यसकारण उनीहरू भनिरहेका छन्- ‘बगेको खोला फर्कन्न’

यसकारण उनीहरू भनिरहेका छन्- ‘बगेको खोला फर्कन्न’


– स्वयम्भूनाथ कार्की

सर्वमान्य भनाइ छ, ‘इतिहासले आफैँलाई दोहोऱ्याउँछ ।’ तर यो निश्चित हो कि दोहोरिएको इतिहास चलचित्रको अर्को प्रदर्शनझैँ सबै कुरा जस्ताको तस्तै भएर हुँदैन । पात्र फरक हुन सक्छन् । केही परिस्थिति फरक हुन्छन् । तर, यो सत्य हो इतिहास दोहोरिन्छ । खोलामा बगेको पानी पनि फर्केको हुन्छ । कुरो यत्ति हो कि मुहानबाट महासागर जाने बाटो र महासागरबाट मुहान आउने बाटो फरक हुन्छ । प्रक्रिया पनि फरक हुन्छ । संसारको सबै प्रक्रिया नै यस्तै चक्रिय पद्धतिले चलेको छ । त्यसैले निर्धक्क भएर भने हुन्छ ‘बगेको खोला अवश्य फर्कन्छ ।’

राजनीतिक क्षेत्रमा त झन् कुनै कुरा असम्भव नै हुँदैन । अन्धसमर्थकहरूले ‘युगपुरुष’ घोषणा गरेका गिरिजाबाबुले प्रतिनिधिसभा पुनस्र्थापना गराइछोडेर यो कुरा प्रमाणित गरिदिएका हुन् । ४७ सालमा बहुदलीय व्यवस्था पनि नयाँ आएको होइन ‘पुनर्स्थापना’ भएको हो । बगेको खोला फर्कन्न भन्नेलाई यो थाहा नभएको पनि होइन । सबैले जानेको कुरा नै हो विरोध सजिलो हुन्छ, विरोधीको काम सजिलो हुन्छ । काम गाह्रो हुन्छ, निरन्तर दक्षता देखाउन नसके असफल बनिन्छ ।

जोगाउन हमेसा जित्नुपर्छ, भत्काउन केवल एकपल्ट जिते पुग्छ । पछिल्ला दशकहरूमा जनताको निमित्त कष्टकर भएका ‘प्रजातान्त्रिक अभ्यास’हरूमा यो कुरा सबैले महसुस गरेको हुनुपर्छ । यी दशकहरूमा सबै सम्भावनाहरूको परीक्षण भइसकेको छ । सम्भव भएजतिका गठबन्धनहरू अजमाइसकिएको छ । ती सबै सम्पूर्ण रूपले असफल भएको कारणले निर्माणको तेस्रो शताब्दीमा नेपालको अस्तित्वमा खतरा देखापरेको छ । यो खतरा अरूअरूले भन्दा पनि टड्कारो रूपले तिनै बगेको खोला फर्कन्न भन्नेहरूले नै देखेका छन् । किनकि मुलुकको चालकको ठाउँमा उनीहरू नै बसेका छन् ।

राम्रो गर्न खोज्दाखोज्दै भएको गल्ती क्षम्य हुनुपर्छ र हुन्छ पनि । तर, अपराध कहिले पनि क्षम्य हुँदैन । आफ्नो हालिमुहाली छुट्नेबित्तिकै यस्ता अपराधमा दण्डित हुनुपर्ने डर भएकाहरू नै अहिले चर्को स्वरमा भन्ने गर्दछन् ‘बगेको खोला फर्कन्न ।’ यसको लहैलहैमा अरूले पनि भन्छन् बगेको खोला फर्कन्न ।

