नेपाल टेलिकमको नाफा घट्दो क्रममा

नेपाल टेलिकमको नाफा घट्दो क्रममा


नेपाल टेलिकमको नाफा घट्दो क्रममा रहेको पाइएको छ । टेलिकमको नाफा गत आर्थिक बर्षको तुलनामा यसपाली कम्पनीको नाफा ४३ करोड ५७ लाख रुपैयाँले घटेको हो । अनुपातले होर्दा ५ प्रतिशतले घटेको देखिन्छ ।

कम्पनीले पुससम्म ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको पुसमा नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो । कम्पनीले सेवा प्रदानमार्फत १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ । गत बर्ष यस्तो आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ थियो । त्यस्तै अन्य आम्दानी दुई अर्ब ६६ करोड रुपैयाँ छ ।

कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ । आम्दानीमा गिरावट आउँदा प्रति शेयर आम्दानी ६ रुपैयाँले घटेको छ । कम्पनीको प्रति शेयर आम्दानी ९९ रुपैयाँ छ । प्रति शेयर नेटवर्थ पनि ६२५ रुपैयाँबाट ६०२ रुपैयाँमा घटेको छ ।

यसरी टेलिकमको नाफा घट्नुमा सक्षम नेतृत्व नहुनु मुख्य कारण रहेको बताइन्छ । साथै टेलिकमले आफूलाई समयअनुरुप बदल्न नसक्दा समेत उसको नाफा घाट्दो क्रममा रहेको कतिपयको बुझाइ रहेको छ ।