छैटौँ अधिवेशनपछिका चार महिनामा…

छैटौँ अधिवेशनपछिका चार महिनामा…


– डिल्लीराम अम्माई/बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमको २०१७ सेप्टेम्बर १९ का दिन भएको निर्वाचनको चार महिना बितिसकेको छ । निर्वाचित अध्यक्ष लोक दाहालको यो अवधिको सक्रियतालाई हेर्दा बेल्जियमको नेपाली समाजले निरास हुनुपर्ने अवस्था देखिँदैन भन्ने जनमानस अधिक छ । नेपाली परम्पराअनुसार शुरुको एक महिना र त्यसपछिका सय दिनको कार्यक्रमिक समीक्षा गर्ने चलन हो । तर यहाँ पर्यटन मेलाको व्यस्तताले गर्दा करिब एकसय पच्चीस दिनको समीक्षा गर्ने प्रयासस्वरुप एनआरएनए बेल्जियमले गरेका र केही सहभागितामा भएका गतिविधिहरूलाई राख्न खोजिएको हो । यी काम र गतिविधिप्रतिको संलग्नताबारे सबैका आफ्ना राय र जिज्ञासा भए पनि सारांशमा प्रस्तुत गर्दा छलफलको आधार पनि बन्ने र जनचासोको कौतुहलताप्रति सूचनाको हक प्रवाहित हुने ठानी मुख्य प्रयासहरू प्रस्तुत गरिँदैछ ।

पंक्तिकारको अनुरोधमा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहालले आफ्नो प्रारम्भिक कार्यकालमा धेरै सकारात्मक अनुभव रहेको बताउँदै गैरआवासीय नेपाली संघलाई आजको अवस्थामा ल्याइपुर्याउन अग्रजहरूले निर्वाह गर्नुभएको उच्च भूमिकाको सम्मान गरेका छन् । कुराकानीको क्रममा उनले संघको गरिमा र छवीलाई थप सुदृढ गर्ने प्रतिबद्धताका साथ काम गर्ने वर्तमान कार्यकारिणी समितिको १२५ दिन पूरा भएको अवसरमा टिमलाई धन्यबाद समेत दिए । संगठनका हरेक गतिविधिबारे गैरआवासीय नेपाली संघका साधारण सदस्यहरूको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्नु नेतृत्वको कर्तब्य मात्र नभएर महत्वपूर्ण जिम्मेवारी पनि भएकोले आफ्ना अहिलेसम्मका गतिविधि मिडियामार्फत सार्वजनिक गरेको उनले बताए ।

‘संगठनको बिधि बिधान र मर्यादामा रही सम्पूर्ण गैरआवासीय नेपाली संघका सदस्यहरूको भावना र आत्मसम्मानलाई उच्च प्राथमिकतामा राख्दै बेल्जियमभरिका विभिन्न संघसंस्थाहरूसँग हातेमालो गर्दै अगाडी बढ्ने’ प्रण टिमले गरिरहेको उनको जिकीर छ । उद्यमी व्यवसायीका समस्या समाधानमा पहल, श्रमिक नेपालीहरूका समस्याहरूको सहजीकरणको लागि पहल र नेपाली राजदुतावाससँगको अन्योन्याश्रित सम्बन्ध नै यो संस्थाको पहिलो प्राथमिकतामा रहेको उनले बताए । त्यसपछि मुलुकको आर्थिक विकासमा निजी लगानीको क्षेत्रलाई नेतृत्वदायी भूमिकाका साथ अगाडी बढाउने यो संस्थाको अर्को प्राथमिकता रहेको उनको भनाईबाट प्रष्ट हुन्थ्यो । गैरआवासीय नेपाली संघ बेल्जियमका निर्वाचन पछिका उल्लेख्य काम र अभियानलाई बुँदागत रुपमा यसरी प्रष्ट पार्न सकिन्छ ।

१) गैरआवासीय नेपाली संघको सम्पर्क कार्यालयको स्थापना तथा प्रशासनिक सुधारको थालनी :

नयाँ नेतृत्वले कार्यभार सुम्पेको केही दिनमै संघको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । जसमा बेल्जियमबाट अध्यक्ष लोक दाहालको नेतृत्वमा १०३ जना सम्मेलनमा निर्णायक सहभागिता रहेको थियो । जसको फलस्वरूप ‘बेल्जियमबाट मूल समितिको सचिव, महिला संयोजक र युरोप संयोजक प्राप्त हुनु बेल्जियम गैरआवासीय नेपाली संघको इतिहाँसमै पहिलो गौरवपुर्ण अवसर’ भएको उनले बताए । त्यस्तै २०१७ को डिसेम्बर १७ मा लुभेनमा भएको सम्पर्क कार्यालय स्थापना पनि ब्यवस्थापकीय क्षेत्रमा अर्को महत्वपुर्ण काम मान्दछन् उनी । भन्दछन्, ‘हामीले सचिवालय सुदृढीकरणको विषयलाई उच्च प्राथमिकतामा राखेका थियौँ र संघको सचिवालयको सुनिश्चितताले सचिवालयको काम सुदृढ भयो र अब यसले दिने सेवाहरू चुस्तदुरुस्त पार्न सकियो भने मात्र संघलाई सशक्त ढंगबाट अगाडी लैजान सकिने र यसले सिंगो क्षेत्रलाई हाँक्न सक्ने हाम्रो निष्कर्ष हो ।’

