सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा


धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताउनुभयो ।

धादिङबेंसी–तिप्लिङ ५७ किमी सडकमध्ये डुण्डुरेदेखि तिप्लिङसम्म रु २२ करोडको लागतमा २९ किमी सडक खन्न आरके कन्सट्रक्सन नामक ठेकेदारमार्फत काम हुँदै आएको छ । एक महिनाअघिदेखि गाउँबासीले जिल्लाको सामरिक महत्वको सडक बनाउँदा गाउँबाट लानुपर्ने माग गर्दै आएका छन् ।

सडक डिभिजन कार्यालयले दुई वर्षअघि गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)अनुसार नेत्रावती नदी छेउबाट सडक खन्नुपर्नेछ । जिल्ला सुरक्षा समितिको बैठकले विकासका काममा अवरोध गर्न नइिदने र सुरक्षा प्रबन्ध गरी डिपिआर भएकै स्थानबाट सडक खन्न सुरक्षा प्रदान गरिने निर्णय भएपछि सडक निर्माणस्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी सडक खन्ने काम भइरहेको छ ।

गाउँबाट लाने भन्ने गाउँबासीको माग र डिपिआर गरिएको स्थानबाटै सडक खन्नुपर्ने भन्ने सडक डिभिजन कर्यालयको निर्णय भएकाले सडक खन्नका लागि विवाद आएको बताउँदै झर्लाङ निवासी मंग तामाङले गाउँबासीको भनाइअनुसार गाउँबाटै सडक खन्नुपर्नेमा जोड दिनुभयो ।