यही छ अनुरोध यही छ शुभकामना !

यही छ अनुरोध यही छ शुभकामना !


– उमा घिमिरे

नयाँ वर्ष पचहत्तरको शुभकामना
नयाँ साल नयाँ सत्ता नयाँ सरकारहरू
अझ भनौँ ओली सरकार अनि राष्ट्रपति
भण्डारीज्यूलाई थप कार्यकालको शुभकामना

तिता नमिल्दा कार्यहरू २०७४ ले सच्याई–
पाउँ भनी बाई–बाई गर्दै गयो
नयाँ साल ०७५ ले संसार खोली नयाँ विहानी ल्यायो ।

पुराना सालका महानवाणीहरू आत्मसात गर्दै
त्रुटीहरू केलाउँदै कमी–कमजोरी छान्दै

अबका नयाँ शासकहरू हातेमालो गर्दै
होस्टे–हैँसे गरी अघि बढ्दै एकतामा प्रतिबद्ध हुँदै ।

सत्ता लिप्सा स्वार्थ त्यागी आर्थिक प्रलोभन छोड्दै
सबै जातिी धर्म वर्णका साथ अघि बढ्दै, मातृभूमिको दूधको भारा पूरा गर्दै ।

नयाँ साल नयाँ सत्ता नयाँ शासकहरू
अझ भनौँ ओली सरकार अनि राष्ट्रपति–
भण्डारीज्यूको थप कार्यकालको शुभकामना !!

हिजोआज समाजमा अपराध बढ्दैछ
नारी अस्मितामाथि अझ खेलबाड हुँदैछ
सीमित सभ्य भनाउँदाबाट फूल चुँडिदैछन्
फक्रिन नपाई फूलहरू धर्तीबाट बिलीन हुँदैछन्

बँगैचाका डालीबाट कोपिलाहरू निमोठिएका छन्
स्तन चुस्ने बालिकाहरू बलात्कृत भएका छन्
मातृस्नेहमा खेल्ने नानीहरू
समाज कल्याणतिर आश्रित हुन पुगेका छन् ।

दिनदहाडै नानीहरू अझ लुटिँदैछन्
सभ्य समाज हाम्रो देशको अभिभावकै विटुला
हाडनाता बाबु, दाजु, काका, मामा आदि
उनैका कुदृष्टिमा कोपिला फूल असुरक्षित छन् !

यसैले ‘कोपिला फूल बचाउ अभियान’ कार्यान्वयनको खाँचो
सात प्रदेश संघीय देशमा बिगुल फुक्नुपर्यो
धर्तीमाताको रोदन–चित्कार हामीले बुझ्नुपर्यो ।

अनुरोध छ राष्ट्रपति हजुरलाई विलापमा परेकी प्रत्येक माताको
चिरिएको छातीमा मल्हम लगाउने बेला आएको छ
बर्णशंकर धर्तीपुत्रबाट आफ्नै पुत्रीहरू अपवित्र छन् ।

प्रथमतः ारी अस्मिता जोगाउन जरुरी छ
बालिका बचाउ अभियान चलाउनु जरुरी छ
समाजबाटै बालिका बलात्कार जघन्य अपराधलाई
निर्मुल पार्न हजुरको साथ आवश्यक छ

पितृसत्तात्मक राज्य भएर होला
पीडकले उन्मुक्ति पाउने गरेको छ
साधारण जेल सजायले तिनलाई थप हौसला दिएको छ
त्यसैले अब नारीको सत्ता आवश्यक लागेको छ ।

बलात्कारीलाई जेल होइन अब पुरुषत्व नै गुमाइदिनुपर्छ
पचास पारका पीडक भए मृत्युदण्ड नै हुनुपर्छ ।
नाबालक पीडक अपराधी भए नसिहत दिई सतर्क गराउनुपर्छ ।

नयाँ साल, नयाँ सत्ता नयाँ शासकहरू
अझ भनौँ ओली सरकार अनि राष्ट्रपतिज्यूलाई
यही छ अनुरोध अनि यही छ शुभकामना !!!

– घट्टेकुलो, काठमाडौं