फागुन अन्तिम साता लमजुङमा अलैंची महोत्सव हुने

फागुन अन्तिम साता लमजुङमा अलैंची महोत्सव हुने


अलैंची खेतीको विस्तार तथा बजार प्रबद्र्धन गर्न लमजुङमा छैटौं अलैंची महोत्सव हुने भएको छ ।
अलैंची व्यवसायी महासंघ लमजुङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आयोजनामा आगामी फागुन २५ र २६ गते महोत्सव हुने भएको हो ।

क्व्होंलासोंथर गाउँपालिकाको घाम्राङमा आयोजना गरिने महोत्सवमा अलैंचीखेती भइरहेका १४ जिल्लाका अलैंची प्रदर्शन, किसान, अलैंचीविज्ञ, व्यवसायीबीच अन्तरक्रिया र अलैंचीको गुणस्तर पहिचानसमेत गरिने भएको छ ।

अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले अलैंचीखेतीको विकास, प्रबद्र्धन र बजारीकरणका लागि प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

नेपालको अलैंचीले अन्तराष्ट्रिय ट्रेडमार्क पाएको तर सरकारी नीति नहुँदा बिक्रीका लागि भारतको भरपर्नुपरेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

किसानहरु भने मिहिनेत गरेर फलाएको अलैंची बिचौलियाको फन्दामा पर्ने गरेको बताउँछन् । जिल्ला कृषि विकास कार्यालयकाअनुसार लमजुङका करिब ९८६ हेक्टर जमिनमा अलैंचीखेती गरिएको छ । त्यसमध्ये ६५० हेक्टरमा लगाइएको अलैंचीले उत्पादन दिएको छ ।

यो वर्ष लमजुङमा ६०० क्विन्टल अलैंची उत्पादन भएको छ ।