यसपछि आयो प्रचण्डमा गम्भीर रणनीतिक विचलन

यसपछि आयो प्रचण्डमा गम्भीर रणनीतिक विचलन


– रवीन्द्र श्रेष्ठ

जनयुद्धको दशवर्षे अवधिमा जनसेनाले अनेकौँ जीत र हार ब्यहोरेको थियो । तर, रुकुम जिल्लाको खारा गाउँमा रहेको शाही सेनाको क्याम्पमाथि दोश्रोपटक सही निशाना छनोट नगरी तथा माओवादी युद्धनीति विपरीत आक्रमण गर्ने निर्देशन प्रचण्डले दिनु रणनैतिक तवरले गम्भीर गल्ती सावित हुन पुग्यो । खारामा दोश्रोपटक ०६१ चैत्र २५ गते भएको आक्रमणमा जनसेनातर्फ गम्भीर क्षति भएर १८ घण्टासम्म लडाइँ गर्दा पनि जित्न नसकेपछि प्रचण्ड स्वयममा आएको रणनैतिक विचलन नै जनयुद्ध, जनसेना र जनसत्तालाई विसर्जन गर्ने कारण बन्यो ।

०६१ साल चैततिरको स्थिति भनेको ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा पुरै लिएर शाही शासन चलाउन शुरु गरिसकेको स्थिति थियो । काङ्ग्रेस एमाले लगायतका संसदीय दलहरूलाई राजा ज्ञानेन्द्रले सत्ताबाट सडक र जेलमा पुऱ्याई शाही सेना र प्रशासनको बलमा प्रत्यक्ष शासन चलाउन थालिसकेको बेला थियो । यता माओवादीभित्रको अन्तरकलहले उच्च रुप लिएपछि बाबुराम कारवाहीमा परिसकेका थिए भने भारतमा आश्रय लिएर बस्ने बानी नसच्याएका वरिष्ठ नेताहरू मोहन वैद्यलगायत अन्य कयौँ केन्द्रिय सदस्यहरू समेत पनि भारतमा गिरफ्तारीमा परिसकेका थिए । भारतमा खतरा पैदा भएपछि र झण्डै दिल्लीमा गिरफ्तार पर्न लागेपछि प्रचण्ड नेपाल फर्केर रोल्पामा बस्न थालेका थिए ।

माघ १९ को शाही ‘कू’अगाडि धादिङको कृष्णभीरमा शाही सेनाविरुद्ध दिउँसै भएको सफल आक्रमण तथा कैलालीको पण्डौनमा शाही सेनाको रेन्जर बटालियन विरुद्ध सफल कारवाही भए पनि माघ १९ को शाही ‘कू’पछि भने जनसेनाका केही कमाण्डरहरूमा पलाएको अति उत्साह तथा लापरवाही र शाही सेनामा पलाएको उत्साहका कारणले वर्दियाको गणेशपुर तथा लमजुङको भीरपुस्ताङमा जनसेनाले गम्भीर क्षति ब्यहोर्नु प¥यो । माघ १९ पछि जनसेनाले हार्न थालेको परिस्थिति उल्टाउन तथा शाही ‘कू’ विरुद्ध एक ठुलो केन्द्रिकृत आक्रमण गरेर फौजी तथा राजनैतिक पहलकदमी लिन आवश्यक भैसकेको थियो । साथै बाबुराममाथिको कारवाहीबाट पार्टीभित्र तथा बाहिर पैदा भैरहेको अनेक आशंका हटाउन पनि एक उच्च प्रकृतिको सफल फौजी कारवाही आवश्यक भैरहेको बेला थियो ।

तर, प्रचण्डले तथा जनसेनाका केही कमाण्डरहरूले गलत निशाना छनोट गरे । रुकुम जिल्लाको खारा गाउँमा रहेको शाहीसेनाको क्याम्प रुकुम, रोल्पा र सल्यानको सीमानामा रहेको हुनाले यसले तीनवटै जिल्लामा माओवादी सत्ता सुढृद गर्न चुनौती दिइरहेको थियो । माओवादी आधारक्षेत्रभित्रको शाही सेनाको क्याम्प भएको हुनाले त्यहाँ आक्रमण गर्न तयारी गर्ने ठाउँ तथा जनसमर्थन मिल्ने जस्ता सकारात्मक पक्ष भए पनि यो क्याम्पको भूगोल आक्रमण गर्न जाने जनसेनाका लागि अत्यन्तै प्रतिकुल थियो । यो क्याम्प पहाडको टाकुरामा थियो र त्यहाँ पुग्न दुईतिरबाट मात्र सम्भव थियो तथा दुईतिर चढ्नै नसकिने भीर थियो । शाही सेनाको क्याम्पबाट ढुङ्गा मात्र लडाए पनि तलबाट आक्रमण गर्न जानेहरू मारिने खालको थियो । बेलायती सेनाका एक जनरल साय्म कोवानका अनुसार सो खारा क्याम्पमा तलबाट माथि आउनेहरू सबै आक्रमणकारीहरूमाथि मेशीनगनले सजीलै निशाना लगाउन सकिने गरी ट्रेन्च र बङ्करहरू बनाइएको थियो । साथै पहिला पनि ०५९ जेष्ठ १३ गते सो क्याम्पमा जनसेनाले आक्रमण गरिसकेको र त्यो बेला जनसेना हार खाएर फर्कन परेकोले जनसेनामा एक प्रकारको मनोवैज्ञानिक नकारात्मक प्रभाव बाँकी नै थियो ।

