सकसमा ‘कम्युनिस्ट आवरण’को गठबन्धन

सकसमा ‘कम्युनिस्ट आवरण’को गठबन्धन


– ई. महेन्द्र पराजुली

वाम गठबन्धन भन्दै नेपालमा समाजवाद स्थापना गर्ने ‘ठेक्का’ लिएका एमाले र माओवादी केन्द्रबीच भएको २०७४ असोज १७ को तथाकथित गठबन्धनपछि एमाले र माओवादी केन्द्रले वाम शब्दकै दुरुपयोग गरेको अनुभूति भएको छ । कित्ताकाटसहित अन्य साना वाम दललाई अछुतको व्यवहार गर्दै उनीहरूलाई किनारा लगाउन साना दलको अस्तित्व र औचित्य स्वीकार नगरेको अवस्था छ । एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आगामी यात्रा कसरी तय गर्छ ? गठबन्धनको भविष्य के हुन्छ ? गठबन्धनमा के–कस्तो उतारचढाव आउँछ ? गठबन्धनमा गतिरोध आई जटिल बन्दै धरापमा परी विगत दोहोरिन्छ कि दोहोरिँदैन ? यी र यस्तै प्रश्नको सेरोफेरोभित्रै नेपालको कम्युनिस्ट आन्दोलन घुम्ने देखिन्छ ।

कम्युनिस्ट आन्दोलनमा देखापरेको विचलनका कारण विश्वमै कम्युनिस्ट शासनसत्ता धरापमा परी गठन–विघटन हुँदै, टुटफुटको पीडा भोग्दै, टुक्रा–टुक्रा भई केही देशमा मात्र अस्तित्वमा या प्रतीकस्वरूप रक्षात्मक अवस्थामा रहेको परिस्थितिमा नेपालमा कम्युनिस्ट शासन आउँछ र समाजवाद स्थापना हुन्छ भन्ने तर्क गर्नु सोम शर्माको सातुको कथाजस्तै हो । अर्काेतर्फ बहुमतको दम्भ प्रदर्शन गरिरहेको वाम गठबन्धन सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख हुँदैन भन्ने कुनै विश्वासिलो र दरिलो आधार पनि फेला परेको छैन, बरु संशय बढाएको छ । विजय उन्मादमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट नियुक्त प्रदेश प्रमुखबाट शपथ नलिने ऐलान गर्नु, राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई अनुचित दबाब र सरकारलाई चेतावनी दिनु सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख नियोजित रूपको पूर्वसङ्केत या पृष्ठभूमि नै हो भन्छन् विश्लेषक । समयले यसको पटाक्षेप गर्ने नै छ । अहिले नै यत्तिचाहिँ भन्न सकिन्छ कि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कम्युनिस्टको रूप स्याललाई बाघको छाला ओडाइदिएजस्तै देखावा मात्र हो ।

वाम गठबन्धनका उत्तेजक–भ्रामक कुरा, विचार, विज्ञप्ति र वक्तव्यहरू खुद्रा व्यापारीका सडे–गलेका बिकाउ बजारू मसलाका रूपमा विरोधाभाषपूर्ण र शङ्कास्पद रूपमा रहिआएका छन् । गणतन्त्र नेपालको संविधान जारी भएपछि कार्यान्वयनमा लैजाने पहिलो मौका र अवसर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले पाए पनि ओली सरकार निर्वाचन गराउन असफल र अक्षम हुँदै पदच्युत भएको थियो । त्यसबेला ओली सरकार राष्ट्रिय एकता र सद्भावको बाधक बन्यो । सामरिक महत्वको देश नेपालमा तत्कालिन ओली सरकारले अख्तियार गरेको परराष्ट्र नीतिकै कारण छिमेकी मित्रराष्ट्रलगायत अन्य पश्चिमा मुलुकले खेल्ने मौका पाई नेपालमा प्रभाव बढाए । उनीहरूको दबदबा बढ्दो छ ।

कम्युनिस्ट आन्दोलनमा देखापरेको विचलनका कारण विश्वमै कम्युनिस्ट शासनसत्ता धरापमा परी गठन–विघटन हुँदै, टुटफुटको पीडा भोग्दै, टुक्रा–टुक्रा भई केही देशमा मात्र अस्तित्वमा या प्रतीकस्वरूप रक्षात्मक अवस्थामा रहेको परिस्थितिमा नेपालमा कम्युनिस्ट शासन आउँछ र समाजवाद स्थापना हुन्छ भन्ने तर्क गर्नु सोम शर्माको सातुको कथाजस्तै हो । अर्काेतर्फ बहुमतको दम्भ प्रदर्शन गरिरहेको वाम गठबन्धन सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख हुँदैन भन्ने कुनै विश्वासिलो र दरिलो आधार पनि फेला परेको छैन, बरु संशय बढाएको छ ।

राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन र असम्भव कुरा केही पनि हुँदैन, सम्भावनाका ढोका सबै खुला हुन्छन् भन्ने मान्यताको पुष्टि गरे एमाले र माओवादी केन्द्रले गठबन्धनलाई हट केक बनाउँदै । सत्ता र शक्तिका लागि जे–जस्तो, जायज–नाजायज काम गर्न पनि तयार हुन पछि नपर्ने राजनीतिका चतुर प्रचण्डले नेपाली काङ्ग्रेससँग सत्ता–साझेदारी गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमै बसी प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल र गठबन्धन गरेर प्रतिपक्षी दलको जस्तो भूमिका निभाए । आफ्ना मन्त्री बिनाविभागीय हुँदासमेत जुकाझैँ टँसाएर स्रोत र साधनको चरम दुरुपयोग गर्दै राज्य–ढुकुटीको दोहन गर्नु, प्रधानमन्त्रीको राजीनामा माग्नु, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गराउन भूमिका नखेल्नुले माओवादी केन्द्रको आचरण र नैतिकतामाथि प्रश्नचिह्न लाग्न पुग्यो । वास्तवमै माओवादी केन्द्र पछिल्ला दिनमा थप उदाङ्गिएको छ, नाङ्गिएको छ । के राजनीति भनेको सत्ता प्राप्तिको खुड्किलो मात्र हो र ? यसैका लागि १० वर्षे तथाकथित जनयुद्ध लडेको हो र ? विद्रोह गरी प्राप्त गरेको उपलब्धि गुमाएको अवस्था होइन र यो ? १० वर्षे जनयुद्धको साँवाको ब्याज कहिलेसम्म खाइरहने ? जनयुद्धको रटान कहिलेसम्म रटिरहने अनि भजाइरहने माओवादीले ? माओवादी केन्द्रले यसको सफाइ दिनुपर्ने कि नपर्ने ?

सुशीला कार्कीमाथिको महाअभियोग, आईजीपी प्रकरण, जम्बो मन्त्रिमण्डल क. पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा बखत गाँसिएका मुद्दा हुन् । भलै यो सरकारमा नेपाली काङ्ग्रेसको समेत सहभागिता थियो । सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड आफू पानिमाथिको ओभानो बन्दै दोषजति काङ्ग्रेसको भागमा र जसजति आफ्नो पोल्टामा पार्न सफल भए । जब कि दोषको ठूलो अंश र जवाफदेहिता पनि माओवादी केन्द्रकै हुनुपर्ने हो । यो विषय गौण बन्न पुग्यो । राजनीतिमा यो बेइमानी हो । माओवादी केन्द्रले निर्लज्ज व्यवहार प्रदर्शन ग¥यो । जनाधार कमजोर भई खस्केकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बाध्यतावश एमालेसँग चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्नेसम्मको आँट देखाई खतरा मोले । माओवादी केन्द्रको १० वर्षे हत्या, हिंसाको स्वामित्व एमालेले पनि लिएको ठहर भयो । आखिर एमाले र माओवादी केन्द्र एउटै सिक्काका दुई पाटा न रहेछन् !

नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फालेको जाल एमाले अध्यक्ष क. केपी शर्मा ओलीले काटिदिए । देउवाको बल्छी माओवादी केन्द्रका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले निलेर पचाइदिए । देउवाले थापेको पासोमा केही पनि परेन भने दुवाली वाम गठबन्धनको भेलले बगाइदियो । शेरबहादुरले लगाएको तगारो भत्कियो भने दागेको गोली मिसफायर मात्र होइन ब्याकफायरसमेत भयो । तीर निसानामा लागेन । तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुन पाउँदा प्रफुल्ल र हँसिलो मुद्रामा गद्गद् हुँदै ‘न्याय नपाए गोरखा जानू भन्ने गरिन्थ्यो, मलाई गोरखाका राजाबाट न्याय मिल्यो’ भनी चस्मा र टोपी मिलाउँदै सगौरभ उद्घोष गर्ने शेरबहादुर देउवा अक्षमको बात लागि उनै राजा ज्ञानेन्द्रबाट अपदस्त भएजस्तै ०७४ को आमनिर्वाचनमा चितवनका राजा क. पुष्पकमल दाहाल प्रचण्डबाट अपदस्त भए । निर्वाचन गराउन अक्षम भनी पूर्वराजा ज्ञानेन्द्रले लगाएको आरोपको दाग मेटाउन सफल भए पनि पार्टी तथा सरकार सञ्चालनमा असफल र अक्षम भनी लागेको आरोपको दाग मेटाउन देउवाका लागि चुनौतीपूर्ण छ ।

