विद्युत् माग झण्डै १४ सय मेगावाट पुग्यो

विद्युत् माग झण्डै १४ सय मेगावाट पुग्यो


मुलुकभर झण्डै १४ सय मेगावाट विद्युत्  माग भैइरहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुशार हाल मुलुकभर १३ सय ८० मेगावाट विद्युतको माग भएको हो । जसमध्ये २ सय ८० देखि तीनसयको हाराहारीमा मात्रै विद्युत् अपुग छ ।

यस्तै यो हिउँदयाममा विद्युतको आपूर्ती सहज भएको प्राधिकरणले जनाएको छ । अनुमान गरेको भन्दा कम मागका कारण यो हिउँदयाममा विद्युतको आपूर्ती सहज भएको हो ।

प्राधिकरणले ३ सय ३० मेगावाट अपुग हुने अनुमान गरिएको भएतापनि २ सय ८० मेगावाट मात्रै अपुग भएको र केही औद्योगिक क्षेत्रमा लोडसेडिङ गरी त्यसलाई समेत सहजै व्यवस्थापन गरिएको प्राधिकरणका विद्युत प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुशार फागुनको अन्त्यसम्ममा हिउँ पग्लने क्रम सुरु हुने र नदीमा पानीको बहाव समेत बढ्ने भएकाले विद्युत आपूर्तीमा अब कुनै समस्या हुनेछैन् ।

यसैबीच, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ को निर्माण कार्य ७० प्रतिशत सकिएको छ । आयोजना प्रमुख फणीन्द्रराज जोशीले उक्त जानकारी दिँदै काममा प्रगति देखिएको बताए ।

आयोजनाको पावर हाउस भित्र टर्वाइनका लागि राख्ने संरचना निर्माण भइसकेको छ । हेडवर्क, पानी थिग्राउने पोखरी, टनेल, टेलरेस, पेनस्टक, हेडपोण्ड लगायत स्थानमा काम भैरहेको छ । पावर हाउस बाहिरको पानी छिर्न नदिन ग्राउण्डिङको काम भैरहेको आयोजनाले जनाएको छ । चिनियाँ र नेपाली गरी ६ सय कामदार निर्माणमा खटिएका छन् । दुई टर्वाइनबाट ०७६ बैशाखमा उत्पादन गर्ने लक्ष्य छ । ‘दुई महिना परीक्षणमा लाग्छ,’जोशीले भने, ‘त्यसपछि मात्रै वितरणमा पठाउँछौ ।’

आयोजनाको बाँधस्थलदेखि विद्युत गृहसम्म ४ हजार १ सय मिटर सुरुङ निर्माण भइसकेको छ । त्यसैगरी, ट्रान्समिसन लाईनको काम गर्ने सिडव्लुसीले ४० वटा टावर खडा गरेको गरिसकेको छ । १ सय १ टावरको फाउण्डेसन निर्माण गरेको छ । ट्रान्समिसन किस्पाङ ५ मनकामना सवस्टेसनदेखि काठमाडौ मातातिर्थसम्मको १ सय ४२ वटा टावर पर्छन ।

१ सय ३२ केभी टावर बनाउन मनकामना छेउमा समस्या छ । त्यहा स्थानीयले मुआव्जा नलिएकाले टावर बनाउन नसकिएको आयोजनाले जनाएको छ । मातातिर्थ कुण्ड छेउमा स्थानीयको अवरोध कायमै छ ।
हाल निर्माणाधिन गल्छी–त्रिशूली–मैलुङ सडक खण्डको नया पुलदेखि पावर हाउससम्मको सडक खण्ड फराकिलो बनाउने कार्य भैरहेकाले निर्माणस्थलमा आवतजावत गर्न समस्या भएको आयोजनाले जनाएको छ ।