेको छ । परिषद्का कर्मचारी मूलढोकामा लागेको तालालाई हेर्दै खेलाडी चोकमा चियाको चुस्की लिँदै दिन काट्न बाध्य भएका छन् । ती कर्मचारीहरू यो विषयमा एक शब्द पनि उच्चारण गर्न चाहँदैनन् । खेलकुदको यस्तो हरिविजोग उनीहरूका लागि चिन्ताको विषय बने पनि उनीहरू रमतेभन्दा अर्को बन्न नसक्ने स्थितिको सिर्जना भएको छ । खेलकुदमा के उत्पात हुन लागेको हो त्यो उनीहरूका लागि पीडाको विषय बनेको छ । जिम्मेवार पक्ष र तालाबन्दी गर्नेका बीचमा विगतमा के सम्झौता भएको थियो त्यसको परिणाम अहिले सम्पूर्ण कर्मचारीहरूले भोग्नुपरेको छ । परिषद्मा देखिएको यो दृश्यले काम गर्ने कर्मचारीलाई चिन्तित बनाए पनि काम चोर र राजनीति गर्नेहरूका लागि भने निकै फलदायी सावित भएको छ ।
७ सय ५१ जनालाई स्थायी नियुक्ति गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरूले अहिले खेलकुदमा के गर्न खोजेका हुन् त्यो बुझ्न सकिएको छैन । विभिन्न कारणले गर्दा खेलकुदको अस्तित्व नै सङ्कटमा परेको बेलामा उनीहरूको यो माग पूरा हुने कुनै सङ्केत दखिँदैन । यो कुरा स्वयम् अँन्दोलनमा उत्रिएकाहरूले समेत राम्ररी बुझेका र जानेका छन् । यति हँुदाहुँदै पनि उनीहरू किन र कसको उक्साहटमा यस्तो कार्य गरिरहेका छन् त्यो चिन्ताको विषय बनेको छ । केही सहायक प्रशिक्षकहरूलाई राखेपमा नियुक्ति गर्ने सम्भावना देखिए पनि यो आन्दोलनले गर्दा उनीहरू पनि बलिको बोका बन्न पुगेका छन् । परिषद्मा स्थायी दरबन्दीको कोटा एक हजारजनाको भए पनि अहिले लगभग आठ सयजना कर्मचारी छन् । अर्थ मन्त्रालयले ती कर्मचारीहरूको समेत छाँटकाँट गर्न भनिरहेको अवस्थामा अन्य कर्मचारी थप्न सकिने अवस्था नै छैन । तर, विडम्बना, यो कुरा कसले र कहिले बुझ्ने अहिले अहम् प्रश्न बनेको छ ।
सहायक प्रशिक्षक, करार र ज्यालादारीको यो तालाबन्दीलाई परिषद्का एक पदाधिकारीले राजनीतिक प्रतिशोधको रूपमा लिएका छन् । एकले अर्काको खुटि्टा तान्ने प्रवृत्तिमा सधैं प्रयासरत रहेका ती पदाधिकारीको घिनौलो खेलले गर्दा आजको स्थिति उत्पन्न भएको उनले बताए । सल्लाह, सहमति र छानबिनका आधारमा केहीलाई परिषद्मा नियुक्ति गर्न सकिने अवस्था हँुदाहँुदै पनि आफ्नो दुनो सोझ्याउन अर्थात् राजनीतिक स्वार्थ पूरा गर्न खेलकुदमा राजनीति गरेका कारणले जागिर पाउने कर्मचारीसमेत उक्त अवसरबाट चुकेको उनले खुलासा गरेका थिए । राजनीतिक आस्था राख्नेहरूलाई बिनाकारण उक्साएर खेलकुदमा अन्योलता बढाउने कार्यमा दत्तचित्त भएर लागेका ती पदाधिकारीले खेलकुदको मात्रै नभई आन्दोलनरत कर्मचारीहरूको हितमा समेत कार्य नगरेको उनले दाबी गरेका छन् । ती पदाधिकारीले अहिले आन्दोलनरत पक्षले पनि यो कुरा राम्रोसँग बुझ्नुपर्ने र आफ्नो र खेलकुदको भविष्यका लागि सोच्नुपर्ने बताए । उनले परिषद्ले पूरा गर्नै नसक्ने माग राखेर आन्दोलन गर्नुभन्दा वास्तविक धरातल के हो त्यसमा टेकेर सोच्दा सबैका लागि कल्याण हुने बताए ।
