थ्री स्टारलाई बुढासुब्बा रेडबुल गोल्डकप उपाधि

थ्री स्टारलाई बुढासुब्बा रेडबुल गोल्डकप उपाधि


गत वर्षको विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्री स्टार फुटबल क्लब धरानमा आयोजित २० औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि चुम्न सफल भएको छ । धरान–१६ स्थित धरान रंगशालामा भएको फाईनल खेलमा पाँच पटकको बिजेता पुलिसलाई चार पटकको बिजेता थ्री स्टार क्लब काठमाडौंले १–० को गोल अन्तरले हराउँदै सोउपाधिमाथि कब्जा जमाउन सफल भएको हो । जितसँंगै थ्री स्टारले पाँचौँ पटक बुढासुब्बा गोल्डकपको उपाधी उचालेको छ ।

पहिलो हाफको इन्जुरी समयमा थ्री स्टारका विदेशी खेलाडी अजय मार्टिनले गोल गरेका थिए । सोही गोल नै निर्णायक गोल बनेको थियो । विजयसँंगै थ्रीस्टारले भर्खरै पोखरामा सम्पन्न आहा रारा गोल्डकपको फानलमा पुलिससंँगको हारको समेत बदला लिएको छ ।

खेलको पहिलो हाफको २६ औं मिनेटमा थ्री स्टारका कप्तान विक्रम लामाको दाहिने खुट्टा भाँचिएपछि खेलाडीमा हात हालाहालको स्थिती आईपरेको थियो । अनुशासन तोड्ने खेलाडीहरु पुलिसका हेम तामाङ र थ्री स्टारका पिटर सेगुनले रातो कार्ड पाएका थिए । त्यसपश्चात् खेल अवधीभर दुवै टिम १० खेलाडीमा सिमित भएको थियो ।

बिजेता बन्दै थ्री स्टारले नगद ६ लाख र ट्रफि हात पार्यो भने उपबिजेता पुलिसले ट्रफि सहित नगद ३ लाख प्राप्त गर्यो । प्रतियोगिताका अन्य व्यक्तिगत पुरस्कारहरुमा वेष्ट प्लेयरको उपाधि थ्री स्टारका निराजन खड्का घोषित भए । उनले १ थान यामहा मोटरसाईकल प्राप्त गरे । उनले आफ्ना टिमका घाईते क्याप्टेन विक्रम लामा प्रति आफ्नो उपाधी (मोटरसाईकल) समर्पित गरेका थिए ।

यस्तै, उदियमान खेलाडीको उपाधि धरान फुटबल क्लबका रमन लिम्बु, वेष्ट स्ट्राईकर पुलिसका रेजिन सुब्बा, वेष्ट मिड फिल्डरमा पुलिसका सुमन लामा, वेष्ट डिफेन्डरमा थ्री स्टारका लोवेल ओइलेकान, वेष्ट गोल किपरमा थ्री स्टारका एलन न्यौपाने, वेष्ट कोचमा थ्री स्टारका मेघराज के.सी. घोषित भए । उनिहरुलाई जनही नगद २५ हजार र मेडल प्रदान गरिएको थियो । त्यस्तै हाईस्कोररमा थ्री स्टारका निराजन खड्का घोषित भए । उनले खेल अवधिभर ३ गोल गरेका थिए । उनलाई नगद २५ हजारका साथमा ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै, प्रतियोगिताको म्यान अफ दि म्याच थ्री स्टारका अजय मार्टिन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथी प्रदेश न.ं १ का प्रमुख गोविन्द सुब्बा तथा विशेष अतिथी संघीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी ज्ञान विक्रम शाहले वितरण गरेका थिए ।

– मनिता चाम्लिङ/धरान