विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !

विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !


राष्ट्रपति पदमा धेरै नेताले आँखा लगाएको भए पनि सो पदमा वर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने भएकी छिन् । वाम गठबन्धनका नेताहरू झलनाथ खनाल, रामबहादुर थापा बादल, अमिक शेरचन र सुवास नेम्वाङलगायतले राष्ट्रपति पदमा आँखा लगाउँदै आएका भए पनि अन्ततः भण्डारी नै राष्ट्रपति हुने स्थिति बनेको छ ।

०७२ मा संविधान जारी भएपछि विद्या भण्डारी राष्ट्रपति बनेको दुई वर्ष मात्र पूरा भएको छ र यस अवधिमा उनको भूमिकाको उच्च मूल्याङ्कन पनि हुँदै आएको छ । भण्डारीलाई पुनः राष्ट्रपति बनाउन केपी शर्मा ओली र प्रचण्ड दुवै नेता एकमत भएका छन् । नारायणकाजी श्रेष्ठलगायतका नेताले पनि विद्या भण्डारीलाई नै राष्ट्रपति बनाइनुपर्छ भनी ‘लबिङ’ गरेपछि परिस्थिति भण्डारीको पक्षमा अनुकूल हुँदै गएको बताइन्छ ।

राष्ट्रपतिमा विद्या भण्डारीको चयन हुने स्थिति देखा परेकोले सुवास नेवाङ सकसमा परेका छन् । नेपाललाई धर्मनिरपेक्ष बनाइएपछि राष्ट्रपतिको व्यवहार पनि धर्मनिरपेक्ष तुल्याउन केही अदृश्य शक्तिकेन्द्रले सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने चाल चलेको महसुस स्वयम् केपी ओलीले समेत गरेको बताइन्छ । सभामुख पदमा समेत माओवादीको दाबी रहेपछि नेम्वाङका निम्ति उपयुक्त जिम्मेवारीको खोजी भइरहेको बुझिएको छ ।

विद्या भण्डारी राष्ट्रपतिमा दोहोरिने देखिएपछि झलनाथ खनाल पनि निराश हुन पुगेका छन् । राष्ट्रपतिका दाबेदार रामबहादुर थापा बादललाई राष्ट्रिय सभाको अध्यक्ष बनाइने भएको छ भने राष्ट्रपतिकै अर्का दाबेदार अमिक शेरचनलाई उपराष्ट्रपति बनाउन एकथरीले सक्रियता दर्शाएका छन् । तर, उपराष्ट्रपतिमा नन्दकिशोर पुन पनि दोहोरिन चाहेका छन् । नन्दकिशोरलाई उपराष्ट्रपति दोहो¥याइएमा शेरचनलाई के–कस्तो जिम्मेवारी उपलब्ध गराइने हो सो स्पष्ट हुन सकेको छैन ।