प्रचण्डका अघिल्तिर कुवेर कंगाल

प्रचण्डका अघिल्तिर कुवेर कंगाल


प्रिय प्रचण्ड,
आफ्नो हुलिया बदलेर
हाम्रो भेडा चर्ने लेकको बाटो गरी
चिप्ले कीराझैं लुसुक्क लस्कँदै
नयाँ नेपालको दियो सल्काउन
रोल्पाका सुदूर गाउँमा अँध्यारो टेक्दै आउँदा
हत्केलामा दिएको फुको नुन र
डढेको फापरको रोटी
तिमीलाई मीठो लाग्दथ्यो
हाम्रा झुत्रा, झाम्रा, गन्हाएका काम्लोमा
आफ्नो अजङ्गको ज्यान पट्याइपुटुई गरेर
रातभर पिँढीमा गुल्टँदा
कति मीठो सुतें भन्ने गर्दथ्यौ
भेडाका हुल, चौंरीको गोठ र
फापरबारी मात्रै देखेका
गाउँका यी सुधा आँखामा
सुनका सपना पोतिदिएर
हाम्रा सकल मनलाई
ढकमक्क फुलेको आरूको बोटजस्तै
बनाइदिएका थियौ
आहा !
तिम्रो चौडा जुँगाजस्तै
तिम्रो मन पनि चौडा थियो
तिमी देउताजस्तै लाग्दथ्यौ प्रचण्ड
डाँडा–पाखा मगमगाउने फूलको बिहानी
दिन्छु भनी
तिमीले मेरा नानीहरूको कानकानमा
गीत गाउँदा
उनीहरू पुतलीजस्तै फुर्केका थिए
उनीहरूको स्याउजस्तै गाला र
गुराँसको फूलजस्तै ओठहरू अझै सम्झनामा छ
मेरी छोरीकै छाती उक्सिएकै थिएन
छोराको ओठमाथि
जुँगाको रेखी बस्न बाँकी नै थियो ।
तिमी ललिपप गीत गाउँदै जब वनतिर लाग्थ्यौ
उनीहरू तिम्रै पछि दौडिए
लालीगुराँसको वन छिरेपछि
उनीहरूलाई मान्छेभन्दा लामा बन्दुक भिराएर
महान् योद्धा भयौ भनी तिमीले नमन गर्दा
उनीहरूको मन बन्दुकजस्तै तन्किएछ
जब तिमीले क्रान्तिको आगो झोस्यौ
उखुबारीमा डढेलो पसेझैं
देश पड्कन थालेछ
मेरा नानीहरू निर्भीक आगोमा कुदेछन्
तिमी किनाराबाट ढोल बजाउँदा रहेछौ
उनीहरू फेरि फर्केर आएनन्
हाम्रा चुल्होको आगोले न्यानो हुन्थ्यो
तिम्रो आगो त कति निष्ठुर रहेछ प्रचण्ड ।
अनि त्यति निष्ठुर आगोले
तिमीलाई चाहिँ छुस्ससम्म पनि छोएनछ
तिम्री श्रीमती, छोराछोरी कसंलाई पनि
फिलिङ्गोले सम्म डामेन अरे
त्यति त जाती नै भएछ
देशमा रगतको खोलो उर्लेर बग्दा
तिम्रो परिवारमा कसैको छालासम्म खोस्रिएनछ
जनताका छोराछोरी कीरा, भुसुनासरि मासे पनि
देशलाई भुङ्ग्रोमा घँचेटे पनि
आफ्नो परिवारको जनत राम्रै गरेछौ
परिवार रक्षाका लागि तिमीलाई बधाई दिनैपर्छ
अहिले त तिमी
ठूलो महलमा बस्छौ अरे
लालीगुराँस जस्तो रातो र
हिउँजस्तै सेतो रङले पोतिएको
तिम्रो घरको अनौठो बान्कीले
काठमाडौं चम्केको छ भन्छन्
इन्द्रलोकजस्तै
फूलहरूले ढकमक्क तिम्रो घरपरिसरमा
तिमी फूलसँग
फूल तिमीसँग मुस्कुराउँदा
तिम्री श्रीमती बार्दलीमा टोलाउँछिन् अरे
कहिले चम्पा–चमेली, कहिले सुनगाभा–सयपत्रीमा
भुनभुनाउने भमरालाई
आफ्नै छोराले हराउँदा
कलियुगको कृष्णको झुलनामा
तिम्रो घर झुलेको छ भन्छन्
तिम्रो शयनकक्षको फूलबुट्टे गलैंचा
फूलजस्तै मगमगाउँछ अरे
सुनबुट्टे पलङमा तिमी सुकला हुँदा
इन्द्रलोक हार्छ अरे
मोती रङको गुलावजल भरेर तिमी पौडँदा
ऐशको अन्तिम सीमा छुन्छौ अरे
आहा !
तिमी अति वैभवशाली भएछौ
तिम्रो गुप्त सम्पत्ति देख्दा
कुवेरले आफैंलाई कङ्गाल भन्छन् अरे
प्रचण्ड
के तिमीले हामीलाई दिन्छु भनेको जिन्दगी तिम्रोजस्तै हो ?
द्वारपाले, बगैंचे, सुसारे, टहलुवा
भान्से, चाकर, परिचारक, परिचालक र रक्षागणले भरिएको
तिम्रो घरको फुलजडी जिन्दगीले
उहिलेका राजा–महाराज बिर्साउँछ
तिमीले चढ्ने गाडीजस्तै चिल्लो तिम्रो गाला
तिम्रो गालाजस्तै चिल्लो तिमीले चढ्ने गाडी
आहा
तिमी त संभ्रान्त भइसकेछौ नि प्रचण्ड
त्यसैले होला
हिजो तिमीले गाउने गरेको वर्गसङ्घर्षको गीत
आफैंलाई घाडो भएझैं
चाइँचुइँ गर्न छाड्यौ
तिमी चतुर छौ
जनतालाई अलमल्याउन जातजातलाई उचालेर
देशलाई अँध्यारोतिर घचेट्दै छौ
कठै के गर्‍यो यो जातले
तिमी बाहुन महलको फूलजडी जिन्दगी जिएका छौ
तिमीजस्तै अर्को बाहुन
पशुपतिमा लास पोलेर परिवार पाल्छ
तिम्री बाहुनी अक्षरको जिन्दगी जिउँछिन्
अर्की निमुखी बाहुनी उनकै सारी धुन्छिन्
तिम्रो घरको बाहुन ठिटो राशलीलामा व्यस्त छ
जनयुद्धको टुहुरो अर्को बाहुन बिचरो
तिम्रै शसहरको फोहोरको रासमा पेट पाल्ने सङ्घर्ष गर्दै छ
देशभरि सुनको जिन्दगी र खोलेको जिन्दगी छ
सुनको र खोलेको कुरा गर
महलको र झोपडीको कुरा गर
सुटबुट र नाङ्गो आङको कुरा गर
माक्र्स, लेनिन, माओले वर्गको कुरा गरे
तिमी जातको कुरा गर्छौ
के तिमाीले बुझेका माओवाद जातजातलाई लडाउने हो ?
ख्याल गर प्रचण्ड
काशी जान कुतीको बाटोबाट पुगिँदैन
नेपाली जनता सधैं झुक्किँदैन
अब गरिबहरूले तिम्रैविरुद्ध लड्ने छन्
सहिद बनेका मेरा नाबालक छोराछोरीको कसम
म अब मोर्चा सम्हाल्नेछु
रोल्पा फेरि जाग्नेछ ।
– अग्निशिखा
भरतपुर, चितवन