उनीहरूलाई आफूले गरेको हरेक भूल थाहा छ । त्यो भूलले निकालेको परिणाम पनि थाहा छ । त्यसैले सबैभन्दा खतरा उनीहरूले नै देखेका छन् । यो खतरा विकराल यस कारणले पनि छ कि विगतमा निर्वाध आफूखुसी काम गर्दा पनि उनीहरूले यसको निराकरणको बाटो पहिल्याउन सकेनन् । तर, यसको अर्थ मुलुकमा अरू कोही पनि यो यसको निराकरणको बाटो जान्दैनन् भन्ने होइन । उनीहरू आफ्नो डफ्फाभन्दा बाहिरकालाई सङ्कट समाधन गर्न रोक्छन् । उनीहरूमा क्षमता छैन, क्षमतावालालाई ढिम्किनै दिँदैनन् अनि मुखले सबै मिल्नुको विकल्प छैन भन्न पनि छोड्दैनन् । आखिर किन यसो गर्दछन् भनेर अचम्मित हुनुपर्ने कारण छैन ।

यो सबै उनीहरूमा भएको मनको डर हो । यो यस्तो डर हो जसको कुनै उपचार छैन । डर पनि बेकारको होइन, मनमा भएको अपराधबोधले पैदा गरेको डर हो । सबैमा यो अपराधबोध हुनुपर्ने कारण छ भनियो भने त्यो असत्य हुुन्छ । बहुसङ्ख्यकमा पनि डराउनुपर्ने कारण छैन । अझ भन्ने हो भने केही सीमितमा बाहेक अरूमा डराउनुपर्ने कारण नै छैन । तैपनि ती सीमितले आफ्ना डफ्फाका सबैमा त्यो डर घुसाइदिएका छन् । यसो गर्दा आफूले गरेको अपराध सबैलाई बोकाउन पाइन्छ । अनि जतिसक्यो त्यति धेरै समय टिकेर आफूलाई सुरक्षित गर्न सकिन्छ ।

मान्छेले गल्ती गर्छ नै, राम्रो गर्न खोज्दाखोज्दै भएको गल्ती क्षम्य हुनुपर्छ र हुन्छ पनि । तर, अपराध कहिले पनि क्षम्य हुँदैन । आफ्नो हालिमुहाली छुट्नेबित्तिकै यस्ता अपराधमा दण्डित हुनुपर्ने डर भएकाहरू नै अहिले चर्को स्वरमा भन्ने गर्दछन् ‘बगेको खोला फर्कन्न ।’ यसको लहैलहैमा अरूले पनि भन्छन् बगेको खोला फर्कन्न । चाहे बगेको खोला फर्कियोस् वा नफर्कियोस् तर अपराधको दण्ड त भोग्नैपर्छ । दण्डबाट बच्ने प्रयत्नमा झन अपराधको सूची लामो बनाएर बस्नाले डोकोले छोपेर लुकाएसरह हुन जान्छ ।

अपराधको दण्ड कम गराउने तरिका प्रायश्चित हो सिँगौरी होइन । सिँगौरीले सजायको मात्रा झन् बढाउँछ । कसैको व्यक्तिगत अपराधको ढाकछोपमा मुलुकको अस्तित्व धरापमा पर्नु बुद्धिमानी होइन । त्यसै गरेर यस्ता बाधा हटाउन आममाफीको बाटो लिएर दण्डहीनतालाई प्रश्रय दिनु पनि गलत हो । आस्थाले, कमजोरीले वा राजनीतिक कारणले भएका भूलहरूलाई अपराध नमानिनु मानवता हो । तर, शक्तिको मदमा भएका गरिएका अपराधहरूलाई अपराध नमानिनु मानवताविपरीत हो । यो कुराको ज्ञान भएकाहरू आफ्नो अपराध पचाउन भन्छन्, ‘बगेको खोला फर्कन्न ।’ यस्ता कुरामा विश्वास गर्नु र साथ दिनु उपयुक्त हो–होइन त्यो अरूले भन्ने कुरा होइन आफ्नो आत्मालाई नै सोध्ने कुरा हो ।