एउटै गाउँबाट प्रतिनिधित्व गर्ने नेतालाई सम्मान

एउटै गाउँबाट प्रतिनिधित्व गर्ने नेतालाई सम्मान


एउटै गाउँका तीन पार्टीबाट स्थानीय, प्रदेश र राष्ट्रियसभामा प्रतिनिधित्व भएको भन्दै तीनै जनालाइ गाउँलेले एउटै मञ्चमा सम्मान गरेका छन् ।

मालारानी गाउँपालिका–५, बाँगीबाट राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खडका, प्रदेशसभामा नेपाली काँग्रेसबाट निर्मला क्षेत्री र मालारानी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)बाट प्रमिला क्षेत्री निर्वाचित भएको खुशियालीमा स्थानीयले सोमबार खुशीका साथ सम्मान गरेका हुन् ।

बाँगीबाट नीति निर्माण तहमा पुगेका प्रतिनिधिलाई आरुखोरमा आज वडा कार्यालय र शान्ति मावि, बाँगीले एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ । सम्मानपछि बोल्ने वक्ताले बाँगीबाट संघीय संरचनाका तीनै तहमा प्रतिनिधित्व भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य खड्काले एउटै गाउँबाट तीनै तहमा तीन पार्टीबाट प्रतिनिधित्व गर्न पाउनु खुशीको कुरा भएको बताउँदै गाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । शान्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका खड्काले बाँगीलाई प्राथमिकतामा राखेर विकासमा नमूना गाउँ बनाउने उद्घोष गर्नुभयो ।

५ नम्बर प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले बाँगीमा के कस्ता विकासका समस्या छन्, के गर्नुपर्छ, खाका बनाएर पेश गर्न जनप्रतिनिधि र स्थानीयलाई आग्रह गर्दै विकास योजनाको बजेट पार्नमा आफूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

एमाले जिल्ला सचिव रामबहादुर चौहानले मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट समृद्ध राष्ट्र बनाउन सबै दल र नेता एकजुट भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य मानबहादुर पाण्डे, काँग्रेस, बाँगीका सभापति मणिराम खनाल, एमाले बाँगी पूर्वअध्यक्ष हुमबहादुर महतलगायतले सांसदहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।