शून्यदेखि शून्यसम्म

शून्यदेखि शून्यसम्म


– बबिता बस्नेत

मानिस दुःखी हुने कि खुसी आफैंमा निहित छ । तपाईं कति आत्मविश्वासी र सशक्त हुने आफैँभित्रको आत्मबलमा भर पर्छ । प्रकृतिले हामीलाई शरीर दिएको छ, जसलाई हामी फरक संरचनामा ढाल्न सक्दैनौँ, तर आफूलाई कस्तो बनाउने, आफ्ना सोचहरू सकारात्मक या नकारात्मक कता लाने, विषयवस्तुहरूलाई हेर्ने दृष्टिकोण कस्तो बनाउने भन्ने कुरा नितान्त आफूमा निर्भर छ । आफ्ना सोचहरू कति फैलाउने, कति खुम्च्याउने, कति छुद्र हुने या फराकिलो बनाउने, अरूलाई अनेक बहानामा दुःख दिइरहने कि आफ्नो कारणले कसैलाई दुःख नहोस् भनेर कोसिस गर्ने आफ्नै हातमा छ । अरूलाई यस्तो बनाउँछु भनेर कल्पना र कोसिस मात्रै गर्ने हो, तर आफूलाई यस्तो बनाउँछु भनेर अभ्यास नै गर्न सकिन्छ । यो संसारमा मेरो उपस्थितिको अर्थ के हो भनेर खोज्न आफैँभित्रको संसारमा हिँड्नुपर्ने हुन्छ ।

आफूभित्रको संसार बुझ्ने क्रममै सिद्धार्थ गौतम बुद्ध बने । बुद्ध बन्ने यो प्रक्रियाको सुरुवात भने भगवान् शिवले गरेका हुन् । बिहान–बेलुका मीठोका नाममा कहिले टाउकोबाट कहिले पुच्छरबाट स्वाद लिएको कुरा गर्ने, साँझका पार्टीहरूमा मात्रै मनोरञ्जन भेट्ने, गज्जबको गाडी चढ्दा या घरजग्गा जोड्दा ठूलो प्रगति गरेको ठान्नेहरूका लागि जीवनको महत्व त्यस्तै सानातिना भौतिक कुराहरूमा अल्झिएको छ । तर, खाने–लाउनेभन्दा माथि उठेर जिन्दगीलाई अलि गहिरिएर बुझ्नेहरूका लागि संसार शून्यबाट शुरु भएर शून्यमै अन्त्य हुन्छ । जीवितै हुँदा त्यो शून्यताको अनुभूति गर्ने पहिलो व्यक्ति भगवान् शिव या महादेव हुन् । शून्यदेखि शून्यसम्मको यात्राको प्रवर्तक पनि उनै हुन् ।

हिन्दूधर्ममा देवीदेवताको कुनै कमी छैन, ३३ कोटी छन् । जन्म र मृत्युबीचका संस्कारहरूमा पूजा गरिने देवीदेवताको सूची लामो छ । हिन्दूधर्म धर्म मात्र नभएर संस्कृति पनि हो । हिन्दूधर्ममा पुजिने हरेक देवीदेवताका आ–आफ्ना गुण र विशेषता छन् । त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन् । त्यसैले शिवको सम्मानमा मनाइने उत्सवलाई शिवरात्रि मात्र नभनेर महाशिवरात्रि भन्ने गरिएको छ । महाशिवरात्रि भन्नासाथ पशुपतिनाथमा नाङ्गा बाबाहरूको तमासादेखि भाङ, धतुरो, गाँजाको प्रयोग, लिङ्ग पूजा गर्न महिलाको तँछाडमछाडजस्ता कुरा मात्रै आँखाअगाडि आए पनि शिवको महिमा यी कुराहरूभन्दा पृथक् र गहन छ ।

शिव यौगिक परम्पराका मात्र होइन ध्यानका पनि सुरुवातकर्ता हुन् । ध्यान जसले जीवन र जगत्लाई हेर्ने दृष्किोण बदलिदिन्छ । आदियोगी शिव ध्यान गर्ने पहिलो व्यक्ति जसले आफूभित्रको संसारलाई चिन्ने कोसिस गरे । मानवजीवनमा ध्यानको धेरै ठूलो महत्व छ ।

