एकता भाँड्न खोज्नेहरु परास्त हुने प्रचण्डको दाबी

एकता भाँड्न खोज्नेहरु परास्त हुने प्रचण्डको दाबी


तीन दिनअघि आवश्यक परे नयाँ फड्को मार्ने अभिव्यक्ति दिएर तरंग पैदा गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको अभिव्यक्ति दिएका छन् । माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा आज पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको र त्यसैका लागि आफूहरु शक्तिशाली पार्टी निर्माणमा लागेको उनको तर्क थियो ।

संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएर मात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै उनले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए ।

लहड र सनकको भरमा क्रान्ति हुन नसक्ने अभिव्यक्ति दिँदै उनले विप्लव समूहलाई ब्यंग्य समेत गरे भने आजभोलि नै एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने दाबी गरे ।

शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर झण्डै तीन करोड नेपालीलाई एकताबद्ध बनाएर लैजाने सोचमा आफूहरु रहेको चर्चा गर्दै प्रचण्डले वामपन्थी शक्ति एकताबद्ध नहुन् भनेर चलखेल गर्ने शक्ति परास्त भएर जाने र जनताको सामु उनीहरुको केही नचल्ने उदघोष गरे ।