राष्ट्रिय करार कर्मचारी सङ्घर्ष समितिका अध्यक्ष काजीमान श्रेष्ठले सम्बन्धित निकाय राखेपले आफ्ना मागहरूप्रति बेवास्ता गरेका कारणले आन्दोलनमा उत्रिनुपरेको बताए । त्यस्तै राष्ट्रिय स्वयम्सेवक सहायक प्रशिक्षक सङ्घर्ष समितिका संयोजक रामकुमार थारूले लामो समयसम्म पनि सहमति कार्यान्वयन नभएपछि तालाबन्दी गर्नुपरेको बताए । उनीहरूले सम्पूर्ण सहायक प्रशिक्षण लिएका प्रशिक्षकहरूलाई देशका हरेक कुनामा पठाएर समग्र खेलकुदको विकासमा लगाउन माग गरेको स्पष्ट पारेका छन् । उनीहरूको यो माग ती कर्मचारीहरूका लागि जायज भए पनि चार महिनासम्म परिषद्मा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसक्ने राष्ट्रिय खेलकुद परिषद्का लागि भने कति जायज छ- त्यो बुझ्नुपर्ने आवश्यक भएको छ । सात सयजनाको डफ्फालाई एकैचोटि खेलकुदमा भित्र्याउँदा खेलकुदको अवस्था के होला त्यो विषयमा आन्दोलनरत पक्षले गहन रूपमा सोच्नुपर्ने बेला भइसकेको छ । राखेपले अहिले यो मागलाई सम्बोधन गर्दै आन्दोलनरत कर्मचारीहरूको मागबमोजिम नै नियुक्ति दिए पनि तलब खुवाउन सकेन भने के गर्ने – त्यो विषयमा गम्भीर हुनु आवश्यक भइसकेको छ ।
राखेपलाई आन्दोलन गरेर चेपुवा पार्नुभन्दा अर्थ मन्त्रालयको यो विषयमा के राय छ त्यो बुझ्दा केही कुरा अवश्य र्छलङ्ग हुनेछ । राखेपले विज्ञापन प्रकाशित गरेर कर्मचारीको माग गर्नुअघि उसको हैसियत के हो – त्यो बुझ्नुपर्ने भएको छ । राखेपमा असम्भव कुराको माग राख्दै खेलकुदलाई पिँजडामा थुन्नुभन्दा यतिबेला विवेक प्रयोग गर्ने बेला भएको छ । गर्नै नसकिने माग कसैले पूरा गर्न नसक्ने भएकोले माग राख्दा पनि सुहाउँदो र हितकारी राख्नुपर्छ । सात सयजनालाई नियुक्ति गर्नुपर्ने माग आफैंमा हास्यास्पद भएकोले यो हठलाई छोडेर कसरी ती प्रशिक्षकको हित हुन्छ त्यसमा लाग्दा बेस हुन्छ । खेलकुदमा तालाबन्दी गरेर समस्याको समाधान नहुने भएकोलेे पुनः सम्बन्धित निकाय खेलकुद मन्त्रालय र राखेपसँग छलछल गरी एउटा निर्णयमा पुग्दा सबैका लागि उचित देखिन्छ । वर्तमान अवस्थामा उठाएका मागहरू एक्लो राखेपले पूरा गर्न नसक्ने र त्यसका लागि सरकार नै अघि बढ्नुपर्ने भएकोले सरकारी निर्णय गराउनु सबैभन्दा उचित देखिन्छ । जुन अहिलेको आन्दोलनको सही समाधान पनि हो ।

लीको सफलता, करोडौँको आँसु छचल्कियो
विश्व खेलकुदमै चीनको दबदबा रहेको अवस्थामा चिनियाँ खेलाडीहरूले उत्कृष्ट पर््रदर्शन गर्नु सामान्य कुरा हो । एसियाडदेखि ओलम्पिकसम्म राज गरिसकेको चीनले अब ग्रान्डस्लाम टेनिस र विश्वकप फुटबलमाथि आँखा गाडेको छ । हालै सम्पन्न भएको वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा चीनकी ली ना महिला एकलतर्फ फाइनलमा पुगेर नौलो कीर्तिमान बनाउन सफल भएकी छिन् । ग्रान्डस्लामको फाइनलमा स्थान बनाउने पहिलो एसियाली खेलाडी बनेपछि अहिले उनको चर्चाले शिखर छोएको छ । लीलाई अहिले चीनको गौरवको रूपमा प्रचार गरिएको छ । आखिर लीको पर््रदर्शन पनि त्यस्तै रहेको छ । उनले सेमिफाइनलमा विश्व नम्बर एक खेलाडी कारोलिन वोज्नायाकीलाई हराएर उक्त उपलब्धि हासिल गरेकी थिइन् ।
ली नाको सफलताले शिखर चुमेको अवस्थामा लीले आफ्नो उत्कृष्ट पर््रदर्शनको राज हालै खोलेकी छिन् । लीले यो सबै आफ्नो पतिको माया र निर्देशनले भएको बताएकी छिन् । केही वर्ष पहिले महत्त्वपूर्ण प्रतियोगितामा पराजय व्यहोरेपछि ली निकै विक्षिप्त बन्दै गएकी थिइन् । मिहिनेतको फल पाउने बेलामा खोएको आत्मविश्वासले उनलाई निकै पिरोलेको थियो । त्यसपछि आत्मविश्वास गुमाएकी लीलाई टेनिसमा सकुशल अवतरण उनका पति जियाङ सान लीले गरेका थिए । घरदेखि कोर्टसम्म सम्हालेका अर्थात् सहयोग गरेका जियाङ अहिले लीको पर््रदर्शनबाट निकै प्रसन्न भएका छन् । जियाङकै प्रशिक्षणमा टेनिसको खुड्किलो चढिरहेकी लीले यसअघि पनि दुईपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेर आफू उत्कृष्ट खेलाडी भएको सावित गरिसकेकी छिन् ।
