विष्टको ‘बहुउद्देश्यीय भ्रमण’

विष्टको ‘बहुउद्देश्यीय भ्रमण’


– श्रीविक्रम भण्डारी

यतिबेला राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट बहुउद्देश्यीय भ्रमणको शिलशिलामा सुदुरपश्चिम र मध्यपश्चिामाञ्चलका दुर्गम जिल्लाहरूमा पुुगेका छन् । तराईका जिल्लामा खेल विकासको सम्भावना र भौतिक पूर्वाधारको अवलोकन र अनुगमन गर्दै सदस्यसचिव विष्ट पहाडी र हिमाली जिल्लातर्फ लागेका हुन् । यतिबेला उनी हिमाली जिल्ला जुुम्ला पुगेका छन् । अब मुगु हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

सुनसरीबाट भ्रमणमा निस्केका बिष्ट अहिले कर्णाली अञ्चलको दुर्गम अनि विकट जिल्ला जुम्ला पुगेका छन् । जुम्ला पुग्नुअघि विष्टले मकवानपुर, पाल्पा, कपिलवस्तु, नवलपरासी, कास्की, नेपालगञ्ज, बर्दिया, दाङ, कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, जुम्ला, कालिकोट, अछाम र बाजुराको जिल्लाको भ्रमण गर्दै त्यहाँका खेलकुदका भौतिक पूर्वाद्धारहरुको निरिक्षण र अनुगमन गरेका थिए । भौगोलिक विकटता र एक्कासी मौसममा आएको परिवर्तनले दार्चुला र बझाङको भ्रमण गर्न असमर्थ भएको जानकारी सदस्यसचिव विष्टले गराएका छन् ।

भ्रमण गरेका जिल्लामा खेलकुदका भौतिक पूर्वाधारको अनुगमनसँगै स्थानीयतहमा लोकप्रिय रहेका खेल, अन्य सम्भावित खेल र राष्ट्रिय खेलको विकास विस्तारका लागि सदस्यसचिव विष्टले अन्तरक्रिया गरेका थिए । स्थानियसँगको छलफल र अन्तरक्रियापछि ती स्थानहरूमा सम्बन्धित खेलको एकेडेमी र कवर्डहलको निर्माणलागि शिलन्यास समेत गरेका थिए । जसमा वर्दियामा नेपालकै पहिलो कवड्डी एकेडेमी पनि एउटा थियो । उक्त एकेडेमी बर्दियाको बारगढी–४ को आठ विघा जग्गामा ५० करोडको लगातमा दुई वर्षभित्र निर्माण हुने भएको छ ।

खेलकुदको इतिहासमा एकैपटक २० वटा जिल्ला भ्रमण गर्ने सदस्यसचिवमा विष्ट पहिलो बनेका छन् । दुर्गम जिल्ला जहाँ खेलकुदका उच्चपदस्त अधिकारीहरू अहिलेसम्म पुगेका छैनन्, त्यहाँ पुगेर भौतिक पूर्वाद्धार अनुगमन र निर्माण गर्ने विष्टको सोचले खेलकुदमा नौलो तरङ्ग उत्पन्न गराएको छ । बहुउद्देश्यीय भ्रमणको क्रममा यतिबेला हिमाली जिल्ला जुम्लामा रहेका विष्टले त्यहाँ हाईअल्टिच्युटमा निर्माण हुन गैरहेको कवर्डहलको उद्घाट्न गर्ने बताएका छन् ।

उक्त कवर्डहल अन्तिम चरणमा पुगेको जानकारी गराउँदै विष्टले भारी हितपातका कारणले खेल मैदानको अवलोकलन गर्न नपाएको बताए । जुम्ला हिमाली जिल्ला भएपनि उक्त जिल्लाले एथलेटिक्समा उत्कृष्ट खेलाडी उत्पादन गर्दै आएको छ । यसको लागि ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’धारी चर्चित अन्तर्राष्ट्रिय धावक तथा प्रशिक्षक हरि रोकायले पसिना बगाइरहेका छन् ।

यो बहुउद्देस्यीय भ्रमण निकै फलदायी र ऐतिहासिक भएको बताउँदै नेपालका तीनवटा शहरमा ‘स्पोर्टस सीटी’ बन्न लागेको सदस्यसचिव विष्टले जानकारी गराएका छन् । उक्त तीनवटा स्पोर्टस सीटी’ इटहरी, पोखरा र तुलसीपुरमा बन्ने समेत विष्टले बताए । खेलकुदको समग्र विकासको लागि तराई, पहाड र हिमाली जिल्लाको भ्रमण गरेको बताउने विष्टले आगामी बजेटमा कहाँ कति व्यवस्था गर्न सकिन्छ त्यसको व्यवस्था गर्न यो भ्रमण निकै सजलो हुने बताएका छन् ।

त्यस्तै विष्टले राष्ट्रिय जुनियर टीमविना खेलकुदको विकास असम्भव भएको खुलासा गर्दै तीनवटा खेल एथलेटिक्स, भलिबल र बास्केटबलको जुनियर राष्ट्रिय टीम तयार गर्न लागेको बताए । त्यसको लागि राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेता तीन जना खेलाडीलाई जिल्लाको सदरमुकाम प्रशिक्षण दिने विष्टले जानकारी गराए । साथै उक्त प्रशिक्षण मुलुकका पाँच विकास क्षेत्रमा गरिने भएको छ ।