कामरेड प्रचण्डका नाममा खुलापत्र

कामरेड प्रचण्डका नाममा खुलापत्र


कमरेड प्रचण्ड, लालसलाम !
आज म तपाईंलाई तपार्इंको पार्टीभित्रको संस्कारबारे एउटा पत्र लेख्दै छु । सायद मैले नबुझेको हुन सक्छ तपाईंको क्रान्तिको मनोविज्ञानमा यस्तै कार्य नै क्रान्ति हो भने मेरो भन्नु केही छैन । तर, मैले बुझेको क्रान्ति भनेको चरित्र र सामाजिक आचरणमा पनि सुधार हुनु हो । तपाईंको पार्टीमा कति तह छन् त्यो मलाई थाहा छैन । मैले जानेको जिल्ला, अञ्चल या क्षेत्र हो तपाईंहरू तिनलाई के भनेर सम्बोधन गर्नुहुन्छ म जान्दिनँ ।
आज म तपाईंको कार्यकर्ताका चरित्रबारे केही लेख्दै छु । हुन त तपाईंकै परिवारभित्रै एउटा छोराका तीन बुहारीको अन्तरकथा छँदै छ । कमरेड सीपी गजुरेलको पनि बुहारीको पीडा हामीले सुनेका हौँ । हिजो संविधानसभाको निर्वाचनमा मलगायत मेरो परिवारले पम्फा भुसाललाई दिएको मत सम्झेर आज यो लेख्ने जमर्को गरेकी छु । मेरो सम्बन्ध तपाईंसँग चुनावमा भोटको मात्र थियो र एउटा सहयोगीको रूपमा उभिएकी मेरो हैसियतले तपाईंका सुन्ने कान खुल्छन् या खुल्दैनन् त्यो मलाई थाहा छैन । तर, मैले विगतको सहयोगी बनेको कुराप्रति आमरूपमा क्षमायाचना गर्ने दिन नआओस्, अहिले पनि यो चाहना आजका दिनसम्म छँदै छ ।
म ललितपुरको ताल्छीखेल भन्ने ठाउँमा बसेको आज नौ वर्ष पुगेछ । त्यहाँ एउटा स्कुल छ, तपाईंको कार्यकर्ता सायद अञ्चल तहका होलान् ठक्कर शर्मा भन्नेले चलाएको । कुनै समयमा तिनी अर्कै पार्टीका मान्छे थिए र अर्को पार्टीमा छउन्जेल तिनको चरित्र र व्यवहार राम्रै थियो । म पनि उनको स्कुलको अभिभावक थिएँ । गत वर्ष मात्र मेरा नानीहरू मैले त्यो स्कुलबाट हटाएँ । तपाईंको कार्यकर्ता भएपछि उनले चरित्र, नैतिकता र आदर्श सबै बन्धकमा राख्दै हिँडेका छन् । के तपाईंको पार्टीमा यस्तै हुने गर्छ ? उनका छोराले पहिले नै धेरै मानिस ठगेर भागेको कुरा मिडियामै आइसकेको छ । छोरालाई त्यो कर्ममा उतार्ने बाबु अहिले उनको स्कुलमा सेयरधनीहरूको पैसा खाएर आफैं भाग्ने तयारीमा छन् । ल त्यसलाई त परै छोडौँ सायद अहिले तपाईंको पार्टीको सरकार नहुँुदो हो ती मान्छे खोरमा हुने थिए । केही दिन पहिले तपाईंकै पार्टीको पकड भएको एक टीभी च्यानलले प्रचारमा ल्याएको नेसनल मल्टिपल कलेज नामको संस्थामा बद्नाम भएका मीरा वैद्यका छोरा पवन वैद्यलाई स्कुलमा हुलेर चेलिबेटी बेचबिखनको अभियानमा उनी लागेका छन् । उनलाई साथ दिने जानेर या नजानेर त्यो मलाई थाहा छैन क्षितिज नामका तपाईंका एक कार्यकर्ता पनि छन् भन्ने मैले सुनेकी छु । सायद राजनीतिक पेसा नै त्यही भएपछि उनी छैनन् म कसरी भनुँ ? उनको यो चर्तिकला त्यहाँ कार्यरत एक महिलाले नरुचाएपछि उनलाई स्कुलबाट निकाल्ने काम हँुदै छ र शिक्षिकाहरू धमाधम स्कुल छाडिरहेका छन् उनका नातेदारबाहेक । यो चर्चामा परिवार मुछिएला भनेर उनकी बुहारीलाई पहिले नै अन्त पठाएको कुरा त उनकै नातेदारबाट सुन्न पाइएको थियो । उनको स्कुल एबीसी टेलिभिजनले प्रचारमा ल्याएका पवन वैद्यको प्रवेशपछि बच्चाहरूको गाँजा खाने र गलत यौनजन्य क्रियाकलाप गर्ने अखडा भएको छ । त्यसमा ठक्कर शर्मा आफैं पनि छन् तर बाहिर भने उनी ठूलो नेता भएर तपाईंका कार्यकर्तासँग हिँड्ने गर्दछन् । गाउँमा उनलाई माओवादी नेता भनेर जान्छन् तर छिमेकको पहिचान उनको मैले भनेजस्तो छ । नपत्याए त्यही स्कुलका सेयरधनीहरूलाई नै सोध्नु भए होला । यस्ता मानिसलाई नेता बनाएर तपाईंको पार्टी कहाँ पुग्छ कमरेड सोध्ने जमर्को गरेकी छु । स्कुलजस्तो पवित्र स्थानमा भएको यो क्रियाकलाप र तपाईंकै पार्टीका नेता शिक्षामन्त्री भएकाले यो लेख्ने जमर्को गरेकी हुँ । यसप्रति तपाईंको पार्टीको ध्यान पुगे तपाईंप्रति आभार प्रकट गरौँला । अन्यथाको पार्टी यौन अपराधी र लागूपदार्थ दुव्र्यसनीको केन्द्र भन्ने ठानेर आगामी दिनमा बाई–बाई गरौँला, धन्यवाद ।
– रमा दाहाल, ललितपुर