मनोज-मीना दम्पत्तिको ‘डिभोर्स’ले दिएको सन्देश

मनोज-मीना दम्पत्तिको ‘डिभोर्स’ले दिएको सन्देश


– निर्जला कक्षपति

हास्य कलाकार मनाज गजुरेल र मीना ढकालको २२ वर्ष लामो बैवाहिक सम्बन्ध टुट्दा फिल्मी बजारमा यो समाचार ‘गसिप’ बन्न पुग्यो । कलकार मनोज गजुरेललाई नचिन्ने त को होलान् र ? उनकी पत्नी मीना ढकाल पनि यी दुई दम्पत्तिको सम्बन्ध विच्छेदपछि एकाएक चर्चामा आइन् । सम्बन्ध भन्ने कुरा नितान्त निजी कुरा हो । अझ कसैसँग सम्बन्ध टुट्नु भनेको त आ–आफ्ना कारण हुन सक्छन् । यसलाई कोट्याउनु, चर्चा गर्नु अनि अर्काका बारे गलफत्ती या गफ चुट्नु झनै खराव आचरण हो । यो लेखको आसय एउटालाई सपोर्ट गरी अर्कोलाई दोष थोपर्नु पनि होइन । मनोज गजुरेल कलाकार हुन् । कलाकारको जीवनमा उनका प्रशंसकले चासो राख्नु स्वाभाविक कुरो पनि हो । त्यसैले यो समाचार समाजमा भाइरल नै बन्यो । कसैले भने २२ वर्ष सँगै बसेका जोडी किन छुट्टिए, कसैले भने मन नमिलेर सँगै बस्नुभन्दा छुट्टिएरै बसेकै राम्रो ।

समाज धेरै परिवर्तन भइसकेको छ । मानिसहरूको सोचमा धेरै परिवर्तन आइसकेका छन् । पहिले पहिले कसैको डिभोर्स भयो भने निकै नराम्ररी लिने गरिन्थ्यो र दोष जति महिलामा थुपारिने गरिन्थ्यो । तर अहिले कमसेकम दिनहुँ झैझगडा र मनमुटाव गरेर बस्नु भन्दा छुट्टाछुट्टै बसे भनेर सजिलरी लिने चलन छ । र पहिलेको तुलनामा त्यत्ति धेरै दोष महिलामाथि पनि थोपरिँदैन ।

मनिसको सम्बन्ध कसैसँग पनि दिगो र अटुट नै हुन्छ भन्ने होइन । आज कोही व्यक्तिसँग राम्रो भएको सम्बन्ध भोली नहुन सक्छ । श्रीमान्–श्रीमतीको सम्बन्ध भनेको माया, विश्वास अनि सम्झौतामा अडेको हुन्छ । पहिले पहिले महिलाहरू अशिक्षित थिए, आत्मनिर्भर पनि थिएनन् । अनि आफ्ना जन्म दिने बा–आमाले ‘हेर, घर गरेर खानुपर्छ, घर बिग्रनु दिनु हुँदैन, श्रीमानले भनेका कुरा मान्नुपर्छ, सासु–ससुराको सेवा गर्नुपर्छ है नानी भनेर आफना छोरी चेलीलाई शिक्षा दिने गरिन्थ्यो । प्राय गरि त्यस बेलाका महिला दिदी बहिनीले यो कुरालाई सकभर पालना गर्थे । तर अहिले जमाना फेरिसकेको छ । अहिले हरेकले आफ्नो जीवनको महत्व बुझेका छन् । एकबार पाइने मानिसको चोलामा जीवन किन असन्तुष्टिका साथ बाँच्ने भनेर सोच्न थालिएको छ ।

जहाँसम्म मनोज गजुरेल र मीना ढकालको कुरा छ, दुवैसँग यो पंक्तिकारको परिचय छैन । तर मनोज गजुरेलको प्रंशसक भएको हुँदा उनका हास्य कार्यक्रमहरू नछुटाएर हेर्ने गरेकी छु । यो जोडीको सम्बन्ध टुटेको समाचार बाहिर आएपछि मनोज गजुरेलका अन्तर्वार्ताहरू त्यत्ति आएनन् तर मीना ढकालका अन्तर्वार्ताहरू अनलाइनहरूमा निकै नै आए । १२( १३ वर्ष अघि देखि नै पती पत्नी विच सम्वन्ध राम्रो नभएको, आफूले डिभोर्स दिन चाहे पनि श्रीमानका कारण दिन नसकेको भन्ने मीनाको तर्क सुन्दा लाग्छ यदि मनोज गजुरेलले आफ्नी पत्नीलाई यसरी यातना दिएकै भए यत्तिका वर्षसम्म कसरी सहेर सँगै बसिन् होलिन् ?

