विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ : ओली

विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ : ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका छन् ।

‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भ हन् । अध्यक्ष ओलीको भनाइ छ, ‘धार्मिक पर्वको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।’

ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकाले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताएका छन् ।

अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ ।’

महाशिवरात्रि हिन्दूहरुको पर्व भएपनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गर्नेगरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताएका छन् ।