स्थानीय तहमा बैंकिङ सेवा अझै पुग्न सकेन

स्थानीय तहमा बैंकिङ सेवा अझै पुग्न सकेन


सबै स्थानीय तहमा बैंकिङ सेवा अझै पुग्न सकेको छैन् । सबै स्थानीय तहमा बैंकिङ सेवा अनिवार्य पुग्नुपर्ने भएपनि पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा अझै बैँकहरु पुग्न बाँकी छ ।

इन्टरनेट, विद्युत, कार्यालय भवन लगायतका पूर्वाधार अभावका कारण स्थानीय तहमा बैंकिंङ सञ्जाल पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

स्थानीय तहमा निर्वाचन भएर कार्यान्वयनमा आएको समेत ९ महिना वितिसक्दा पनि जनताले यसको प्रत्याभूति भने पाउन सकेका छैनन् । सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास असफल भइरहेको देखिएको छ ।

एक सय १९ स्थानीय तहमा शाखा खोल्न नसक्ने बैंकहरूले राष्ट्रबैंकलाई जानकारी गराएका छन् भने दुई सय ८२ स्थानमा बैंकिङ कार्यालय खोल्ने प्रक्रिया अघि बढेको छ ।

व्यवस्थापिका संसद्को विकास समितिले स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएपछि सात सय ५३ स्थानीय तहमध्ये दुई सय ९६ मा मात्र बैंकिङ कार्यालय खुलेका थिए ।

यता पूर्वाधार तयार नभएका स्थानमा गएर कार्यालय सञ्चालन गाह्रो हुने बैंकर्सको भनाइ छ । राष्ट्र बैंकलाई गरेको प्रतिबद्धताअनुसार तीन सय ५२ स्थानमा बैंकिङ सेवा सुरु भइसकेको छ ।