डिभोर्सपछि मीनाले आफू निकै नै खुसी छु भन्दै दिएको अन्तर्वार्ता हेर्दा लाग्छ, उनले मनोजसँग रहँदा गर्न नपाएका कामकुरा, पूरा गर्न नपाएका रहर वा इच्छाहरू पूरा गरेर आफनो जीवनलाई खुसी पार्दै लानेछिन् । उनले आफ्नो स्वरमा गीत रेकर्डिङ गरिरहेकी छिन्, गीतमा मोडलिङ पनि आफै गरिरहेकी छिन् । तर संगीत क्षेत्रका विज्ञहरूका अनुसार गायिका बन्न मीनाले धेरै नै मिहेनत गर्नुपर्छ ।

श्रीमान–श्रीमती बीच सामान्य झैझगडा अनि मनमुटाव त भई नै हाल्छन् । तर पनि मीना ढकालले दिएको अन्तर्वार्ता सुन्दा आफना श्रीमानले अघि बढ्न प्रमोट नगरेको भन्ने छ । उनको यो अभिव्यक्ति निकै नै गम्भीर र विचार गर्नुपर्ने देखिन्छ । किनभने, अहिले मानिसहरू आफ्नो करियरप्रति निकै नै सजग छन् । केही गर्नुपर्छ, आफ्नो खुट्टामा आफैं उभिनुपर्छ, आफ्नो पहिचान आफैं नै बनाउनु पर्छ भन्ने कुरामा धेरै सजग छन् । मीनाको जति पनि अन्तर्वार्ता हेर्दा आफै केही गरौँ भन्ने हुटहुटी उनमा जागेको देखिन्छ । विवाहअघि गीत संगीतमा पनि रुची भएको, नेविसंघको राजनीति पनि गरेको, जून किसिमका आफूसँग प्रतिभा थिए ती प्रतिभाहरूलाई विवाहपश्चात तिलान्जली दिन परेको लगायतका गुनासो उनका अन्तर्वार्तामा सुन्न सकिन्छ । यदि यो सत्य हो भने, मीना मात्र होइन, नेपालका धेरै महिलाले भोग्नु परेको समस्या हो यो । घर बन्छ करियर बन्दैन करियर बनायो घर बन्दैन । निकै नै कम महिला मात्र पाइन्छन् विवाहपछि पनि उनको करियरको विकासमा घरपरिवारले उत्तिकै साथ दिएका हुन्छन् ।

मनोज गजुरेल ख्याती प्राप्त कलाकार हुन् । नाम चलेका व्यक्तिहरूको उनले गर्ने क्यारिकेचरमा शंका गर्नु पर्ने ठाउँ छैन । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर निकै नै लोकप्रिय भयो । यसैगरी राजा ज्ञानेन्द्रको क्यारिकेचरले पनि उनलाई निकै माथि पुर्यायो । मीना ढकाल मनोज गजुरेलकी पत्नी भनेर त चिनिन्थिन् तर उनको इच्छा केही गरौँ भन्ने नै देखिन्छ । फेसन डिजाइनर मीना आफ्नो परिचय बनाउन लालायित देखिन्छिन् । हुन पनि आफ्नो परिचय आफैं बनाउने अनि दुईचार पैसा भएपनि आफै कमाएर आफ्नो खुटामा आफै उभिने रहर त कसलाई हुँदैन र ? महिनामा ५० हजार श्रीमानले कमाएर दिनु र ५ हजार भए पनि आफै कमाउनुमा धेरै अन्तर हुन्छ ।

डिभोर्सपछि मीनाले आफू निकै नै खुसी छु भन्दै दिएको अन्तर्वार्ता हेर्दा लाग्छ, उनले मनोजसँग रहँदा गर्न नपाएका कामकुरा, पूरा गर्न नपाएका रहर वा इच्छाहरू पूरा गरेर आफनो जीवनलाई खुसी पार्दै लानेछिन् । उनले आफ्नो स्वरमा गीत रेकर्डिङ गरिरहेकी छिन्, गीतमा मोडलिङ पनि आफै गरिरहेकी छिन् । तर संगीत क्षेत्रका विज्ञहरूका अनुसार गायिका बन्न मीनाले धेरै नै मिहेनत गर्नुपर्छ । प्रतिस्पर्धाको यो संसारमा उनको स्वर बिकाउ नभए पनि उनले गर्न नपाएको काम गरेर रहर पूरा गरिरहेकी मात्र हुन् ।

घर बिग्रन्छ भन्ने डरमा, यसरी विवाहपछि आफ्ना रहर इच्छा, प्रतिभा सबै दबाएर घरजम गरेर बसेका महिलाहरू कति छन् कति । कोही–कोहीले मात्र घरभन्दा ठूलो आफ्नो करियरलाई अगाडि बढाउने कुरा सोच्न सकेका छन् । त्यसैले श्रीमतीको चाहना के हो, के गर्न खोज्छिन् र श्रीमतीको करियरमा धब्बा नलागोस् भन्ने कुरामा श्रीमानकै अहम् भूमिका हुन्छ । परिवारका अन्य सदस्यका कुरा भनेका तपशिलका हुन् । जसरी श्रीमानको प्रगति–उन्नतिका लागि श्रीमतीले साथ दिन्छिन्, श्रीमतीको उन्नति–प्रगतिका लागि पनि श्रीमानले उत्तिकै साथ दिनु जरुरी छ । एकअर्काको शिप, प्रतिभा र दक्षतालाई कदर गर्न सक्यौँ भने मात्र सम्बन्ध दिगो रहन सक्छ ।