बेल्जियममा नेपाली बसोबासको आधारमा बनाइएको संरचना अनुसार संगठन विस्तार गरेको छ । ‘प्रत्येक क्षेत्रमा हाम्रा गतिविधि एककदम अगाडी नै रहेको सन्देश हामीले संगठनको निर्माण सँगसँगै दिइसकेका छौँ । विधानतः गठित सबै क्षेत्रको निर्वाचन सम्पन्न भई नयां क्षेत्रीय समितिले नेतृत्वले कार्यभार सम्हालीसकेको छ । विधानअनुसार गठन गरिने सबै सल्लाहकार, समिति, थप फोरम गठनको लागि सिफारिस भइसकेका छन्’, उनले गर्वसाथ भने ।

२) परोपकारी अभियानमा थप प्रेरणा :

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष आफै परोपकारी अभियानस्वरुप नाइजेरियाको एक स्कुलमा भौतिक तथा आर्थिक सहयोगमा अग्रसर भए । यो गैरआवासीय नेपाली संघ बेल्जियमको घोषित कार्यक्रम नभए पनि सबैको मानविय प्रेरणाको लागि उत्प्रेरक बन्न सक्ने अर्थमा यसको महत्व रहेको देखिन्छ ।

त्यस्तै केहि समय अगाडि नेपालको तराई भेगमा सितलहरबाट प्रभावित नेपालीको राहत स्वरुप पठाइएको सोह्र सय उन्नाइस पनि सम्बन्धित क्षेत्रमा पुगिसकेको जानकारी आएको छ । यो परोपकारी अभियानअन्तर्गत गरिएको अर्को उल्यख्य कर्म मान्न सकिन्छ । कतिपय अवस्थामा उत्पीडित चेलीबेटीको उन्मुक्तिको लागि सहयोग, यहाँका वरिष्ठ डाक्टरहरूबाट आवासीय स्वास्थ्य सल्लाह जस्ता कुरा पनि चलाइरहेको उनले जानकारी दिए ।

३) खेलाडीहरूको प्रोत्साहन :

बेल्जियममा भएका आन्तरिक तथा बाह्य नेपाली खेलाडीहरूको लागी अध्यक्ष आफै सहभागी भएर खेलाडीहरूलाई आर्थिक, नैतिक र भौतिक रुपमा प्रोत्साहित गरेको समेत देखिएको छ ।

४) पूर्वाधार विकास :

त्यस्तै लन्डनमा भएको गैरआवासीय नेपाली संघ पूर्वाधार विकास कोष स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय विचार गोष्ठीमा बेल्जियमको तर्फबाट भाग लिँदै सक्रिय सहभागिता देखाएको उनले जनाए । उनका अनुशार यो सहभागिता नेपालको लागि लगानीकोषको स्थापनामा एक महत्वपुर्ण र दीर्घकालिक महत्वको रहेको थियो ।

५) विशिष्ट अन्तरक्रियाको आयोजना :

एनआरएनएलाई श्रमिकमैत्री बनाउने प्रश्न संसारभरिका नेपाली श्रमिकहरूले उठाइरहेको र उठाउनुपर्ने महत्वपुर्ण प्रश्न हो । यसको हल खोज्नु र त्यो दिशामा एनआरएनलाई लैजानुपर्ने दायित्व हामी सबैको हो’ भन्दै एनआरएनए बेल्जियमका अध्यक्ष दाहालले पुष १२ अर्थात २६ डिसेम्बरमा आयोजित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थिए । उक्त अन्तरक्रियामा नेपालबाट युरोपमा बसोवास गरेर बसिरहेका गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिमा कसरी सहभागि गराउने भन्ने विषयमा समेत ब्यापक छलफल भएको थियो । त्यस्तै कार्यक्रममा नेपालबाट उच्चस्तरिय सरकारी टोलीको नेतृत्व गरेका सहसचिव कृष्णप्रसाद ढकालले गैरआवासिय नेपाली संघले गरिरहेका काम र प्रयासहरूबारे आफु सन्तुष्ट रहेको बताउँदै आगामी दिनमा पनि यो संस्थाको आफु र नेपाल सकारका संयन्त्रहरू सहयोगी रहने कुरा स्पष्ट पारेका थिए । त्यहाँ डायस्पोराभरि रहेका नेपालीहरूले भोगिरहेका अनगिन्ति समस्या तथा समाधानका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । नेपालमा लगानीको सुरक्षित वातवरण निर्माण गर्न पनि सहभागिहरूले सहसचिवमार्फत नेपाल सरकारलाई आग्रह गरिएको त्यो अन्तरक्रिया विशेष महत्वको रहेको उनको तर्क थियो ।

