गुणस्तर प्रमाणपत्र लिने ग्यास उद्योगको संख्या आठ मात्रै

गुणस्तर प्रमाणपत्र लिने ग्यास उद्योगको संख्या आठ मात्रै


सरकारको चेतावनी पछि ग्यास उद्योगीले नेपाल गुणस्तर प्रमाणपत्र लिन थालेका छन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर प्रमाणपत्र नलिएका उद्योग बन्द गर्ने चेतावनी दिएपछि पछिल्लो समय विभागबाट प्रमाणपत्र लिने उद्योगहरुको संख्या बढेको हो ।

विभागका अनुसार जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जले आज मात्रै गुणस्तरको प्रमाणपत्र लिएका छन् ।

विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र लिन निर्देशन दिएको थियो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र लिई सञ्चालन गरेका छन् ।

आज थप तीनवटालाई गुणस्तर प्रमाणपत्र प्रदान गरेपछि सो संख्या सात पुगेको छ । अठचालीस ग्यास उद्योगले अहिलेसम्म गुणस्तर प्रमाणपत्र लिएका छैनन् ।

गुणस्तर प्रमाणपत्र लिनेमा मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ र नेपाल ग्यास उद्योग बालाजु रहेका छन् । गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दुई महिनाभित्र सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको बताए । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ ।