श्रीमतीलाई मन्त्री बनाउने अडानले राजपामा भाँडभैलो

श्रीमतीलाई मन्त्री बनाउने अडानले राजपामा भाँडभैलो


प्रदेश नं. २ मा सरकार निर्माणको गृहकार्यमा रहेको राष्ट्रिय जनता पार्टी नेपालभित्र अध्यक्षहरूबीचको विवादले भाँडभैलो मच्चिएको बुझिएको छ । राजपा र फोरमबीच भएको सहमतिअनुसार राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ ।

यसक्रममा पार्टीबाट मन्त्रीहरू चयनका लागि बसेको अध्यक्षमण्डलको बैठकमा संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, महेन्द्र यादव र शरतसिंह भण्डारीले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए भने अन्य दुई सदस्य अनिलकुमार झा र राजकिशोर यादवले समानुपातिकलाई पनि समावेश गर्नुपर्ने अडान राखेका छन् ।

स्रोतका अनुसार अनिल झाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी आफ्नी श्रीमती डा. डिम्पल झालाई पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि विवाद चरमोत्कर्षमा पुगेको हो । पार्टीका अन्य नेताहरू भन्छन्, ‘समानुपातिकमा समावेश भएकाहरूका लागि त्यो नै ठूलो अवसर हो तर, प्रत्यक्ष जितेकालाई मात्र मन्त्रीमा पठाउनुपर्ने हुन्छ ।’

अनिलले श्रीमतीलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि राजपाको तर्फबाट मन्त्रीको टुंगो लाग्न सकेको छैन । अध्यक्षमण्डलका संयोजक ठाकुर, सदस्यहरू महतो, यादव र भण्डारीले प्रत्यक्ष निर्वाचितलाई नै प्राथमिकता दिनुपर्ने तर्क गरेको बताइन्छ ।