संविधान कार्यान्वयन गर्न खोज्नेहरु प्रतिक्रान्तिकारी !

संविधान कार्यान्वयन गर्न खोज्नेहरु प्रतिक्रान्तिकारी !


मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तत्काल कार्यगत एकता गर्ने सहमति बनेको छ । दुई पार्टीका शीर्षनेताहरुबीच भएको गुप्त बैठकमा उक्त सहमति बनेको बुझिएको छ । बैठकपश्चात विप्लव र किरणद्वारा जारी संयुक्त वक्तव्यमा संसदवादी दलहरुले संविधान कार्यान्वयको नाममा प्रतिक्रान्ति गर्न खोजेको भन्दै यसका विरुद्ध सङ्घर्ष गर्ने बताइएको छ । जारी वक्तव्यमा अगाडि भनिएको छ– ‘कथित संविधान कार्यान्वयनको सन्दर्भमा संसदवादी दलहरुले तीनै तहका निर्वाचनद्वारा नेपालमा प्रतिक्रान्ति पुरा गर्ने घृष्टता गरिराखेका छन् । राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकाका समस्याहरु थप गम्भीर बनेका छन् ।’

साम्राज्यवादी शासकहरुले आ–आफ्ना दलाल तथा भरौटेहरुको सहयोगमा नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गर्दै आएको बताउँदै वक्तव्यमा ‘भारतीय परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गरेको बेला कथित बामगठबन्धनका नेताहरुले देखाएको निकृष्ट दलालीको रबैयाबाट उनीहरुको नियत प्रष्ट हुन्छ ।’

दुई पार्टी क्रान्तिकारी धु्रविकरण र एकताको प्रक्रियामा सहभागी हुने तथा फागुन १ गते ‘जनयुद्ध दिवस’ र शहीद सप्ताहलाई केन्द्र र जिल्लाहरुमा संयुक्त रुपमा मनाउने निर्णय पनि शीर्षस्थ नेताहरुको बैठकले गरेकोछ ।

वक्तव्यमा नेकपाका महासचिव विप्लव र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले दस्तखत गर्नु भएको छ ।