खेलाडीलाई खेलप्रति लगाव बढाउन रोमान्सले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुराको उदारहण अहिले ली बनेकी छिन् । पतिको माया र मार्ग पर््रदर्शनसँगै उनको प्रेम पनि मौलाएको छ । यही प्रेमलाई साकार गर्न र अमर तुल्याउन यो दम्पती अहिलेे लागिपरेको छ । रोमान्ससँगै फल्न-फुल्न थालेको उनीहरूको मायाले अहिले टेनिस कोर्टमा छनक देखाउन थालेको छ । छोटो समयमै ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेर ली पतिप्यारलाई उत्कृष्ट पुरस्कार दिने कोसिसमा लागेकी छिन् । यसमा जियाङले उनलाई चौबीसै घन्टा साथ दिइरहेका छन् । उनीहरूको यो मिहिनेतले अहिले व्यक्तिगत रूपमा मात्र नभई राष्ट्रव्यापी रूपमा चर्चा पाएको छ । करोडौँ जनताले उनीहरूको सफलताको कामना गरेका छन् ।
ली अस्ट्रेलियन ओपनको फाइनलमा पुगेपछि चीनका करोडौँ जनताले उनको फाइनल खेल हेरेका थिए । फाइनलमा लीको भिडन्त बेल्जियमकी किम क्लाइस्टर्जसँग भएको थियो । सदाझैं उत्कृष्ट र्फममा रहेकी ली फाइनलको पहिलो सेट सहजै जित्दै पहिलोपटक उपाधि जित्नेे विश्वासमा थिइन् । तर, अनुभवी खेलाडी किमका अगाडि लीको केही चलेन । किमले बाँकी दुई सेटमा उत्कृष्ट पर््रदर्शन गर्दै लीको ग्रान्डस्ल्ााम जित्ने सपनालाई चकनाचुर पारिदिइन् । यसरी उपाधिको नजिक पुगेर हात धुनुपर्दा लीमा निकै निराशा छाएको छ । पराजयपछि लीले आफूले चिनियाँ जनताको इच्छा पूरा गर्न नसकेको भन्दै माफी मागेकी थिइन् ।
लीको खेल प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हेरिरहेका चीनका जनताले उनलाई राष्ट्रको गौरवको संज्ञा दिँदै उनको सफलतामा खुसीको आँसु झार्न लालायित भएको बताएका छन् । हामी जितको एक कदम मात्र टाढा रह्यौँ, केही छैन, अर्को वर्ष जित्ने छौँ । जित मात्रै सबैथोक नभएको भन्दै लीको सफलताले चीनले टेनिसको विकासमा थप आयाम थपेको बताएका थिए । लीको सफलतासँगै अब टेनिसको कमान सम्हाल्ने पालो पनि केही वर्षभित्रै चीनको नआउला भन्न सकिँदैन । त्यो दिन चीनका लागि साँच्चिकै अविष्मणीय दिन हुने कुरामा दुईमत नहोला ।

महिला तथा पुरुष रेस्लिङ हुने
नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ र गोल्डनसिने इन्टरटेनर्सको संयुक्त आयोजनामा आउँदो फागुन १४ गते दशरथ रंगशाला र फागुन २० गते पोखरा रंगशालामा प्रथम अन्तर्राष्ट्रिय महिला तथा पुरुष रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा अमेरिकाका द ग्रेट मलाकी, बिग भिटो र द ग्रेट चेनी आउँदै छन् भने जापानबाट वाकाताका, सिन्जुकी र फुगोफुगो आउन लागेको आयोजक समितिले बताएको छ । त्यस्तै अन्य प्रतिस्पर्धी खेलाडीमा क्यानडाका मेलिसा कोएट्स, इंग्ल्यान्डका फेथ्ली हाइन, अस्ट्रेलियाकी हार्टली ज्याक ज्याक्सन, डेनियल बिभमोन्टो, स्पेनका काइरस ब्रुक्स अष्ट्रियाका हार्डहाडिल -होमोगस) र नेपालका द हिमालयन टाइगर्स रहेका छन् । प्रतियोगिताको म्यानेजरको रूपमा कार्मेला धान्सी रहने छन् ।
नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर आयोजन गरिन लागेको उक्त प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष नरेन्द्रमान श्रेष्ठको संयोजकत्वमा एक सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ । जसमा उपाध्यक्षमा थरेन्द्रराज अधिकारी, राजीव महर्जन, महासचिवमा महेश नेवा, कोषाध्यक्षमा रविन मल्ल र सहकोषाध्यक्षमा यादव निरौला रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट ८४ लाख रहेको आयोजक समितिले बताएको छ ।
प्रतियोगिताको बारेमा जानकारी दिँदै सङ्घका अध्यक्ष नरेन्द्र श्रेष्ठले आफूहरूले यो रेस्लिङ प्रतियोगिता खेलाडी र प्रशिक्षकको भविष्यलाई ख्याल गरेर गर्न लागेको बताए । प्रतियोगिताबाट बचेको रकम कोषको सहयोगका लागि जम्मा गर्ने र आपतविपतमा परेका प्रशिक्षक र खेलाडीलाई सहयोग गर्ने बताए । उनले हालै एकजना बक्सरको मृत्यु हुँदा जस्तो स्थितिको सिर्जना भयो भविष्य त्यस्तो हुन नदिन आफूले सङ्घ खोलेको पनि स्पष्ट पारे । सो अवसरमा नेपालका चर्चित रेस्लर द हिमालयन टाइगरले यो रेस्लिङ प्रतियोगिता नभई शो मात्रैै हुने जानकारी गराएका थिए । उनले नेपालमा पहिलेपटक यस्तो महत्त्वपूर्ण प्रतियोगिताको आयोजना हुन गइरहेको बताउँदै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेका थिए । त्यस्तै सङ्घका महासचिव महेश नेवाले लगभग एक करोड ७० लाख उठाउने लक्ष्य लिएको बताउँदै यसको बारेमा प्रायोजक र सहयोगकर्ताहरूसँग छलफल भइरहेको बताए ।

पाकिस्तानका तीन खेलाडी प्रतिबन्धित
खेल मिलेमतोको आरोपमा मुछिएका तीन पाकिस्तानी क्रिकेट खेलाडीलाई क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रतिबन्धित गरेको छ । आईसीसीले पूर्वकप्तान सलमान वटलाई १०, तीव्र बलर मोहम्मद आसिफलाई सात र मोहम्मद आमिरलाई पाँच वर्षको प्रतिबन्द लगाएको हो । यी सबै खेलाडीलाई स्पट फिक्सिङको आधारमा आईसीसीले प्रतिबन्ध लगाएको हो । माइकल बेल्लेफको नेतृत्वमा रहेको अदालतले नौ घन्टाको सुनुवाइपछि उक्त निर्णय गरेको हो । उनीहरूलाई लर्डसमा भएको इंग्ल्यान्ड र पाकिस्तानबीच भएको टेस्टमा आईसीसीको भ्रष्टाचारविरोधी आचारसंहिताको दफा २ लाई उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।

दीपकले पाए हजार डलर
ग्वान्झाउ एसियाडमा नेपाललाई एक मात्र कास्य पदक दिलाएका दीपक महर्जन पुनः सम्मानित भएका छन् । उनलाई यसपटक यूएस नेपाल स्पोर्टस् एन्ड कल्चर डेभलभमेन्ट इन्कपोरेसनले सम्मान गरेको हो । नेपाल करातेेका पूर्वप्रमुख प्रशिक्षक थानेश्वर राईको नेतृत्वमा दुई वर्षअघि अमेरिकामा गठन भएको उक्त संस्थाले दीपकलाई एक हजार डलरसहित कदरपत्रले सम्मान गरेको हो । सो अवसरमा राईले नेपाली खेलकुद र खेलाडीलाई प्रोत्साहित गर्न अमेरिकामा रहेका विभिन्न खेलका खेलाडी मिलेर यो संस्था गठन गरिएको बताएका थिए । दीपकलाई राई र राष्ट्रिय योजना आयोगका सदस्य प्रेम कुँवरले सम्मानित गरेका थिए । सो अवसरमा कुँवरले सरकारले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सुधार आउने बताए । त्यस्तै नेपाल बक्सिङ सङ्घका अध्यक्ष रविराज थापाले विदेशमा बसेर पनि नेपाली खेलाडीलाई माया गरेकोमा आभार व्यक्त गरेका थिए ।