कोशी अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या

कोशी अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या


सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ ।

दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको सेवा आठौँँ तहका मेडिकल अफिसरले दिनुपर्ने बाध्यता छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । कोशीमा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) ४० र मेडिकल अफिसर ३४ गरेर ७४ जना चिकित्सकको दरबन्दी छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले ४० जनाको दरबन्दी रहे पनि एघारौँ तहका कन्सलटेन्ट चिकित्सक आधा पनि नरहेको बताए । आठौँ तहका मेडिकल अफिसर पनि ३० जना मात्रै छन् ।

मेसु पोखरेलका अनुसार दरबन्दी विशेषज्ञ चिकित्सकको भए पनि अस्पताल विकास समितिबाट मेडिकल अफिसरलाई नियुक्ति गरेर सेवा दिनु परिरहेको छ । उनले कन्सलटेन्टको दरबन्दी रहेका ठाउँमा मेडिकल अफिसरलाई करारमा अस्पताल विकास समितिबाट नियुक्ति दिएर काममा लगाउनुपर्ने अवस्था रहेकोले बिरामीले पाउने स्वास्थ्य सेवामा पनि समस्या हुने गरेको बताए ।

उनीहरुको सबै खर्च अस्पताल विकास समितिले नै बेहोर्नु पर्छ । सरकारले विभिन्न सेवा थप गर्दै औजार र उपकरण पठाउने गरे पनि दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा आरएल करुवाले सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाउँदाको भार विकास समितिको थाप्लोमा आउने गरेको बताए । राससका अनुसार अस्पतालको आन्तरिक आम्दानीले खर्च धान्न छाडिसकेको बताउँदै उनले करारमा राखिएका चिकित्सक र कर्मचारीलाई समयमा तलव खुवाउन नपाएर समस्या पर्न थालेको जानकारी दिए ।