शिवजी या महादेव योग र ध्यानका प्रवर्तक हुन्, त्यसैले उनलाई आदियोगी पनि भनिन्छ । शिव यौगिक परम्पराका मात्र होइन ध्यानका पनि सुरुवातकर्ता हुन् । ध्यान जसले जीवन र जगत्लाई हेर्ने दृष्किोण बदलिदिन्छ । आदियोगी शिव ध्यान गर्ने पहिलो व्यक्ति जसले आफूभित्रको संसारलाई चिन्ने कोसिस गरे । मानवजीवनमा ध्यानको धेरै ठूलो महत्व छ । ध्यान साधना गर्नु भनेका आफूले आफँैलाई सशक्त पार्नु हो । जबसम्म मानिस आफू सशक्त हुँदैन उसले अरूलाई सशक्त गर्न सक्दैन । आफूभित्रको आफूलाई चिन्ने प्रक्रिया नै ध्यान हो ।

कतिपय मानिस आफ्नोबारेमा थाहै नपाई, आफूलाई चिन्दै नचिनी अरूको बारेमा टीका–टिप्पणी गर्छन् । हामी कसैको बारेमा झट्ट प्रतिक्रिया दिँदै भन्छौँ– ए… यो मान्छेलाई त मैले चिन्नुसम्म चिनेको छु । अरूको बारेमा अनेक प्रतिक्रिया दिने हामी आफैँले आफूलाई चिन्ने कोसिस भने कमैले गरेका छाँै । आफूलाई चिन्ने प्रक्रिया त्यति सहज छैन र कोसिस गर्ने हो भने असम्भव पनि होइन । ‘म को हुँ ?’ को जवाफ खोज्ने क्रममै सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका हुन् । मान्छेभित्रको मान्छे जगाउने काममा असफल भएर रूपचन्द्र विष्टले यो संसार त्यागे । उनी कम्तीमा केही सय मान्छेले आफूले जस्तै सोचून्, आफूलाई चिनून्, यो संसारमा आफ्नो उपस्थितिको महत्व थाहा पाऊन् भन्ने चाहन्थे । तर, सकेनन् । रूपचन्द्रजस्ता मान्छे यो संसारमा पटकपटक जन्मिँदैनन् ।

‘म’ र ‘मेरो’बीचको फरक थाहा नपाई यो संसार छोडेर जानेहरूको सङ्ख्या ठूलो छ । तपाईं कति तपाईं हो र के–के तपाईंको हो भन्नेबारेमा कमैले सोच्नुभएको होला । ‘तपाईं’ जीवनको अन्तिमसम्म तपाईं नै हो र तपाईंले ठानेका, यो मेरो हो भन्ने लागेकामध्ये केहीलाई छोडेर धेरैचाहिँ तपाईंले मानुन्जेलका लागि मात्रै हुन् ।

कतिपय मानिस पदमा रहँदा आफू सोही पदका लागि यो संसारमा आएकोझैँ ठान्छन् । जब तिनले संसार ठानेको पदमा बस्ने पालो अर्कैको आउँछ तिनको अवस्था एक्कासि धरातलमा झरेझैँ हुन्छ । जतिले पद या पदीय हैसियत भन्ने कुरा मानवीय हैसियतभन्दा धेरै तल र सीमित हो भन्ने बुझेका हुन्छन् तिनलाई पदमा रहनु या त्यसबाट बाहिरिनुबीच खासै फरक हुँदैन । यो अलग कुरा हो कि जीवनलाई यसरी बुझ्न सक्ने मान्छे पदप्राप्तिको पछि खासै लाग्दैनन् ।

