सबै धर्मबीच स्नेहको सेतु-पर्व : शिवरात्रि

सबै धर्मबीच स्नेहको सेतु-पर्व : शिवरात्रि


– ब्रह्माकुमार रामसिंह ऐर

परम्परागत रूपमा फागुनको कृष्णपक्षको घोर अन्धकारको रात्रिमा शिवरात्रिलाई अति नै आस्था र श्रद्धाका साथ हिन्दूधर्मका श्रद्धालुले मनाइरहेको हेर्दा र यसमाथि विचार गर्दा यो पर्व हिन्दू धर्मावलम्बी तथा सनातान मतका मानिसको मात्रै महत्वको पर्व हो भन्ने लाग्दछ । किनकि शिव नाम हिन्दूहरूका वेद, पुराण, उपनिषद् गीता, महाभारत, रामायण आदि शास्त्रमा बढी प्राथमिकता र उच्च आस्थाका साथ गुण–गाथा एवम् महिमापूर्ण रूपमा वर्णन गरिरहेको पाइन्छ ।

खासगरी वर्षेनी फागुन कृष्ण पक्षको चौधौँ रात्रिको बेला शिवरात्रिलाई धार्मिक तथा परम्परागत रूपमा हिन्दूहरूले नै धुमधाम, श्रद्धा, भक्ति र भव्यताका साथ मनाउने गर्दछन् । व्रत बस्ने, जागरण गर्ने, उपासना गर्ने, ध्वनि जलाउनेलगायतका रीतिरिवाज र विधिविधान पनि हिन्दू मतावलम्बीहरूमा बढी व्याप्त भएको देखिन्छ । यी प्रचलित रीतिथिति र मान्यताको अध्ययनले साधारणतया उल्लेखित तथ्य नै प्रस्ट हुन आउँछ । तर, समग्र प्राचीन शास्त्र पुराण, अति प्राचीन सभ्यता र संस्कृति सबै मूलधर्मका ग्रन्थ आदिले प्रकाश पारेको गहन मान्यता र प्रस्ट्याउन आत्मसात् गर्ने हो भने यो पर्व सर्वाधिक महत्व तथा सम्पूर्ण मानव जातिको नै आस्था, श्रद्धा र मान्यताको पर्वका रूप सत्य सिद्ध हुन पुग्छ ।

यस पर्वको सर्वोपरि सत्ता शिव परमात्मा कुनै एक जाति, धर्म र रङ्ग, लिङ्गको मात्रै दाइजो नभई समस्त प्राणी जगत्को नै पालनहार, तारनहार र विषहर हो भन्ने शाश्वत सत्यलाई नकार्न सकिँदैन । निष्पक्ष रूपमा सत्यलाई स्वीकार गर्ने शुद्ध सकारात्मक मनोभावबाट हेर्ने हो भने शिवरात्रि पर्व सबैका लागि उत्तिकै महत्व तथा श्रद्धाको पर्व हुनुका साथसाथै सबै धर्मका बीच स्नेह र सद्भावको सेतु हो भन्नुमा अतिसयोक्ति नहोला ।

शिवरात्रि सर्वज्ञ, सर्वोपरि, सर्वोच्च परमज्योर्तिमयस्वरूप परमात्मा शिव कल्याणकारीले यस धर्तीमा साकार प्रजापिता ब्रह्माको मानवी कायामा दिव्य प्रवेश भई महान् कर्तव्य गरेको यादगार पर्व हो । किनकि परमात्माको जन्म हामी मनुष्यको जस्तो आमाको गर्भमा प्रवेश गरेर नभईकन ब्रह्माको भाग्यशाली रथमा प्रवेश गरेर हुने गर्दछ । पूर्वीय दर्शनका सबै साहित्य, कथा, पुराण आदिमा शिव ज्योतिर्मयको सर्वश्रेष्ठ स्थान रहेको पाइन्छ । शिव परमात्माको वर्णन सबै सभ्यता र संस्कृतिका धुरीका रूपमा रहेको देखिन्छ । प्राचीन इतिहास, कथा तथा भाषाको आरम्भसमेत शिवबाट भएको उल्लेख छ । पुराणमा उल्लेख भएअनुसार जब संसारको महाविनाश भयो त्यसबखत पृथ्वीको ठूलो हिस्सा जलमग्न अवस्थामा थियो । त्यसबेला अन्डाकार प्रकाश (शिव) प्रकट हुनुभयो । त्यसको यथार्थतालाई थाहा पाउन ब्रह्माजी गम्भीर भएर लाग्नुभयो । अन्तमा त्यस ज्योतिले आदेश ग¥यो ब्रह्मा अब तिमीलाई नयाँ सृष्टिको स्थापनाका लागि निमित्त बन्नुपर्छ । यस्तै प्रकारको उल्लेख मनुस्मृतिमा पनि छ । सृष्टिको आरम्भमा एक अद्भूत अन्डाकार ज्योति प्रकट भयो जो अत्यन्तै तेजस्वी र प्रकाशमान थियो । यजुर्वेदका कतिपय शब्दहरूमा पनि वर्णन छ कि सृष्टिको रचना गर्न विद्युत् पुरुष (ज्योतिर्लिङ्गम्) प्रकट हुनुभएको थियो ।

