माओवादी हेडक्वार्टरमा प्रचण्डले ‘केक’ काटे

माओवादी हेडक्वार्टरमा प्रचण्डले ‘केक’ काटे


२३ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी हेडक्वार्टरमा आज एक विशेष समारोहको आयोजना गरिएको थियो ।

समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले २३ पाउन्डको केक काटेर २३ वर्षअघि आजकै दिन सुरु भएको जनयुद्ध दिवस मनाए ।

भ्रातृ संस्था वाइसिएलले पेरिस डाँडामा आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले तीन वटा हिमालको चुचुरोको डिजाइन भएको केक मुसुमुसु हाँस्दै काटेका थिए ।

तीन वटा हिमालमध्ये एउटा चुचरोमा रातो तारा अङ्कित थियो भने अर्को चुचुरोमा मैनबत्ती राखिएको थियो ।
बर्थ डेमा जस्तो मैनबत्ती फुकेर ननिभाई प्रचण्डले चुचुरो नबिगारी छेउतिरबाट केक काटेर टुक्रा बाँडेका थिए ।

०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरुवात गरेको सम्झानामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएका छन् । दशकभन्दा लामो सशस्त्र युद्धका क्रममा करिव १६ हजारको ज्यान गएको थियो ।

प्रचण्डले काटेको केक खान जनयुद्ध सुरु गर्ने बेलाका नेताहरु भने उपस्थित थिएनन् । यतिबेला तत्कालीन नेकपा माओवादी चार टुक्रा भइसकेको छ । मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन् ।

तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग छन् ।

समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वसहकर्मी मोहन बैद्य र विप्लवलाई शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन अपील गरेका छन् ।

रहर र लहडमा क्रान्ति नहुने भन्दै उनले विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरे । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विप्लव र आफ्ना गुरु भरेर चिनिएका मोहन बैद्यलाई एकता प्रक्रियामा आउन आहृवान गरे ।