६) अन्तराष्ट्रिय मेलामार्फत प्रयटन जागरण अभियान :

गत जनवरी २५ बाट शुरु भएर २८ सम्म र फेब्रुअरी १ देखि ४ फेब्रुअरी आइतबारसम्म बेल्जियमकै राजधानी ब्रसेल्समा सम्पन्न अन्तराष्ट्रिय पर्यटन मेला सम्पन्न भएको सर्वविदितै छ । उक्त मेलामा नेपाली दूतावासको आयोजना र गैरआवासीय नेपाली संघ बेल्जियमको सहयोगमा एक प्रदर्शनी कक्ष बनाएर नेपालको पर्यटनसम्बन्धी जानकारी दिइएको थियो । त्यो मेलामा निरन्तर आठ दिनसम्म ब्यवस्थापनदेखि प्रचारप्रसारमा खट्नु सामान्य कुरा हैन । त्यो समेत गहन उत्तरदायित्व बोध र कर्तब्यनिष्ठतासहित पूरा गरिएको भन्दै उनले त्यसमा सहयोगीको भूमिका निर्वाह गर्ने सम्पुर्णलाई धन्यवाद दिन बिर्सिएनन् ।

यति छोटो अबधिमा गरिएका यी कार्यक्रम र अभियानहरूबाट सबैलाई आशावादी हुन समेत उनले आग्रह गरेका छन् ।

भावी योजना तथा कार्यक्रम :

गैरआवासीय नेपाली संघले आफ्नो पक्षमा नीतिगत सुधारका लागि सरकारमा दिएका सुझावहरूको कति कार्यान्वयन भए कति भएनन, ति आफ्ना ठाउमा होलान् । एनआरएनए नेतृत्व नेपालको राज्य संयन्त्रसंग निरन्तर सम्पर्कमा रहेर सक्दो लबिङ गरिरहेको उनले बताए । उनले भावी योजनाको फेहरिस्त पल्टाउँदै बोल्न थाले, ‘आर्थिक कुटनीति तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा बेल्जियमको एनआरएनए दुताबासको सहायक भएर आएको छ । यो अर्को गौरवको कुरा हो । सामाजिक, आर्थिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भएको पहललाई तत्काल परिणाममुखी बनाउन एनआरएनले आगामी वर्ष विश्व लगानी संघसंगको सहकार्यमा काठमाडौंमा नेपाल लगानी सम्मेलन आयोजना गर्ने, दात्रि निकायहरूको सहयोगमा नेपालमा लगानी तथा व्यापार प्रवद्र्धन इकाई स्थापना गर्ने, आगामी वर्षहरूमा अन्तरास्ट्रिय ब्यापरी र उद्योगीसंग मिलेर व्यापारिक मेलाहरूको आयोजना गर्ने, दातृ निकायहरूको समेत सहयोगमा रोजगार प्रवद्र्धनका लागि व्यवसायमा महिला सहभागिता एवं सशक्तिकरण विषयक कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको छ । र त्यसको लागि एनआरएन ग्लोबल फोर्सको अगुवाइमा बेल्जियमले समेत सक्रियता देखाउनु पर्ने र पहल गरिने छ ।’

थप लक्ष्यमा एनआरएन सदस्यहरूको सशक्तिकरण एवं क्षमता विकास गरी मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सृजनामा सहयोग गर्ने सोचलाई उन्नत स्तरमा प्रयोग गर्न सकिने बताउँछन् उनी । यसका लागि संघले मुलुकभित्र सीप विकास, मानव संशाधन विकास, स्थानीय तहमा विप्रेषणलाई उद्यमशीलतासँग जोडेर कार्य गर्न नेपाल सरकारसंग सहकार्य गर्नु जरुरी रहेको उनको भनाई छ । त्यसैगरी एनआरएनए सदस्यहरूले स्थानीय तहमा भोग्नुपरेका समस्याहरूलाई संकलन गरी तिनीहरूको समाधानमा आवश्यक पहल गर्ने उद्देश्यले Members Helpline Desk को स्थापना गर्न जरुरी रहेको उनले बताए ।

सहयोग गर्नेको भन्दा आलोचना गर्नेको भिड बढी भएको बेल्जियममा एनआरएनएका अध्यक्षको यो महत्वाकांक्षी लक्ष पुरा हुन पाउला त ? ‘उनको सबै काम सस्तो लोकप्रियताका लागि हो’ भन्ने आलोचकहरूको बीच चुनावी भोटबाट आए पनि काम गरेर आउन त्यति सहज छैन । तर ठुलो कुरा आत्मबल हो, के भन्न सकिन्छ र ! धेरैको सुभेक्षा छ– उनले एनआरएनए मार्फत नेपाल र नेपालीको लागि प्रेरणादायी नेतृत्व दिन सकुन् !