अत्यन्तै प्रतापी सम्राट् विक्रमादित्य, राजा भर्तृहरि सबैले शिवलाई भक्तिको केन्द्रबिन्दु बनाएका थिए । कालिदासको मेघदूतमा शिवको नै महिमा छ भने प्रसिद्ध गायक तानसेनले समेत शिवभक्ति अर्थात् शिवलाई आफ्नो आराध्य देवका रूपमा मान्दथे । गहन चिन्तन र मनन गरी जान्नुपर्ने र नोट गर्नुपर्ने महत्वपूर्ण पक्ष के भने ती सबैले शिवको स्वरूपलाई प्रकाशमय ज्योति रूपमा नै वर्णन गरेका छन् । वाल्मीकि रामायणमा होस् वा महाभारत ग्रन्थमा होस् शिव परमात्मालाई आराधना र उपासनाको केन्द्रबिन्दुका रूपमा स्वीकार गरिएको छ तथा प्रकाशमय रूपमा नै व्याख्या गरिएको छ ।

हिन्दू सनातन मान्यताभन्दा भिन्दै आस्था र विश्वास गर्ने मुख्य अन्य धर्ममा समेत कुनै न कुनै रूपमा शिव ज्योतिर्मयलाई नै आफ्नो परमेश्वर वा सर्वशक्तिवानका रूपमा स्वीकार गरेको पाइन्छ । ती धर्मका धर्मपिताहरूलाई पनि ज्योतिर्मय परमात्म सत्ताको साक्षात्कार र अनुभूति भएका कथनहरू पाइन्छन् । हजरत मुसासँग आगोको झिल्काजस्तै अलौकिक शिखा (प्रकाश) ले प्रत्यक्ष वार्ता गरेको तथा आफूलाई जोहेवा परमेश्वर भएकोसमेत बताएको यहुदीहरूको विश्वास छ । इजरायल देशमा बेलफेगो अर्थात् बाले नामको शिव प्रतिमालाई ढोग्ने तथा त्यसलाई साक्षी राखी कसम खाने चलनसमेत छ । त्यसैको ठीक मिल्दो नाम भारतमा बालेश्वर नामले शिवलिङ्गको पूजा–अर्चना गरिन्छ ।

हिन्दू सनातन मान्यताभन्दा भिन्दै आस्था र विश्वास गर्ने मुख्य अन्य धर्ममा समेत कुनै न कुनै रूपमा शिव ज्योतिर्मयलाई नै आफ्नो परमेश्वर वा सर्वशक्तिवानका रूपमा स्वीकार गरेको पाइन्छ । ती धर्मका धर्मपिताहरूलाई पनि ज्योतिर्मय परमात्म सत्ताको साक्षात्कार र अनुभूति भएका कथनहरू पाइन्छन् ।

त्यसैगरी इस्लाम अर्थात् मुसलमान धर्ममा समेत शिवरात्रिजस्तै शबेरात वा शबिबरातलाई धुमधामसँग प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउने चलन छ । शोधकर्ताहरूको तर्क छ कि शबिबरात शिवरात्रिको नै अपभ्रंश हो । मुसलमानको पवित्र तीर्थ मक्का (अरबस्थित) मा संगें–असवद नामको शिवलिङ्गको आकारको प्रतिमालाई नमन गरिने तथा मक्काको सातपटक परिक्रमा गर्ने चलन छ ।

भारतवर्षमा मकेश्वर नामको शिवलिङ्गको पूजा गरिने गरिन्छ । पवित्र ग्रन्थ कुरानमा अल्लाहलाई नूर ज्योतिका रूपमा नै स्वीकार गरिएको छ । प्रसिद्ध इतिहासकार कर्नाल टाँट र हट्टनका शोधकार्यबाट सिद्ध भएको छ कि अरबको सबभन्दा प्राचीन शहरको नाम नै शिवम् थियो । पछि शिव शव हुन पुग्यो अर्थात् अधर्मको हिलोमा भासिँदै विकृत अवस्थामा पुग्न गयो । बेबोलियन सभ्यतामा शिवलिङ्गलाई शिउन नामले पुकारिन्छ । मिश्रको सभ्यतामा, चिनी सभ्यता तथा मेन्मा आदि देशमा पनि शिव प्रतिमाको नै गायन र मान्यता छ । अतः संसारभरिका प्राचीन शहरमा चाहे अमेरिकाको टेन्सी शहर होस् या दक्षिण अमेरिकाको सुरीनाममा वा जापानको आइसिस नगरमा अथवा इरानजस्ता देशदेखि युरोपका अन्य देशमा समेत इतिहासकालमा शिव प्रतिमा नै पूजन र गायनको केन्द्रबिन्दु थियो तथा हालसम्म पनि शिवलिङ्गका प्रतिमालाई त्यहाँका म्युजियमहरूमा समेत राखेको पाइन्छ ।