आफ्नो सोच र मनोभाव या भावनालाई वशमा राख्न सक्ने केही छ भने त्यो ध्यान नै हो । शिव भगवान्का अनेक महिमा बाहिर आए पनि योग र ध्यानको यो महत्वपूर्ण पक्षलाई हामीकहाँ धेरै चर्चा गर्ने गरिएको छैन । शिवका नाममा हामीकहाँ मुखले शिव शिव शिव भन्दै हिँड्नेहरूको सङ्ख्या ठूलो छ, तर यसको खास अर्थ बुझेर अभ्यास गर्नेहरू भने कम छन् । शिवको अर्थ सम्भावना पनि हो । शिव ध्यानमार्फत सम्भावनाहरूको खोजी गरी जिन्दगीलाई अनुभव गर्ने यो संसारमा पहिलो व्यक्ति हुन् । शिवको इमेजमा तेस्रो आँखा किन भएको होला ? सानैदेखि मनमा प्रश्न उब्जिएको हो ।

‘म’ र ‘मेरो’बीचको फरक थाहा नपाई यो संसार छोडेर जानेहरूको सङ्ख्या ठूलो छ । तपाईं कति तपाईं हो र के–के तपाईंको हो भन्नेबारेमा कमैले सोच्नुभएको होला । ‘तपाईं’ जीवनको अन्तिमसम्म तपाईं नै हो र तपाईंले ठानेका, यो मेरो हो भन्ने लागेकामध्ये केहीलाई छोडेर धेरैचाहिँ तपाईंले मानुन्जेलका लागि मात्रै हुन् ।

‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ भन्ने नेपाली उखान पूर्णतः गलत अर्थमा प्रयोग भइरहेको छ । महादेवको तेस्रो आँखालाई जिन्दगीप्रतिको स्पष्ट दृष्टिकोणका रूपमा लिइन्छ । मानव जीवनको प्रकृतिसँग के सम्बन्ध छ ? यो कसरी चल्छ ? भन्ने थाहै नपाई धेरैले यो संसार छोडेर गए, कति जाने क्रममा छन् । सिटामोल खाँदा ज्वरो घट्छ भन्ने थाहा पाएर सिटामोल खानेहरू धेरै छन्, तर त्यो सिटामोल केले बनेको छ ? त्यसले ज्वरो कसरी घटायो भन्नेतिर को लागिरहन्छ र ? आफ्नो उपस्थितिको महत्व थाहै नपाई मान्छेहरूले संसार त्यागिरहेका छन् भनेर कतिले सोच्छन् र ? कोभन्दा को कमको लडाइँमा मानिसलाई यस्ता कुराहरू सोच्ने फुर्सद र रुचि दुवै देखिँदैन ।

मानिस पदले शक्तिशाली हुने होइन, सोचले शक्तिशाली हुने हो । तपाईं मनभित्रबाट डर–त्रासमुक्त हुनुहुन्न भने वरिपरि बन्दुक बोकेका सुरक्षाकर्मीले केही गर्न सक्दैनन् । आफूभित्र शान्ति र आत्मविश्वास बढाउने एक मात्र माध्यम ध्यान नै हो । शान्ति जीवनको अन्तिम लक्ष्य होइन, आधारभूत कुरा हुनुपर्छ भनेर सद्गुरुले बारम्बार भनेको सुनिन्छ । यो आधारभूत कुराको खोजीको सुरुवात महादेवबाट भएको हो । शिवकथामा पार्वतीले जे माग्यो त्यही बरदान शिवजीले दिएको, तर ध्यानचाहिँ तिमी आफैँ गर भनिएको उल्लेख छ ।

ध्यान अरूले गरिदिएर हुने भए जिन्दगी बुझेका कति मानिसले वरिपरिका मानिसलाई आफूजस्तै बनाउने थिए होला, तर यो सम्भव छैन । हिन्दूधर्मका महानायकमा शिव र कृष्ण प्रमुख हुन् । शिव कृष्णजस्तो दार्शनिक होइनन्, व्यावहारिक पात्र हुन् । लामो समय अन्तरध्यानमा रहने हुँदा कतिले अव्यावहारिक पनि भन्लान् । तर, उनले आँखा चिम्लिएर जीवनको गहिराइलाई बुझ्न सिकाए ।