यस्तो छ प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेलको चिनारी

यस्तो छ प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेलको चिनारी


प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आज दिउँसो पद तथा गोपनियताको सपथ लिएका मुख्यमन्त्री पोखरेलले भोली बिहीबार सानो आकारको मन्त्रिमण्डल गठन गर्ने जानकारी दिइएको छ ।

को हुन् मुख्यमन्त्री पोखरेल ?

प्रदेश नं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल विसं २०१९ फागुन १५ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १९, बिजौरीमा केशवराज शर्मा र तिलका देवीको कान्छो सन्तानका रुपमा जन्मिएका हुन् । हाल एमाले स्थायी कमिटी सदस्य रहेका मुख्यमन्त्री पोखरेलकी श्रीमती एमाले नेत्री सुजिता शाक्य पनि हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुन् । यो दम्पत्तिको दुई छोरी छन् ।

विद्यार्थीकाल देखि नै राजनीतिमा प्रवेश गरेका मुख्यमन्त्री पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्य कुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हकअधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । राससकर्मी भरत केसीका अनुसार मुख्यमन्त्री पोखरेलले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी वहन गरेका छन् ।

जननेता स्व. मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका थिए । विसं २०३६ मा भएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौँको मोर्चाबाट आन्दोलनको नेतृत्व गरेका थिए ।

हाल पार्टीमा पोखरेलले पार्टी स्कूल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहेका पोखरेल पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा निकै सक्रिय छन् । एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक मानिन्छन् ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा पार्टीमा संविधानसभाको प्रस्ताव लैजाने उनी नै पहिलो व्यक्ति हुन् ।

अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उच्चस्तरको वैचारिक क्षमता र कुशल वक्ताको रुपमा चिनिएका उनी संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्छन् ।

राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेतामध्ये मानिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मानिन्छन् ।

आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात् गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलतापछि अब मुलुक आर्थिक–सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नु पर्दछ भन्ने उनी ५ नं प्रदेशको योजनावद्ध विकास गरेर ‘मिनि नेपाल’ बनाउन सकिने धारणा राख्छन् ।

द्दातव्य छ, विगतमा पार्टी सचिवको रुपमा काम गरेका पोखरेलले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् भने उनका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचना प्रकाशित छन् ।