उपरोक्त सम्पूर्ण तथ्य तथा आँकडाबाट के सिद्ध हुन्छ भने मुख्य धर्मका धर्मपिता र पीर–पैगम्बरहरूले समेत परमात्माको स्वरूपबारे जुन सन्देश दिएका छन् त्यसमा ज्योतिर्मय स्वरूपको नै उल्लेख र महिमा गरिएको छ । प्रत्येक धर्मात्माका अँगुली परमात्मातिर जाँदा उहाँ प्रकाशमय वा ज्योतिर्मय नै हुनुहुन्छ भन्ने सङ्केत हुन्छ । संसारभरि प्राप्त शिवलिङ्गको प्रतिमाले त्यही सत्य स्वरूपलाई पुष्टि गर्दछ । भगवान् कुनै भौतिक शरीरधारी नभएर एक शाश्वत प्रकाशस्वरूप हुनुहुन्छ, त्यसैले उहाँलाई शिव अर्थात् कल्याणकारी भनिन्छ ।

शिवरात्रि पर्वको महत्वलाई अझ प्रभावकारी र कल्याणकारी बनाउन सम्पूर्ण मानव जगत्लाई यस सत्यको बोध हुनुपर्छ कि यो पर्व हामी सबै मनुष्य आत्माका पारलौकिक पिता परमात्मा शिवज्योतिर्बिन्दुले दिव्य आवतरण लिई समस्त जगत्लाई अज्ञानताको अन्धकारबाट मुक्त गर्नुभएको यादगार दिवस हो । जतिखेर समस्त जगत् विकारको वशीभूत भई त्राहीमाम थियो, मानिसले मानिसँग गर्ने आसुरी व्यवहार र दानवी कुकृतबाट पीडित थियो । त्यस अज्ञानको घोर रात्रिमा नै आएर मुक्तेश्वर, पापकटेश्वर, सर्व दुःख हरेश्वर, पापहरोहर, ओमकारेश्वर परमात्मा शिव भगवान् पशुपतिनाथले ज्ञानको सत्य प्रकाशबाट सबैको अज्ञान अन्धकार मिटाई कल्याण गर्नुभएको थियो । पशु समान नाना थरीका बोझ, बन्धन र मानसिक पीडाले लादिएको मानवलाई स्वतन्त्रता प्रदान गरेको थियो । धर्म, जाति, लिङ्ग, रङ्ग अनेक प्रकारका मतभेदबाट विभक्त मानव समाजलाई आत्मचेतनाको ज्ञान दिई हामी सबैलाई ईश्वरका सन्तान आपसमा भाइ–भाइ हौँ भन्ने जागृति गराउनुभएको थियो । त्यही महान् कर्तव्यको यादगार पर्व शिवरात्रि पछि रीतिरिवाजका रूपमा मनाउने प्रचलन हुन गयो ।

पुनः वर्तमान अत्याचार र अज्ञानको घोर रात्रिको बलामा परमात्मा शिवले आफ्नो वाहन नन्दी अर्थात् वृद्ध मानव प्रजापिता ब्रह्माको साकार शरीरमा प्रविष्ट भई संसारको पापाचार, अन्याय र अत्याचारको अन्त्य तथा श्रेष्ठाचार, सदाचार र पवित्र सृष्टिको स्थापनाको कार्य गरिरहनुभएको छ । मानव प्राणीलाई आफ्ना मनोविकारलाई भष्म गर्ने तथा दैवी गुण धारण गरी विश्व बन्धुत्वको स्नेह र सम्बन्धमा गाँसिने बेला आएको छ । यस वर्ष ब्रह्माकुमारी मिसनले आफ्नो ८२औँ शिवजयन्तीलाई परमात्म ज्ञानद्वारा शान्ति, सुस्वास्थ्य र खुसी आदर्श नाराका साथ मनाइरहेको छ । यस चेतनाका साथ शिवरात्रि मनाउनाले यस पर्वको विश्वव्यापी महत्व पुनः स्थापित हुनेछ, सबैको बुद्धियोग एक परमात्मासँग जुट्न गई मानव आत्माको दिव्यीकरणबाट सुख, शान्तिमय संसारको उदय हुनेछ । विद्यमान सबै धर्म र मान्यताका बीच सद्भाव, स्नेह, सम्मान र मेलमिलापको वातावरण पैदा हुनेछ तथा धार्मिक जगत्को सङ्कुचित भाव र हठधर्मीवादको अन्त्य हुनेछ ।