केही महिनाअघि माओवादी केन्द्रको हँसिया पैँचो लिएर सभापति देउवाले काटेको रूखको हाँगो पलाउन र माओवादी केन्द्रकै हथौडाले भत्काएको काङ्ग्रेसको घर रिनोभेसन गर्न केही समय त पक्कै लाग्छ नै । देउवाका जायज–नाजायज हतियारमा खिया लागि सबै भुत्ते साबित भए । क. प्रचण्डसँगको लगनगाँठो महँगो साबित भयो । देउवाले पार्टी दाउमा लगाएकै कारण ठूलै मूल्य चुकाउन बाध्य भयो काङ्ग्रेस ।

०४६ सालपछि भएका ६ वटा आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले ०७४ मा आफ्नो इतिहासमै लज्जाजनक र सर्मनाक हार व्यहोरेको छ । नेपाली काङ्ग्रेस हिलोमा फुलेको कमल, काँडाबीच फक्रिएको गुलाफ, मौलाउने दुबो अनि सागरको पिँधको मोतीजस्तै हो, तर दुर्भाग्य नै भन्नुपर्छ यस्तो पार्टीका माली र माझी भने गोडमेल, मलजल र स्याहार–सम्भार गर्नेतर्फ कर्तव्यविमुख हुँदै गए विशेष गरेर ५० को दशकपछि । इमानदार प्रयास कहिल्यै भएन । त्यसमा पनि एक कदम अगाडि देखिए नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा । ०४८ देखि अपराजित डडेल्धुरामा आफ्नो बिरासत जोगाउन सफल भए पनि काङ्ग्रेसको साख र बिरासत जोगाउन देउवा असफल र अक्षम भए । देउवाको कद र उचाइ घटेको छ भने छवि ओरालो लागेको छ ।

केही महिनाअघि माओवादी केन्द्रको हँसिया पैँचो लिएर सभापति देउवाले काटेको रूखको हाँगो पलाउन र माओवादी केन्द्रकै हथौडाले भत्काएको काङ्ग्रेसको घर रिनोभेसन गर्न केही समय त पक्कै लाग्छ नै । देउवाका जायज–नाजायज हतियारमा खिया लागि सबै भुत्ते साबित भए । क. प्रचण्डसँगको लगनगाँठो महँगो साबित भयो । देउवाले पार्टी दाउमा लगाएकै कारण ठूलै मूल्य चुकाउन बाध्य भयो काङ्ग्रेस । निर्वाचन परिणाम गलपासो भयो देउवाका लागि । इतिहासले माफ गर्ने छैन देउवालाई । राजनीतिक कौशलता प्रदर्शन गर्न सकेनन् देउवाले, उनको बहिर्गमन सहज र सुखद रहेन । देउवाको विगत जान्दाजान्दै १३औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन कम्मर कसेर, हात धोएर लाग्ने देउवाका भित्रिया भारदारहरू नै अहिले आएर पछुतो गर्दै छन् । धारेहात लगाउँदै पदत्याग गर्न उनै देउवामाथि दबाब सिर्जना गर्दै छन् । अन्तरविरोधका स्वरहरू सुनिन थालेका छन् । देउवालाई मात्र दोष दिएर उनीहरू उम्कन पाउँदैनन् । दोषको अंशको भागी उनीहरू पनि छन् । नैतिक जिम्मेवारी उनीहरूको पनि हो ।

स्थानीय, प्रदेश र सङ्घीय आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले व्यहोरेको लज्जाजनक पराजय र वाम गठबन्धनले प्राप्त गरेको विजयले नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रको आन्तरिक राजनीति तरङ्गित भएको छ भने राजनीतिक बजार तातेको छ । निर्वाचनमा कमजोर नतिजा निकालेपछि नेपाली काङ्ग्रेसभित्र पार्टीको पुनर्संरचना गरी आमूल परिवर्तन र विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्नेबारे बहस सुरु भएको छ । यसको रक्षा–प्रतिरक्षामा सभापति पक्षधर र विस्थापित गर्ने पक्ष जोडतोडका साथ जुटेका छन् । अर्काेतर्फ एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको आन्तरिक जोडघटाउ उत्कर्षमा छ । कस्तो र कसको अनुकूलको परिणाम आउने हो त्योचाहिँ पर्खनैपर्ने हुन्छ ।

(लेखक सहिद श्रीप्रसाद पराजुलीका पुत्र हुन् ।)