प्रवासमा विस्तार हुँदै खेलकूद, अष्ट्रेलियामा तोरल्ल कप शुरू

प्रवासमा विस्तार हुँदै खेलकूद, अष्ट्रेलियामा तोरल्ल कप शुरू


राजन घिमिरे, सिड्नी

यसै हप्तादेखि अष्ट्रेलियाको सिड्नीमा तोरल्ल कप २०१८ शुरू भएको छ ।सिड्नीको म्यारिक भिलमा शुरू भएको यो प्रतियोगितामा भलिबल र बास्केटबल समावेश गरिएको छ । प्रतियोगिताको आयोजना थकाली सेवा समिति अष्ट्रेलियाले गरेको हो ।

तोरल्लको बारेमा विभिन्न समुदायलाई जानकारी गराउनु र प्रवासमा अन्य क्षेत्र जस्तै खेलकुद विधालाई पनि अगाडि बढाउनु नै आयोजनाको उद्देश्य रहेको कुरा समितिका सहसचिव सुरज तुलाचनले जानकारी दिए । भलिबल र बास्केटबल प्रतियोगिताको फाइनल आगामी आइतबार आयोजना हुने छ भने भलिबलमा ८ र बास्केटबलमा ७ समूहले भाग लिएका छन् ।

भलिबल प्रतियोगितामा प्रथम हुनेले १२०० र दोस्रो हुनेले ७०० अष्ट्रेलियन डलर पाउनेछन् भने बास्केटबलमा प्रथम हुनेले १००० र दोस्रो हुनेले ७०० डलर जित्ने छन् ।

सन् २००३ मा स्थापना भएको थकाली सेवा समितिले आयोजना गरेको यसपटकको प्रतियोगिता विगतका दाँजोमा परिस्कृत र परिमार्जित भएको कुरा बताइएको छ । विशेष गरेर प्रतियोगिताप्रति अष्ट्रेलियामा रहेका संघसंस्था र युवाहरुको चासोले प्रवासमा खेलकुदको अवस्था बलियो हुँदै गएको कुराको आभास दिलाएको छ ।