२० वर्ष पुराना ८ हजार सवारी साधन सञ्चालनमा रोक लगाइँदै

२० वर्ष पुराना ८ हजार सवारी साधन सञ्चालनमा रोक लगाइँदै


काठमाडौंमा पुराना सवारीका कारण प्रदुषणको मात्रा दिनानुदिन बढ्दै गइरहेको छ । प्रदुषण कम गर्न सरकारले २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको थियो तर, कार्यान्वयन अझै हुन सकेको छैन । वातावरण स्वच्छ र हराभरा बनाउने लक्ष्यका साथ आएको सरकारी योजना वर्षौ वितिसक्दा पनि अलमलमा देखिएको छ ।

सरकारले देशभर गुडिरहेका २० वर्ष पुराना सवारीलाई सञ्चालनमा रोक लगाउने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह हुन थालेपछि आगामी चैतदेखि पुराना सवारी साधन संचालनमा रोक लगाउने निर्णय भएको होे ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आगामी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको जनाएको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने काम शुरु गर्दै आएको छ ।

विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ । नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ साल फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय भएको थियो ।

उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने र नहटाए कानूनी व्यवस्थाअनुसार सवारी साधन नियन्त्रणमा लिएर कारबाही गर्ने विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा २ हजार ५ सय र उपत्यका बाहिर ५ हजार ५ सयको संख्यामा २० बर्ष पुराना सवारी संचालनमा रहेको छ ।

यातायात ब्यवस्था विभागले २० बर्षे पुराना सवारी हटाउने अभियानलाई सफल बनाउनका लागि सडकमा जनशक्ति समेत परिचालन गरिसकेको छ । विभागका अनुसार पुराना सवारीहरु जफत गर्ने काम शुरु भइरहेको जनाएको छ ।

पुराना सवारी र तिनले पु¥याएका भयावह स्थितीलाई न्युनिकरण गरी काठमाडौं उपत्याका लगायत देशभरीकै वातावरणलाई साँच्चिकै स्वच्छ र हराभरा बनाउने हो भने सबैले साथ दिन आवश्यक छ ।