प्रचण्डले जनयुद्ध बिसाएर संसदीय व्यवस्थामै फर्कने सोच बनाउन थाले र बाबुरामको कारवाही फुकुवा गर्ने आश्वासन दिएर बाबुरामलाई भारतीय सरकारसँग कुरा गर्न दिल्ली पठाए । बाबुरामले भारतीय सरकारसँग कुरा गरिसकेपछि प्रचण्ड पनि दिल्ली गए र भारतीय सरकारको सहयोगमा १२ बुँदे सहमति गरी जनयुद्ध, जनसेना, जनसत्ता विसर्जन गर्दै पुरानो एकल राजतन्त्रको बदलामा नयाँ बहुराजातन्त्र स्थापनाको बाटो लागे ।

पहिला पनि आक्रमणमा परिसकेको हुनाले शाही सेनाले सो क्याम्पलाई निकै बलियो आधुनिक तरिकाले किल्लाबन्दी (फोर्टिफिकेसन) गरिसकेको थियो । विपक्षीका मजबुत किल्लाबन्दी गरिएको क्याम्पहरूमाथि भन्दा पहिला कमजोर क्याम्पहरूमा आक्रमण गर्ने र कमजोर क्याम्पहरू नभएमा विपक्षी सेनालाई क्याम्पबाट बाहिर अपरेशनमा निस्कन विभिन्न तरिकाले लोभ्याएर वा वाध्य पारेर त्यस्ता मजबुत क्याम्पबाट बाहिर आएको बेलामा आक्रमण गर्ने माओवादी युद्ध–नीतिविपरीत प्रचण्डले खाराको सो मजबुत क्याम्पमाथि नै आक्रमण गर्ने योजना बनाए । यो पंक्तिकारलगायत केही कमाण्डरले यो निशाना छनोट नगरौँ भनी आग्रह गरे पनि प्रचण्डले मानेनन् र उल्टै केही कमाण्डरलाई कायरता देखाएको आरोपसमेत लगाउन पुगे ।

अर्कोतिर सो आक्रमणको योजना बनाउने क्रममा प्रचण्ड उपस्थित बैठकमा एक डिभिजन कमाण्डरले दुई दिन लड्नुपर्ने योजना पेश गरेका थिए भने अर्का डिभिजन कमाण्डरले एक दिन एक रात लड्ने योजना पेश गरेका थिए । तर प्रचण्डले भने सके एक दिनमा कब्जा गर्ने नसके दुई दिन लडेर भएपनि कब्जा गर्ने भन्ने निर्देशन दिए । यसले गर्दा बुझाई फरक पर्न गयो र त्यस आक्रमणमा सहभागी दुई डिभिजनमध्ये एक डिभिजनले दुई दिनको योजना बनायो भने अर्को डिभिजनले एक दिनको योजना बनायो, जसले गर्दा पनि असफलताको लागि थप आधार बन्यो ।

उपरोक्त कारणहरूले गर्दा प्रचण्ड स्वयमले बनाएको सो आक्रमणको योजना पूर्ण रुपले पराजित भयो । बेलायती सेनाका एक जनरल साय्म कोवानले यस आक्रमणको योजनालाई प्रचण्डको मूर्खता भनेका छन् । यस असफल आक्रमणपछि प्रचण्डको मन–मस्तिष्कमा गम्भीर रणनीतिक विचलन आयो । यसपछि जनयुद्ध अब पूर्ण विजयतर्फ अगाडि बढाउन सकिन्न भन्ने निश्कर्षमा प्रचण्ड पुगे । तसर्थ, प्रचण्डले जनयुद्धलाई भारतको सहयोगमा बिसाएर संसदीय व्यवस्थामै फर्कने सोच बनाउन थाले र बाबुरामको कारवाही फुकुवा गर्ने आश्वासन दिएर बाबुरामलाई भारतीय सरकारसँग कुरा गर्न दिल्ली पठाए । बाबुरामले भारतीय सरकारसँग कुरा गरिसकेपछि प्रचण्ड पनि दिल्ली गए र भारतीय सरकारको सहयोगमा १२ बुँदे सहमति गरी जनयुद्ध, जनसेना, जनसत्ता विसर्जन गर्दै पुरानो एकल राजतन्त्रको बदलामा नयाँ बहुराजातन्त्र स्थापनाको बाटो लागे । अहिले त्यसै बहुराजातन्त्रको मारमा नेपाल र नेपाली जनताको पिसिने पालो आएको छ ।