दोश्रो बेसीशहर महोत्सवको तयारी अन्तिम चरणमा

 दोश्रो बेसीशहर महोत्सवको तयारी अन्तिम चरणमा


सोमाबारदेखि शुरुहुने दोश्रो बेसीशहर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक लमजुङ उद्योग बाणिज्य सँघ बेसीशहर इकाईले पत्रकार भेटघाटको आयोजना गरी महोत्सवको तयारी बारे जानकारी गराएको हो ।

माघ २९ देखि फागुन ८ गतेसम्म हुने महोत्सवको लागि आन्तरिक एवं भौतिक तयारीलाई तिव्र बनाइएको हो । महोत्सवका लागि बेसीशहर बजारलाई ध्वजापताकाहरुले सजाईएको छ ।

महोत्सव सफल बनाउनको लागि ३५१ सदस्यीय मुल आयोजक समिति, १३ सदस्यीय कार्यसम्पादन समिति र ३१ वटा उपसमिति बनाइएको महोत्सवका संयोजक प्रदिप बस्नेतले बताए । उनका अनुसार सवै उपसमितीले सक्रियताका साथ कार्य सम्पादन गरिरहेका छन् ।

महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ‘हाम्रो नगर, राम्रो शहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर’ भन्ने नारका साथ हुने महोत्सवबाट बेसीशहरको विकासमा टेवा पुग्ने अपेक्षा सहित महोत्सव आयोजना गरीएको हो ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रर्दशनी, फोटो तथा बृत्तचित्र प्रर्दशनी, परम्परागत खाना महोत्सव, साहित्यिक कार्यक्रम राखिने भएको इकाइका कोषाध्याक्ष विपिन श्रेष्ठले जानकारी दिए ।

यस्तै, झाँकी तथा ¥याली, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, विज्ञान तथा आइटी प्रदर्शनी, पुष्प प्रदर्शनी, आन्तरिक पर्यटन प्याकेज टुर, कार्यशाला गोष्ठी लगायतका कार्यक्रम गरिने लउवा संघका अध्यक्ष राजेश थापाले जानकारी दिए । उनका अनुसार बेसीशहर महोत्सव बेसीशहरबासीको मात्रै नभई आम लमजुङेको पनि भएको भन्दै सबैले महोत्सवलाई सफल बनाउन आग्रह गरेका छन् ।