नेपाल समृद्ध तुल्याउन भारतीय राजदूतले दिए यस्तो सुझाव

नेपाल समृद्ध तुल्याउन भारतीय राजदूतले दिए यस्तो सुझाव


नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले द्रुत गतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रका रुपमा उदाएका भारत र चीनबाट नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्नका लागि अथाह सम्भावना रहेको बताएका छन् । नेपाल विश्वसम्बन्ध परिषद्ले ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र भावी दृष्टिकोण’ विषयक प्रवचनमा उनले भूगोल र जनसंख्याका हिसाबले नेपाल विश्वकै मध्यम मुलुक भएको बताए ।

राजदूत पुरीले भने– ‘राष्ट्रिय ढुकुटी भर्ने विशाल परियोजनाबाटै नेपालीको समृद्धि सुनिश्चित हुन्छ, यसका लागि साना तथा मझौला परियोजनाभन्दा जलविद्युत् उत्पादनका ठूला परियोजना सञ्चालन गर्नुपर्दछ ।’ उनले नेपाली जनताको क्रय शक्तिमा भएको वृद्धि र वस्तु तथा सेवाको अधिक खपतले भारतसँगको व्यापार घाटा बढेको खुलासाा गर्दै नेपालको कृषिलाई आधुनिकीकरण गर्नैपर्ने र कृषि उत्पादकत्व वृद्धिले पनि केही हदसम्म व्यापार घाटा परिपूर्ति गर्ने धारणा व्यक्त गरे ।

यसैबीच भारत यात्रामा रहेकी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले त्यहाँका वाणिज्यमन्त्री सुरेश प्रभुसँग नयाँ दिल्लीमा भेटवार्ता गरेकी छन् । भारतको उतराखण्डको देहेरादुनमा आयोजित ‘नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव २०१८’ को उदघाटन समारोहमा भाग लिन त्यसतर्फ गएकी महासंघका अध्यक्ष राणा र भारतीय वाणिज्य मन्त्रीबीचको भेटवार्ताका क्रममा महासंघले आयोजना गर्न लागेको नेपाल–भारत आर्थिक सम्मेलन र दुई देश बीचको आर्थिक व्यवसायिक लगायतका विविध विषयमा छलफल भएको बुझिएको छ । बताइएअनुसार भारतीय वाणिज्य मन्त्री प्रभुले नेपाललाई सवै प्रकारको सहयोग गर्न भारत सदैव तयार रहेको विश्वास दिलाएका थिए ।